• ८ वैशाख २०८२, सोमबार

वन विनाशले लोप हुँदै वन्यजन्तु

blog

जाजरकोटको उत्तरी भेग बारेकोट गाउँपालिकाको जङ्गलमा फेला परेको दुर्लभ वन्यजन्तु घोरल । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, वैशाख ८ गते । यहाँका लेकाली भेगमा पाइने दुर्लभ वन्यजन्तु वन विनाशका कारण लोप हुने अवस्थामा पुगेका छन् । अवैध चोरीसिकारी, वनजङ्गल विनाश र खोलामा बढ्दो प्रदूषणले संरक्षणमा चुनौती देखिएपछि बारेकोट, कुसे, जुनीचाँदे गाउँपालिकाका लेकाली भेगका जङ्गलमा पाइने वन्यजन्तु लोप हुने अवस्थामा पुगेका हुन् । 

बिचौलियाको आर्थिक प्रलोभनका कारण स्थानीयले जथाभाबी जङ्गल विनाश गर्ने, खोलामा प्लास्टिक, सिसाका बोतल जथाभाबी फाल्ने, पासो जाल थाप्ने कार्य बढ्दै गएपछि पानी पिउन खोलामा आएका वन्यजन्तु पासोमा परेर मर्ने गरेका छन् । बारेकोट, कुसे, जुनीचाँदे गाउँपालिका तथा नलगाड नगरपालिकाका विभिन्न लेकली भेगमा पाइने घोरल, रतुवा, मयूर, कालिज, दुर्लभ वन्यजन्तु रेड पान्डालगायतका जङ्गली जनावरको चोरीसिकारी बढ्दै गएको छ । दुर्लभ वन्यजन्तु तथा पर्यटकको आकर्षणका रूपमा भएका वन्यजन्तु सरोकारवाला निकायको मौनता, स्थानीयवासीको जथाभाबी जङ्गल फँडानी र खोलामा फोहोर फाल्दा मानव स्वास्थ्यसहित दुर्लभ वन्यजन्तु लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ ।

बारेकोट गाउँपालिका–५ का पन्छी संरक्षक गोविन्दबहादुर सिंहका अनुसार सरोकारवाला निकायले कागजी रूपमा दस्ताबेज तयार गरी दुर्लभ वन्यजन्तु तथा पन्छी संरक्षणमा प्रगति देखाउने गरिएको छ । ग्रामीण बस्तीका सर्वसाधारणले खोलामा प्रदूषण थप्ने र जङ्गल विनाशले वासस्थानको खोजीमा भौँतारिएका वन्यजन्तुको चोरीसिकारी बढ्दै गएकाले लोप हुने खतरा बढेको उहाँको भनाइ छ । 

पछिल्लो समय स्थानीयले बाली संरक्षणका लागि वन्यजन्तुलाई पासो थाप्ने गरेका छन् । आर्थिक प्रलोभनले जथाभाबी जङ्गल फँडानी भइरहेको र त्यसको नियन्त्रणका लागि सरोकारवालाको चासो कम भएको छ । जथाभाबी जङ्गल फँडानीको काम रोक्न आग्रह गर्दै पन्छी संरक्षणकर्मी सिंहले लोप हुन थालेका वन्यजन्तुको संरक्षणमा तिनै तहका सरकारले ध्यान दिन आवश्यक भएको बताउनुभयो ।