राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख ४ गते । स्याङ्जामा अवैध सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा बुधबार राति सवारी साधनको चेकजाँच गर्ने क्रममा बिलबिजक नभएको सुनसहित वालिङ–६ का ३६ वर्षीय प्रदीप अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।
ग. १ ज. ८८०९ नम्बरको इभि भ्यानबाट सात तोला ९६९ लाल सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । सुनको गुणस्तरको बारेमा परीक्षण पश्चात जानकारी हुने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बुटवलबाट वालिङतर्फ आउँदै गरेको सवारी साधनबाट सुन जस्तो देखिने वस्तु र चालक नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धानमा सुन भएको पुष्टि भए पनि परीक्षण बाँकी रहेका प्रहरीको भनाइ छ ।