नन्द सिंह
रलिङ (हुम्ला), वैशाख ४ गते । बिहीबार बिहान अत्यधिक वर्षापछि आएको पहिरोमा पुरिएर २७ बाख्रा मरेका छन् । वर्षापछि आएको पहिरोमा पुरिएर अदानचुली गाउँपालिका–३ का आइते बुढाको गोठभित्र रहेका ८१ बाख्रामध्ये २७ बाख्रा मरेका हुन् ।
भेडिगोठ भित्र पहिरो पस्नुका साथै गोठ भत्किदा २७ बाख्रा मर्नुका साथै २९ वटा घाइते बाख्राको उद्धार गरिएको छ भने २५ वटा बाख्रा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।
गोठभित्र पहिरो खस्दा ८१ मध्ये २९ वटा घाइते अवस्थामा गाउँलेको सहयोगमा जिवीत निकालिएको उपरीक्षक पोखरेलको जानकारी दिनुभयो ।
अन्य २५ वटा बाँकी बाख्राको खोजी कार्य भइरहेको छ । यो पटक एक्कासी आएको वर्षाले ठुलो क्षति गरेको पीडित किसान बुढाको भनाइ छ । निकै दुःख, कष्ट र मेहनतका साथ पालिएका बाख्रा पहिरो खस्दा मरेपछि ठुलो घाटा बेहोर्नु परेको बुढाले बताउनुभयो । हुम्लामा प्रति बाख्राको १५ देखि २० हजार रुपियाँसम्म मूल्य पर्ने गर्दछ ।
त्यस्तै, अविरल वर्षाका कारण अदानचुली–२ स्थित छेणे बुढाको घर समेत जोखिम अवस्थामा रहेको प्रहरीले जनाएको छ । उक्त घर वरिपरि पहिरो खस्दा जोखिम भएपछि घरपरिवारलाई उद्धार गरी अर्को घरमा हालका लागि बस्ने व्यवस्था गरिएको बताइएको छ ।
अविरल वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षतविक्षत बनाएको छ । बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा समेत ठुलो क्षति पुर्याएको स्थानीयले बताएका छन् । अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडिगोठमा ठुलो क्षति पुर्याएको छ । ११ वटा पसल बगाएर लिएको स्थानीय मोतीलाल महताराले बताउनुभयो ।
वर्षासँगै आएको लेदोसहितको बाढीले अदानचुली गाउँपालिका–२ का अमृत बुढा, अदानचुली गाउँपालिका–१ का बुद्धि महतारालगायत व्यवसायीका पसलका सामग्रीमा ठुलो क्षति पुर्याएको हो । यहाँका अधिकांश स्थानीयका घर तथा टहरामा पानी पसेको बताइएको छ ।