गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ४ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी सुरु भएको छ । ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने नारासहित प्रतिष्ठानका कुलपति भूपाल राईले प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
प्रदर्शनीमा २०७० सालअघि प्रकाशित पुस्तक तथा पत्रिका ६० प्रतिशतमा र २०७१ सालयता प्रकाशित पुस्तक खरिद गर्ने व्यक्ति वा संस्थाका लागि ४० प्रतिशतको छुट दिइएको छ । प्रदर्शनीमा अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र, रुसोको कन्फेसन्स, ईषादि नौ उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उहाँका काव्यशास्त्र ‘पेरी पोइएतिकेस’ लगायतका पुस्तक प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी वैशाख १८ गतेसम्म चल्ने छ ।