चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ४ गते । ताप्लेजुङमा निर्माण गर्न सुरु गरिएको माथिल्लो तमोर जलविद्युत आयोजना स्थलमा स्थानीयले विरोध जनाउँदै कालो झन्डा गाडेका छन् । स्थानीय रैथाने आदिवासी समुदायलाई जानकारी नदिई मनोमानी रूपमा आयोजना निर्माण गर्न लागिएकोभन्दै स्थानीयवासीले विरोध गर्दै आयोजना स्थलमा कालो झन्डा गाडेका हुन् ।
स्थानीयवासीले आयोजना प्रभावित सङ्घर्ष समिति नै बनाएर आयोजनाको विरोध गर्दै आइरहेको छ । उक्त सङ्घर्ष समितिको अगुवाइमा बुधवार आयोजनास्थल फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिस्नेमा स्थानीयले प्रदर्शन गर्दै कालो झन्डा गाडेका हुन् । आयोजनाले सुरुङ निर्माण गर्न थालेपछि सिस्नेमा कालो झन्डा गाडिएको सङ्घर्ष समितिका संयोजक बिरबल लिङ्खिमले जानकारी दिनुभयो ।
संयोजक लिङ्खिमका अनुसार आयोजनाको काम रोक्न माग गर्दै कालो झन्डा गाडिएको हो । निर्माणको काम रोक्नुपर्ने मागसहित पहिलो चरणको विरोध स्वरुप सुरुङ निर्माण स्थलमा कालो झन्डा गाडिएको पनि लिङ्खिमको भनाइ छ । प्रभावित क्षेत्रका स्थानीयवासीको विरोधलाई सामान्य ठानिए थप कडा सङ्घर्षको कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रने सङ्घर्ष समितिले चेतावनी दिएको छ ।
स्थानीय रैथाने आदिवासी समुदायको अस्तित्व, संस्कार, संस्कृति, ऐतिहासिक तथा पुरातात्त्विक सभ्यता र पहिचानमाथि अतिक्रमण गरिएको साथै पर्यावरणमा गम्भीर असर पर्नेभन्दै स्थानीयवासीले आयोजनाको विरोध गर्दै आएका छन् । सङ्घर्ष समितिमार्फत स्थानीयले आयोजनाको काम रोक्न माग गर्दै गएको आइतबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत सरकारलाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।
स्थानीयवासीको विरोध र असहमति हुँदाहुँदै राजनीतिक पहुँच र बल मिच्याइँ ढङ्गले आयोजना निर्माणको काम अगाडि बढाएको आरोप पनि स्थानीयले लगाएका छन् । बलजफती आयोजना निर्माण गर्ने दुष्प्रयास नगर्न र कुनै पनि हालतमा काम रोक्नुपर्ने स्थानीयको एक सूत्रीय माग रहेको सङ्घर्ष समितिका संयोजक लिङ्खिमले बताउनुभयो । तमोर इनर्जी प्रालिले तमोर नदीबाट २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।