विश्व बक्सिङका लिजेन्ड जर्ज एडवार्ड फोरम्यान अब सम्झनामा मात्र छन् । पूर्वहेभिवेट च्याम्पियन फोरम्यानको गत चैत (सन् २०२५ को मार्च २१) मा ७६ वर्षको उमेरमा अमेरिकाको ह्युस्टनमा निधन भयो । अमेरिकी फोरम्यान धेरैका लागि प्रेरणाका स्रोत थिए । उनलाई ‘बिग जर्ज’ उपनामले बोलाइन्थ्यो ।
ओलम्पिकमा स्वर्ण विजेता उनी दुई पटक विश्व च्याम्पियन भएका थिए । उनले आफ्नो व्यावसायिक खेलजीवनमा ८१ खेल खेले । जसमा ७६ मा जित हासिल गरे । जितमध्ये ६८ नकआउट थिए ।
सन् १९७४ मा भएको चर्चित ‘रम्बल इन दी जङ्गल’ भिडन्तमा उनी बक्सिङका महारथी मोहम्मद अलीसँग भिडेका थिए । उक्त भिडन्तमा उनी पराजित भए तर त्यसको २० वर्षपछि उनी च्याम्पियन बने । सन् १९९४ मा ४५ वर्षको उमेरमा उनी माइकल मुररलाई पराजित गरी च्याम्पियन बनेका थिए ।
फोरम्यानको जीवन
फोरम्यानको जन्म सन् १९४९ को जनवरी १० मा अमेरिकाको टेक्ससमा भएको थियो । उनी ह्युस्टन शहरमा हुर्के । पढाइमा खासै लगाव थिएन उनलाई । उनलाई हुर्काएका जेडी फोरम्यान जँड्याहा थिए । त्यति मात्र होइन उनका अभिभावक बारम्बार बेपत्ता पनि भइरहन्थे । जतिबेला उनले विश्व हेभिवेट च्याम्पियनसिपको उपाधि जिते त्यतिबेला मात्र थाहा पाए उनका बुवा जेडी थिएनन् तब मात्रै जर्ज आफ्ना वास्तविक बुवाको सम्पर्कमा आए ।
फोरम्यानको शरीर बाल्यकालमै सुडौल थियो । १३ वर्षको उमेरमै उनी छ फिट दुई इन्च अग्ला थिए । त्यतिबेला उनको तौल दुई सय पाउन्ड थियो । उनले १६ वर्ष पुग्दा नपुग्दै अपराधको दुनियाँमा प्रवेश गरिसकेका थिए । त्योसँगै उनी बक्सिङमा व्यस्त रहे । कसैसँग पनि नडराउने व्यक्तिका रूपमा साथीहरूमाझ चिनिन् आफूले बक्सिङ खेल्न थालेको उनी भन्दथे ।
रिङमा उत्रिएको एक वर्ष र २५ भिडन्तपछि उनी ओलम्पिकमा स्वर्ण पदक विजेता भए । उनले १९ वर्षको उमेरमै सन् १९६८ को मेक्सिको ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । उनले सन् १९९७ मा ४८ वर्षको उमेरमा खेलाडी जीवनबाट सन्न्यास लिए ।
फोरम्यानलाई विश्व बक्सिङ हल अफ फेम र अन्तर्राष्ट्रिय बक्सिङ हल अफ फेममा समेत समावेश गरिएको छ । उनलाई अन्तर्राष्ट्रिय बक्सिङ अनुसन्धान सङ्गठनले विश्वका आठौँ सर्वोत्कृष्ट महान् हेभिवेट भनी मूल्याङ्कन गरेको छ । सन् २००२ मा उनलाई ८० वर्षदेखिका २५ फाइटरमा समावेश गरिएको थियो । दी रिङले उनलाई नवौँ सर्वोत्कृष्ट पन्चर भनेर समेटेको छ ।
बक्सिङबाहिरको दुनियाँमा फोरम्यान एक सफल उद्यमी थिए । जर्ज फोरम्यान ग्रिलको प्रवर्धकको परिचय पनि थियो । उनको उक्त ग्रिलले सन् २०११ सम्म विश्वभर १० करोडभन्दा बढी युनिट बेचेको थियो । उनले सन् १९९९ मै ग्रिलको व्यावसायिक अधिकार १३ करोड ८० लाख अमेरिकी डलरमा बेचेका थिए । खेलजीवनबाहेक उनी टेलिभिजनका विज्ञापनमा छाइरहन्थे ।
फोरम्यानको निधनको खबर थाहा पाउनेबित्तिकै बक्सिङ दुनियाँका धेरैले श्रद्धाञ्जली दिए । पूर्वच्याम्पियन माइक टाइसनले सामाजिक सञ्जाल एक्समा लेखे, “बक्सिङमा उनको योगदान जति छ त्यो कहिले पनि बिर्सन सकिने छैन ।”
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रपले समेत “फोरम्यान महान् खेलाडी हुन् ।” भनी सम्झना गरे ।
रोबर्टो कार्लोस नेपालमा
नेपाली फुटबलको स्तर अझै सुधारिन सकेको छैन । नयाँ खेलाडीको आगमन र भएका खेलाडी खारिने सबैभन्दा ठूलो माध्यम हो लिग फुटबल ।
यही बीचमा व्यावसायिक फुटबल आयोजना गरेर नेपाली फुटबलको शाख जोगाउन प्रयत्नरत देखिएको छ नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँग नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज फुटबल आयोजना गर्न १० वर्षअगाडि सहमति गरेको यसले तेस्रो संस्करण पूरा गरेको छ ।
आयोजकले महँगोमा खेलाडीलाई भित्र्याएर प्रतिस्पर्धा मात्र गराएको छैन विदेशी खेलाडीसमेत ल्याएर खेलाउँदा घरेलु खेलाडीले सिक्ने अवसरसमेत पाएका छन् । यस पटक ब्राजिलियाली विश्वकप फुटबल विजेता टोलीको सदस्य रोबर्टो कार्लोसलाई खेल हेर्न बोलाइयो ।
उनलाई विशेष अतिथि बनाएर एनपिएलको खेल हेर्न दशरथ रङ्गशालामा ल्याइयो । उनलाई हेर्न आउने दर्शकको ओइरो लाग्यो । उनी फुटबलप्रेमीसँग सहजै घुलमिल भए । ५१ वर्षीय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । ब्राजिलले सन् २००२ को विश्वकपको उपाधि जित्दा उनी टिमका महत्वपूर्ण खेलाडी थिए ।
कार्लोस आफ्नो शक्तिशाली फ्रिकिक, गति र मैदानमा अतुलनीय ऊर्जाका लागि परिचित छन् । स्पेनी क्लब रियल माड्रिडबाट लामो समय उनले व्यावसायिक खेल खेले ।
फिफा विश्वकप र चार ला लिगा उपाधिसहित दुई दशकभन्दा लामो समय व्यावसायिक फुटबल खेलका उनीबाट विश्वका लाखौँ फुटबलप्रेमी प्रेरित छन् । कार्लोसको नेपालमा भएको भ्रमणले एनएसएलको आगामी संस्करण अझ रोमाञ्चक हुने अपेक्षा त गर्न सकिन्छ नै यो नेपाली फुटबलका लागि गर्विलो क्षणसमेत भएको छ ।
दशरथ रङ्गशालामा दर्शकलाई थप आकर्षित गर्न रोबर्टो कार्लोसले पाँच पटक फ्रिकिकसमेत हाने । कार्लोसले दुई प्रहारमा गोलसमेत भयो ।
एनएसएल लिग
अहिलेसम्म यसका तीन संस्करण सकिएका छन् । सात टिम सहभागी प्रतियोगिताको तेस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जित्यो । ललितपुरले लगातार दुई संस्करणको उपाधि जितेको हो । पहिलो संस्करणको उपाधि जितेको काठमाडौँ रेजर्र्स प्लेअफमासमेत पुग्न सकेन ।
सुरुवातका दुई संस्करणको उपविजेता धनगढी एफसी पनि यसपालि फाइनलमा पुगेन । पहिलो क्वालिफायरमा ललितपुरद्वारा र दोस्रो क्वालिफायरमा पोखरा थन्डर्ससँग पराजित भएर धनगढी बाहिरिएको थियो । पोखरा पहिलो पटक फाइनलमा पुगेर ललितपुरलाई चुनौती दिन सफल भयो ।
उपाधि जितबाट ललितपुरले ८० लाख रुपियाँ पुरस्कार पायो र पोखरालाई ३० लाख रुपियाँ प्राप्त भयो । ललितपुर, पोखरा, धनगढी, काठमाडौँसँगै एफसी चितवन, झापा एफसी र बुटवल लुम्बिनी गरी सात फ्रेन्चाइज टिमबीच भएको भिडन्तमा ललितपुर, धनगढी, पोखरा र चितवन प्लेअफमा पुगेका थिए ।
झापाले फेयर प्लेको उपाधि जित्यो भने ललितपुरका सन्तोष खत्री इमर्जिङ खेलाडी भए । ललितपुरकै मणिकुमार लामालाई इनर्जेटिक खेलाडी घोषणा गरियो । पोखराका प्रिसो उत्कृष्ट गोलकिपर भए भने धनगढीका अहमद हिजाजी पाँच गोल गरी सर्वाधिक गोलकर्ता भए । पोखराका आयुष घलानलाई मोस्ट भ्यालुएबल खेलाडी बताइयो ।
विश्वकपमा पुगेन यु–१९ टोली
नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीले सन् २०२६ मा जिम्बाब्वे र नामिबियाको संयुक्त आयोजनामा हुने विश्वकप क्रिकेट खेल्न नपाउने भएको छ ।
यु–१९ विश्वकप एसिया छनोट क्रिकेट प्रतियोगितामा घरेलु मैदानमै नेपाल निराश भयो । गत वैशाख ६ गते तल्लो मूलपानीमा वर्षाका कारण फाइनल खेल सम्पन्न हुन नसकेपछि लिग चरणको अङ्कका आधारमा नेपाल बाहिरियो ।
पाँच टोली नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमान सम्मिलित प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा भिडेर विजेताले विश्वकपमा ठाउँ बनाउने प्रावधान थियो । जसका लागि नेपाल र अफगानिस्तान तयार थिए ।
तर वर्षाले टससमेत हुन नसकेपछि समान अङ्क भए पनि रन रेटका आधारमा अफगानिस्तानले बाजी मार्यो । अफगानिस्तानलाई हराएको भए नेपाल विश्वकपमा छानिन्थ्यो ।
–युवामञ्च