तम्घास समाचारदाता
तम्घास, वैशाख ४ गते । कालीगण्डकी नदीमा चल्ने जल यातायात (स्टिमर) अहिले सङ्कटमा परेको छ । पहिले खाद्यान्न र खचाखच यात्रु बोक्ने स्टिमर अहिले यात्रु नपाएर सङ्कटमा परेको हो । स्याङ्जाको आँधीमुहान मिर्मीदेखि सेतीवेणीसम्मको छ किलोमिटरको कालीगण्डकी नदीमा जल यातायातबाट पहिले खाद्यान्न र यात्रु खचाखच बोक्ने स्टिमर अहिले यात्रु अभावमा यसै थन्किएर बसेका छन् ।
गुल्मी खण्डको कालीगण्डकी कोरिडोर र पर्वत खण्डको कालीगण्डकी लोकमार्ग खुलेपछि अहिले कहिले मेला पर्व र धर्मकर्म गर्ने मान्छे आउँछन् भनेर पर्खेर बस्नुपर्ने अवस्था आएको व्यवसायीले गुनासो गर्दै आएका छन् । मेला पर्वमा मानिस आवतजावत गर्ने गरेता पनि पहिलेका तुलनामा त्यो पनि न्यून मात्रामा रहेको शिला शालीग्राम कालीगण्डकी जल यातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो ।
विगतमा नयाँ वर्षको अवसरमा भन्दा यस वर्ष यात्रु झनै कमी आएको उहाँले बताउनुभयो । वैशाख १ गते स्टिमर यात्रा गर्ने एक सय यात्रु पनि नभएको उहाँले बताउनुभयो । कहिलेकाही अवलोकनमा आउनेले स्टिमर रिजर्भ गरेर सेतीवेणी शिला शालीग्रामको दर्शन गर्न आउनेजाने गर्ने गरेता पनि नियमित रूपमा यात्रुको अभावका कारण चल्न नसकेको भट्टराईले बताउनुभयो ।
गुल्मी, स्याङ्जा र पर्वत खण्डमा जताततै डिक यातायातको पहुँच भएका कारण पनि स्टिमर सञ्चालनमा प्रभाव परेको उहाँको भनाइ छ । अहिले जताततै सडकको सहज पहुँच भएकाले साना गाडी लिएर हिँड्नेको सङ्ख्यामा वृद्धि भएको भट्टराईले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट २०६२ सालमा स्वीकृति लिएर सञ्चालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिस्ट्रारमा दर्ता भई सञ्चालनमा आएको छ । पहिले १२ वटा सानाठुला गरी स्टिमर रहेता पनि हाल भने चार वटा मात्रै सञ्चालनमा रहेको भट्टराईले जानकारी दिनुभयो ।
प्रतिव्यक्ति एकतर्फी टिकट काटेर जानुपरेमा दुई सय रुपियाँ निर्धारण गरिएको छ भने रिजर्भका लागि दुई हजार देखि स्टिमरको क्षमता अनुसार निर्धारण गर्ने गरेको उहाँको भनाइ छ । कालीगण्डकी नदीमा मिर्मीदेखि सेतीवेणीसम्मको जलयात्राको समय ३० देखि ४५ मिनेट सम्मको रहने भट्टराईले जानकारी दिनुभयो ।