उर्लाबारी, वैशाख ३ गते । तीन दिनदेखि घरबाट हराइरहेका उर्लाबारी–९ आम्बारीका सुरेश धिमाल बुधबार बिहान मृत अवस्थामा फेला पर्नुभएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार ३४ वर्षीय धिमाल वडा नं. ३ स्थित नयाँ मङ्गलबारे बजारको एक त्रिपालमा मृत फेला परेका हुन् ।
बिहान करिब ७ बजे बजार क्षेत्रमा बिक्रीका लागि राखिएको खरबुजा छोपेर राखिएको त्रिपाल मुनि धिमालको शव भेटिएको थियो । घटनास्थलको छानबिनका क्रममा प्रहरीले सिसी टिभी फुटेज हेर्दा धिमाललाई त्रिपाल मुनि जाँदै गरेको फेला पारेको थियो ।
शारीरिक रूपमा अशक्त तथा बोल्न नसक्ने अवस्थामा रहेका धिमाल घरबाट बेला–बेला हिँडिरहने गर्थे । उनी तीन दिनअघिदेखि नै परिवारको सम्पर्कमा थिएनन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि मात्र मृत्युको कारणबारे यकिन विवरण आउन सक्ने जनाइएको छ । धिमालको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पोस्टमार्टमका लागि पठाइएको छ ।