• ३ वैशाख २०८२, बुधबार

वन्यजन्तु सप्ताह बर्दियामा गरियो हात्ती पूजा

blog

वन्यजन्तु सप्ताह कार्यक्रम अन्तर्गत गरिएको हात्ती पूजा ।

ज्योति पन्थी 

बबई (बर्दिया), वैशाख ३ गते । पर्यटकीय गन्तव्य स्थलका रूपमा परिचित बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्तीसारमा मङ्गलबार हात्ती पूजा गरेर वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको छ । मानव र हात्तीबिच सहअस्तित्व कायम गर्न बर्दियामा प्रत्येक वर्ष हात्ती पूजा गर्ने गरिन्छ । २०७१ सालदेखि नै वैशाख पहिलो सातालाई वन्यजन्तु सप्ताह अन्तर्गत मनाउने गरिएको छ । निकुञ्ज अन्तर्गतको हात्तीसारमा हात्ती पूजा गरेर वन्यजन्तु सप्ताह मनाउने प्रचलन रहँदै आएको छ । निकुञ्जको आसपासमा थारू समुदायको बाहुल्यता रहेको र निकुञ्जको वन्यजन्तु बढी प्रभावित हुने भएकाले मानव र हात्तीबिच सहअस्तित्व कायम गर्न थारू धार्मिक गुरु (पण्डित) हरूबाट हात्तीको पूजा गरेर वन्यजन्तु सप्ताह मनाउने परम्परा रहँदै आएको  छ । 

मङ्गलबार बिहान बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्तीसारमा हात्तीलाई उखु, केरा लगायतका फलफूल खुवाएर हात्ती पूजा गरियो । हात्ती पूजा गरेर वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज चोरी सिकारी नियन्त्रण युवा परिचालन समितिका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हात्ती पूजाको आफ्नै महìव हुन्छ, निकुञ्जमा गरिने हात्ती पूजाले मानव र वन्यजन्तुलाई नजिकसमेत गराउँछ भने स्थानीयलाई पनि निकुञ्जको हात्ती पूजाले निकुञ्जसँग नजिक बनाउने काम गर्दछ ।”

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न र मानव–हात्ती सहअस्तित्व कायम गर्न यसअघि हात्तीद्वारा सुँगुरलाई कुल्चिन लगाई हात्ती पूजा गर्ने गरिन्थ्यो । तर केही वर्षयता भने फरक तरिकाले वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको छ । केही वर्षयता हात्तीको पूजा गरेर वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले बताउनुभयो । 

मानव वन्यजन्तुको सहअस्तित्वका लागि वन्यजन्तु सप्ताह मनाउने परिपाटी अनुसार वन्यजन्तु सप्ताह मनाउन थालिएको डा. रामले बताउनुभयो । हात्तीसारमा गरिने हात्ती पूजा रोमाञ्चक र शिक्षाप्रदसमेत हुने गरेको छ ।