• ३ वैशाख २०८२, बुधबार

फेवातालको माटो र फोहोर हटाइँदै

blog

गाईघाट क्षेत्रमा मङ्गलबार फेवाताल किनारमा फोहोर र माटो जम्मा भएर बनेको टापु अवलोकन गर्दै महानगरका प्रतिनिधि र प्रविधिसहितको टोली । तस्बिर: गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख ३ गते । पोखरा महानगरको वडा नम्बर ६ र १७ मा पर्ने गाईघाटको टापु हटाएर फेवाताल चक्ल्याइने भएको छ । पोखराको मध्यभाग हुँदै बग्ने फिर्के खोलाले ल्याएको माटो, फोहोर, प्लास्टिक आदि जम्मा भएर यहाँ फेवाताल पुरिँदा टापु जस्तो जमिन बनेको छ ।

पोखरा महानगरले यहाँको माटो हटाउन यो वर्ष २५ लाख बजेट विनियोजन गरेको छ । यहाँको करिब ३० रोपनी क्षेत्रमा २० हजार घनमिटर जति माटो र फोहोर भएको अनुमान छ । महानगरका वातावरण महाशाखा प्रमुख विमलरञ्जन कार्की यो वर्ष चार हजार पाँच सय घनमिटर माटो निकालिने बताउनुहुन्छ ।

यसका लागि वातावरणीय अध्ययन गरी यही हप्ता टेन्डर आह्वान गर्ने तयारी छ । ताल पर्ने माटो निकाल्ने र खोलाका ठाउँ ठाउँमा चेक ड्याम निर्माण गरी तालसम्म फोहोर र माटो आउन नदिने योजना छ । महाशाखा प्रमुख कार्की भन्नुहुन्छ, “यो वर्ष गाईघाटमा अस्थायी चेक ड्याम बनाउँछौँ । ठाउँ ठाउँमा चेक ड्याम निर्माण गरी तालसम्म फोहोर नपुग्ने गरी काम गर्ने योजना छ ।”

यहाँको माटो र फोहोर हटाउन वातावरण संरक्षणका लागि महाअभियानले बारम्बार आवाज उठाउँदै आएको थियो । अभियन्ता रामबहादुर पौडेल सकारात्मक काम सुरुआत भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले केही वर्षदेखि नै यो एजेन्डा उठाउँदै आएका हौँ । टापु हटाएर सके स्थायी नभए अस्थायी चेक ड्याम बनाएर भए पनि ताल जोगाउनु जरुरी छ ।”

पोखरा महानगर फिर्के खोलाको खोला घरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउने योजनामा छ । नाप जाँच गरी खोला घर भत्काउन महानगरले पोहोर कात्तिकमा जारी गरेको सूचनापछि परेको रिट निवेदन उच्च अदालत पोखराले पुस १६ खारेज गरिदिएपछि महानगरलाई काम गर्ने बाटो खुलिसकेको छ । 

पोखरा फेवातालसम्बन्धी सर्वोच्च अदालतको आदेश बमोजिम सीमाङ्कनको काम सकिएको छ । २०७७ मा सरकारले गठन गरेको फेवाताल अतिक्रमित जग्गा छानबिन समितिका संयोजक विश्वप्रकाश लामिछाने डम्पिङ साइटमा परिणत भएको ताल किनारको माटो र फोहोर निकाल्नु सकारात्मक भए भएको उल्लेख गर्नुहुन्छ । “एक पटक माटो निकाल्नु मात्र ठुलो कुरा होइन,” उहाँ थप्नुहुन्छ, “यहाँ फोहोर जम्मा नहुने खालको योजना ल्याउनुपर्छ । फेवाताल जोगाउन सर्वोच्चको आदेश चाँडै कार्यान्वयन गर्नुको विकल्प छैन ।” २०७७ सालमा लामिछानेको संयोजकत्वमा रहेको समितिको प्रतिवेदनअनुसार फेवाको क्षेत्रफल पाँच दशमलव सात वर्ग किलोमिटर छ ।