दोलखा समाचारदाता
दोलखा, वैशाख ३ गते । दोलखाको वैतेश्वर गाउँपालिकाले आफ्नो सिमाना क्षेत्रमा सिसी क्यामरा जडान गरेको छ । गाउँपालिकाको सीमा क्षेत्रको सुरक्षा संयन्त्रलाई मध्यनजर गरेर सिसी क्यामरा जडान कार्य सुरु गरेको गाउँपालिकाका सूचना अधिकारी रोशनकुमार गिरीले जानकारी दिनुभयो ।
गाउँपालिकाले आफ्नो सिमाना जोडिएको जिरी र वैतेश्वरको खावामा अत्याधुनिक प्रविधिको पिटिजेट सिसी क्यामरा राखेको हो । सवारीसाधन र मानिस ओहोरदोहोर हुने तामाकोशी बजारको वैतेश्वर क्षेत्रमा क्यामरा जोडिएको छ । तामाकोशी बजार जिल्लाको भीमेश्वर नगरपालिका, तामाकोशी, मेलुङ र वैतेश्वर गाउँपालिकाको सङ्गमस्थलमा पनि सिसी क्यामरामार्फत निगरानी गर्ने भएको छ ।
त्यसै गरी वैतेश्वर र तामाकोशी गाउँपालिकाको सीमानाका गोपीखोलामा सिसी क्यामराको निगरानी राखिएको छ । बजार तथा सीमा क्षेत्रमा हुने चोरी, डकैती तथा अन्य आपराधिक घटना रोकथाम तथा अनुसन्धानमा सहज बनाउन सिसी क्यामराबाट निगरानी बढाइएको गाउँपालिकाका अध्यक्ष छवि लामाले बताउनुभयो । गाउँपालिका प्रशासन तथा स्थानीय सुरक्षा निकाय, इलाका प्रहरी कार्यालय मैनापोखरी, अस्थायी प्रहरी चौकी पुतलीकाठ अन्तर्गत निगरानी हुने गरी सिमाना क्षेत्रमा सिसी क्यामरा जडान गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो । वैतेश्वरले यसअघि पनि पालिकाभित्रका मुख्य बजार क्षेत्रमा सिसी क्यामरामार्फत बजारको निगरानी गर्दै आएको छ । गत वर्ष मुख्य बजार मैनापोखरी, नाम्दु, पुतलीकाठ, मिर्गे लहरेमाने, वडा नम्बर–१ को बुद्ध चोकलगायतका स्थान तथा सम्पूर्ण वडा कार्यालयमा सिसी क्यामरा सञ्चालन गरिसकेको गाउँपालिकाले जनाएको छ ।
बजार तथा सिमानामा हुने गतिविधि अब गाउँपालिका आफ्नो कार्यालयबाटै हेर्ने मिल्ने भएको छ । पालिकाले सार्वजनिक स्थल तथा बजार क्षेत्रलाई रातमा पनि उज्यालो राख्न विभिन्न ठाउँमा सडक सोलार बत्तीको समेत व्यवस्थापन गरेको वैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलले बताउनुभयो ।