सर्लाही समाचारदाता
सर्लाही, वैशाख ३ गते । लालबन्दी नगरपालिका–७, डाँडा टोलकी दिलमाया विश्वकर्मा करेसाबारीमा जे तरकारी फले पनि घरनजिकै रहेको लालबन्दी थोक तरकारी बजारमा ल्याएर बेच्नुहुन्छ ।
उहाँले पाँच धुर करेसाबारीमा विश्वकर्माले अहिले लट्टे (ठडिया) को साग उब्जाउनुुभएको छ । उहाँ हरेक दिन बिहान तीन सयदेखि चार सय रुपियाँको साग बेच्नुुहुन्छ । विश्वकर्मा भन्नुुहुुन्छ, “बाटा (आरी) मा हालेर बिहान एक/डेढ घण्टा बजारमा ल्याएर साग बेच्छु, त्यसैले घर खर्च टरेको छ ।”
विश्वकर्माले जस्तै तरकारी खेती गर्ने किसानले मौसम अनुसारको तरकारी फलाएर बजारमा ल्याएर बेची घर खर्च धान्ने गर्छन् । लालबन्दी–८ का सन्तलाल तामाङको बारीमा हिजोआज फर्सीको मुन्टा तयार भएको छ ।
मुन्टा मुुठाको ५० रुपियाँसम्ममा बिक्री भइरहेको छ । “थोरै किसानले मात्रै मुन्टा निकालेर अहिलेसम्म त मुुठाको ५० रुपियाँसम्ममा बेचिरहेको छु,” तामाङले भन्नुुभयो, “दिनको आठ÷१० मुठा मुन्टा निकाल्न पाए पनि राम्रो पैसा हुन्थ्यो ।”
तामाङ जे तरकारी फलाए पनि बजारमा ल्याएर सहजै बेच्न पाउँदा घरबार चलाउन मद्दत पुुगेको बताउनुहुन्छ । “धेरै फलाएको बेला गोलभेँडा र बोडीको मूल्य हुँदैन तर अरू तरकारी त बजार ल्याउनु मात्रै पर्छ हानालुछ हुन्छ,” तामाङले भन्नुुभयो, “नजिकै बजार भएर तरकारी बेच्न पाएकाले दुुई/चार पैसा देख्न र आपत्विपत्मा खर्च गर्न पाइएको छ ।”
विश्वकर्मा र तामाङ जस्तै यहाँका किसान बिहानै बाटा, साइकल, मोटरसाइकल, ठेला, टेम्पोमा हालेर तरकारी बेच्न बजार आउँछन् । हरिवन नगरपालिका–३, डाबरीका किसान सन्चलाल थिङले लालबन्दी तरकारी बजारकै कारण यस भेगका किसानको जीविकोपार्जन भएको बताउनुुभयो ।
अहिले चार कट्ठामा परबर, गोलभेँडा र खुर्सानी लगाउनुुभएका थिङले तरकारी बेचेरै महिनाको ३० हजार रुपियाँभन्दा बढी आम्दानी हुने गरेको सुनाउनुुभयो ।
लालबन्दी बजारमा प्रायः सर्लाहीको लालबन्दी नगरपालिका, हरिवन नगपालिका, ईश्वरपुर नगरपालिका, हरिपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका किसानले तरकारी बेच्न ल्याउने गरेका छन् । महोत्तरीको गौशाला र बर्दीबास नगरपालिका क्षेत्रका केही किसानले समेत यहाँ तरकारी ल्याएर बेच्ने गरेका छन् ।
तरकारी बजार सञ्चालन गरिरहेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष प्रमोद थपलियाका अनुसार लालबन्दी बजारमा मासिक १५ देखि २० करोड रुपियाँसम्मको तरकारी बिक्री हुने गरेको छ ।
स्थानीय किसानले उत्पादन गरेको हरेक तरकारी सहजै बिक्री गर्ने वातावरण बनाउन बजार समितिले भारतबाट मोटरसाइकलमा अवैध ढङ्गले सस्तो तरकारी ल्याएर बिक्री गर्नेलाई निषेध गरेको छ । लालबन्दी तरकारी बजारमा एक दशकदेखि व्यवस्थापकका रूपमा रहनुुभएका शम्भुप्रसाद घिमिरे बजारमा तरकारी ल्याएर बिक्री गर्ने किसान दिनानुदिन बढेका बताउनुहुन्छ ।
पछिल्लो समय उपभोक्ता र व्यापारीले थोरै परिमाणमा तरकारी ल्याउने किसानबाट समेत सोझै तरकारी किनिदिँदा साना किसानलाई समेत लाभ मिलेको घिमिरेले बताउनुुभयो ।