• ३ वैशाख २०८२, बुधबार

दुरा भाषाको संरक्षणमा सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

blog

मध्यनेपाल–१० हाँडीखोलामा दुरा सेवा समाजको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ। तस्बिर : नवीनराज कुइँकेल

 नवीनराज कुइँकेल

लमजुङ, वैशाख २ गते। नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अल्पसंख्यक दुरा जातिको भाषा संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। 

लमजुङको मध्यनेपाल नगरपालिका–१० हाँडीखोलामा मंगलबार आयोजित दुरा सेवा समाजको ३२ औं वार्षिकोत्सव समारोहलाई संबोधन गर्दै सञ्चारमन्त्री गुरुङले पाँच सय ३१ वर्ष पुरानो दुरा भाषाको संरक्षण गर्नुपर्ने बताउनुभयो। उहाँले गोरखापत्र दैनिकबाट ४६ औँ भाषाको रुपमा दुरा भाषामा समाचार प्रकाशन गर्ने व्यवस्था मिलाउने बताउनुभयो। उहाँले रेडियो नेपालबाट २६ औँ भाषाका रुपमा दुरा भाषाको समाचार प्रशारण हुनेछ। 

यस्तै नेपाल टेलिभिजनमा अल्पसंख्यक भाषामा समाचार प्रशारण र समाचार वाचकलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो। “दुरा जातिको लिपी बनिसकेको छ। अब दुरा सेवा समाजले पहल लिनुहोस्। सञ्चार मन्त्रालय गोरखापत्रमा दुरा भाषाको समाचार प्रकाशन गर्ने व्यवस्था मिलाउन तयार छ”, उहाँले भन्नुभयो, “भाषा बचाउन, जोगाउन सरकार प्रतिबद्ध छ।”

गण्डकीको दुर्लभ ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको नाममा हुलाक टिकट प्रकाशन गरेर सम्मान गर्ने उहाँले बताउनुभयो। दुरा जातिको संग्राहलाय निर्माणका लागि सरकारको सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। 


नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले विगतमा सरकार अस्थीर हुँदा देशले गति लिन नसकेको बताउनुभयो। अघिल्ला सरकारले गरेका नराम्रा कामलाई सच्चाउँदै वर्तमान सरकार अघि बढिरहेको उहाँले बताउनुभयो। 

“बाँकी रहेको तीन वर्ष देशमा स्थिर सरकार बनाएर देशमा विकास निर्माणको काम, बिग्रिएको अर्थतन्त्रलाई लयमा ल्याउन काँग्रेस एमाले मिलेर बलियो सरकार बनाएका हौं”, उहाँले भन्नुभयो, “अब विकासले गति लिनेछ। अर्थतन्त्र लयमा आउन लागेको छ। सहकारी पीडित, मिटरब्याज पीडितले न्याय पाउँदै गएका छन्।”

अघिल्लो सरकारले गरेका फोहोर सोहोर्दा सोहोर्दा वर्तमान सरकारले नयाँ काम गर्न नपाएको उहाँले बताउनुभयो। मन्त्री गुरुङले भन्नुभयो, “धेरै चिज भताभुङ्ग थियो, पुनर्निमाण गर्दै छौँ। धेरै ठाउँमा फाटेको थियो, सिलाउँदै छौँ। समग्रमा देशलाई गति दिँदै छौं। बनाउँदै छौं।”