• ३ वैशाख २०८२, बुधबार

गुरासँले ढकमक्क रोल्पा

blog

तिलक घर्तीमगर

रोल्पा, वैशाख २ गते । उत्तरी रोल्पाको उवा क्षेत्रका वनपाखा गुराँस फुलेर ढकमक्क भएका छन् । यस क्षेत्रमा विभिन्न प्रजातिका रङ्गीचङ्गी गुराँस फुलेपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि बढेको छ ।

समुन्द्र सतहदेखि तीन हजार ५ सय २० मिटरको उचाईमा पर्ने उवा क्षेत्रका वनपाखामा विभिन्न प्रजातिका गुराँस फुल्ने गर्छ । थबाङ गाउँपालिकाको पर्ने उवाको बाङखर्क, डाँडाखर्क र रिकुनबाङ क्षेत्रमा चैत, वैशाखमा ढकमक्क फुल्ने गुराँस यस क्षेत्रको प्रमुख पहिचान हो । यस क्षेत्रमा फुल्ने दर्जनौं थरिका गुराँसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गरेको छ । पछिल्लो समय उवा क्षेत्रमा गुराँस हेर्न रोल्पा, रुकुम, प्युठान ,दाङ, बाग्लुङ, मोरङ तथा भारतबाट समेत पर्यटकहरू आउन थालेका छन् ।

उवा क्षेत्रलाई गुराँस पर्यटकीय हवको रूपमा विकास गर्नका लागि प्रचारप्रसारदेखि पयटकीय संरचनाको निर्माण गर्न सुरु गरेको थबाङ गाउँपालिका–४ का वडा अध्यक्ष हिकमत घर्तीमगरले बताउनुभयो। 


यहाँ आउने पर्यटकहरूले विभिन्न थरीका गुराँससँगै विभिन्न हिमश्रृङ्खला, धार्मिक स्थलहरू अवलोक गर्न पाउने वडाध्यक्ष घर्तीमगरले बताउनुभयो । जिल्लाको उवा क्षेत्रमा मात्र होइन । जिललाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल जलजला, धरमपानी, मिरुल लगयातको क्षेत्रमा फागुनदेखि असारसम्ममा विभिन्न प्रजातिका गुराँस देख्नपाइन्छ । यी क्षेत्रलाई रोल्पाका स्थानीय तहले पनि पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न लागि परेका छन् । 

रोल्पाको ४५ प्रतिशत भू–भागमा गुराँस पाइन्छ । लेकाली हावापानी, रमणीय दृश्य अनि वनैभरी फूलेको गुराँस यहाँ पुग्ने सबैलाई सम्मोहित पार्छ ।