• ३ वैशाख २०८२, बुधबार

काकाकुल महोत्तरी: चुलिँदै छ जल सङ्कट

blog

अजय शाह

महोत्तरी, वैशाख २ गते । पानीका लागि मेघमा भर पर्ने पक्षीको नाम हो काकाकुल। यति बेला महोत्तरीका अधिकांश गाउँका बासिन्दा स्वच्छ, स्वस्थ र सहज तवरले पानी पिउन यही मेघ कुर्नुपर्ने  नियति भोग्न बाध्य छन्। जसले उनीहरूको दैनिक जीवनचर्या  प्रभावित तुल्याएको छ ।

चैत्र सकिएर वैशाख लागेको छ। तर गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किंदै गएको छ । यसले गर्दा महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन् ।

बर्दिबास नगरपालिका १४ बस्ने भीमबहादुर आलेले भन्नुभयो, “अहिले नै धारामा पानी आउन छोडेको छ भने जेठ असारतिरको प्रचण्ड रापमा के होला भने चिन्ता लागेको छ। जरुवा सुके, इनारमा पानीको सतह गहिरिँदै छ । खानेपानीको धारा चल्न छाडेका छन् । ”

जिल्लाभरि नै पानीको सतह गहिरिँदै गए पनि उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सयभन्दा बढी टोल बस्तीमा अहिले खानेपानीको समस्या बढेको छ । नदी, खोल्साखोल्सी र जरुवाका मुहान सुक्दै गएपछि पानी निकै कम भण्डारण भइरहेको हुँदा पहिलेजस्तो पर्याप्त पानी धारामा आउन छाडेको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुलन सेन ठकुरी बताउनुहुन्छ। यद्यपि बस्ती बस्तीमा पालो मिलाएर धारामा पानी दिँदै आएको उहाँले बताउनुभयो।

“पानीका स्रोतका मुहान नै सुकेका छन्, यसले गर्दा पानी कम हुनु त स्वाभाविक नै भयो,” अध्यक्ष ठकुरी बताउनुहुन्छ, “हामी मुहान सफा गर्ने र वैकल्पिक उपायको अवलम्बनमा लागेका छौँ ।”

सामान्यतया प्रत्येक वर्ष जसो वैशाख÷जेठमा पानीको सङ्कट झेल्दै बेहोर्दै आएका जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा यसपालि भने फागुन अन्त्यदेखि नै पानी कम हुन थालेपछि ठुलो खडेरी पर्न सक्ने चिन्तामा छन् । नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकल सहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि यसपालि वैशाख लाग्दा नलाग्दै खानेपानीको चरम सङ्कट व्यहोर्न सर्वसाधारण बाध्य छन् ।

बर्दिबासका खानेपानी धारा जडित बस्तीमा सबैतिर पानीको अभाव बढेको छ । चुरे शृङ्खलाका खोँचबाट निस्कने नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहानबाट पाइप ओछ्याएर पानी भण्डारण गरी धाराबाट वितरण गरिँदै आइएका बस्तीमा अहिले पानी आउन छाडेको हो ।

“धारामा कतिखेर पानी आउला भनेर बाटो हेरिन्छ,” बर्दिबास–१४ की नन्दिाता बस्नेत भन्नुहुन्छ, “पानी बढी चाहिने बिहानीपख नै धारामा पानी आउँदैन ।” अरू आवश्यकता जे जसरी टारिए पनि पानी नै नपाइँदा त यस्तो गर्मीमा प्यासले ज्यान जाला भन्ने चिन्ताले पिरोल्न थालेको नन्दिताले भन्नुभयो । जतिखेर पनि पानी आइरहने धारामा अब त कति बेला पानी आउँछ भनेर ताक्नुपर्ने भएको गृहिणीहरू बताउँछन् ।

बर्दिबास नगर क्षेत्रका १, २, ३, ४, ५, १०, ११ र १४ का वडा बस्ती खानेपानी धारामा आश्रित छन् । वडा नम्बर ६, ७, ८, ९, १२, १३ मा यसरी टङ्कीमा भण्डारण गरेर धाराबाट  वितरण गरिएसँगै इनार पनि विकल्पमा प्रयोग गरिन्छन् । अहिले नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहान सुक्दै गएर पानी भण्डारण घट्दा वितरणमा समस्या आएको हो । यसै गरी इनारको पानीको सतह पनि दिनदिनै गहिरिँदै गएपछि मोटरले पानी तान्न छाडेको बर्दिबास–१२ बिजलपुराका राजकरण महतो बताउनुहुन्छ।

“मोटरले त तान्न छाड्यो, अब त डोल पनि डुब्दैन,” महतो भन्नुहुन्छ। मोटरले पानी तान्न छाडेर डोल (बाल्टिन) झार्दा त्यो पनि डुब्न छाडेको बिजलपुरावासी बताउँछन् ।

महतोले भन्नुभयो,  “बिजलपुरा स्थित रामजानकी टोलमा निर्माणाधीन विजलपुरा खानेपानी योजना सुरु भएको १० वर्ष समेत पुरा हुन नसक्दा उपभोक्ता खानेपानी समस्या झेलिरहेका छन् ।”

विजलपुरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्याम प्रसाद महतोले पाँच किलोमिटर पाइपलाइन विस्तार र ट्रान्सफरमरमा विद्युत् जडानको काम एक वर्ष देखि हुन नसक्दा एक हजारको सङ्ख्यामा रहेका यहाँका उपभोक्तालाई खानेपानी वितरण गर्न नसकिएको बताउनुभयो।

त्यसै गरी खानेपानीको स्रोत इनार मात्र भएका बर्दिबास–८ को हाथीलेटमा पर्ने विजय बस्तीमा इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन् ।“पोखरी, डबरा (खाल्डा) सबै सुके, पशु वस्तुलाई नुवाइधुवाइ गराउन छाडियो”, भङ्गाहा–४      रामनगरका ६० वर्षीय जगदीश अधिकारी भन्नुहुन्छ, “अब कठिन दिन आउँदैछन् जस्तो लाग्छ ।”

भङ्गाहा–४ मा विगतमा खानेपानीको मुख्य स्रोत रहँदै आएको चापाकल पछिल्ला पाँच÷छ वर्षदेखि कवाडी बनेका रामनगरका ६५ वर्षीय गोविन्द अधिकारी बताउनुहुन्छ। “चापाकल त चल्नै छाडे, सबै खिया लागेर कवाडी बनेका छन्,” अधिकारीले भन्नुभयो ।   

त्यसै गरी भङ्गाहा र गौशाला नगर क्षेत्रका दक्षिणी भेगमा खानेपानीको स्रोत इनार र चापाकल रहँदै आएका छन् । यहाँका चापाकल र इनार पनि सुक्दै गएका गौशाला–९ भरतपुरका रामकुमार विश्वकर्माले बताउनुभयो। “चापाकल धमाधम सुक्दै छन्,” आफ्नो आँगनको चापाकल देखाउँदै विश्वकर्माले भन्नुभयो, “अब यसपालि पछिपछि पानी ओसार्न बयल गाडा जोत्नुपर्ला जस्तो छ ।” यता पानी पाइन छाडेपछि बयल गाडा जोतेर टाढा टाढाबाट ड्रममा पानी ओसार्ने पुरानै चलन हो ।

भङ्गाहाका दक्षिणी भेगका बस्तीमा अहिले नै पानीको हाहाकार नपरे पनि वडा नम्बर–४ र ५ का १० भन्दा बढी बस्तीमा पानीको सङ्कट चुलिँदै छ । वडा नम्बर–४ का प्रेम नगर, रामनगर, टोका, पलार र वडा नम्बर–५ का धतियाटोल, राजपुर, भूचक्रपुर, कुम्हालटोल र चौधरी टोलमा चापाकल कुनै काम लाग्ने स्थितिमा नरहेका पवन बच्छार बताउनुहुन्छ। “अब यी बस्तीमा चापाकल फेल (असफल) भयो, अहिलेलाई इनारले बचाइ राखेको छ,” बच्छार भन्नुहुन्छ, “इनारमा पनि माथिबाट हेर्दा पानी देखिन छाडेको छ ।”

भङ्गाहा नगर क्षेत्रका ४ र ५ नम्बर वडामा बर्सेनि गर्मी याममा खानेपानीको सङ्कट पर्दै आएको छ । “लगभग दुई दशकअघि होला, १५÷१६ हातभन्दा बढी इनार खन्न सकिँदैनथ्यो, पानीको मूल भेटिन्थ्यो, अब ती पुराना इनार सबै सुके,” भङ्गाहा–४ रामनगरका ६० वर्षीय गङ्गाराम महतो भन्नुहुन्छ, “अब त ६० हात नपुर्‍याइ पानी भेटिँदैन, किन यस्तो भएको होला ?”

यसै गरी चुरे पहाडी बस्तीमा पनि खानेपानीको समस्या बढेको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या बढेको काछवासी बताउँछन् । चुरे पहाडी काछमा बर्दिबास नगरपालिका–३, ४, ५, १० र ११ नम्बर वडामा ४० भन्दा बढी बस्ती छन् । पाखा बस्तीका बासिन्दालाई गर्मी याममा खानेपानी सङ्कट झेल्नुपरेको छ ।

खानेपानीको स्रोतका मुहानसँगै बस्ती बस्तीका सार्वजनिक   पोखरी र डबरी (साना पोखरी) सबैजसो सुकेपछि बस्तुभाउको नुवाइधुवाइ र पानी घाटको सुविधा पाइन छाडेको छ । इनारको पानीबाहेक सिँचाइको अरू सुविधा नहुँदा आफूहरूको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको किसानहरू बताउँछन् ।

यस कारण बढ्यो पानीको सङ्कट

जिल्लाका गाउँ नगर बस्तीमा अचेल २०३० सालयता पहिलेका वन मासेर रोपिएका इक्युलिप्टिस (मसला, सपेता) ले पनि पानीको मुहान सुकाउँदै लगेको सर्वसाधारणको अड्कल छ ।

यसपालि हिउँदे वर्षा राम्ररी नभएको, यसै चैतको दोस्रो साताको क्षणिक वर्षाले पानीका मुहान रसाउन नसकेका र नदी क्षेत्रमा बालुढुङ्गा उत्खनन गर्नेहरूले ठूल्ठूला गहिरा खाल्डा बनाउँदा र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर चैत नसकिँदै पानीको सङ्कट बढेको विज्ञहरू बताउँछन् ।

“हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापरवाही भयौँ,” महोत्तरीमा वर्षौँदेखि जलाधार क्षेत्र र चुरे संरक्षण अभियानमा जोडिँदै आएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव भन्नुहुन्छ, “नदीहरूको अनियन्त्रित दोहन रोक्न, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो सङ्कट बढ्दै जानेछ ।”

विसं २०७४ यता स्थानीय तहमा जनप्रतिनिधिहरूले काम गर्न थालेपछि खानेपानीको थुप्रै योजना बनेर धमाधम इनार खनिए पनि खानेपानीको समस्या भने झन्झन् बढ्दै गएको छ । इनार धमाधम खनिए पनि खानेपानीको स्रोत र मुहानको संरक्षण हुन नसक्दा नयाँ खनिएका इनार चाँडै सुक्ने     गरेका भङ्गाहा–७ मेघरोलका बासिन्दा चुरेविज्ञ डा. विजयकुमार सिंह बताउनुहुन्छ।

उहाँले नगरपालिकाहरुले गाउँ बस्तीका सबै सडक बाटोहरु सिमेन्ट ढलान गरेर बनाउँदा जमिनले पानी सोस्न नपाई रिचार्ज नहुँदा पनि चापाकल र इनारहरु सुकेको बताउनुभयो ।

चुरेक्षेत्रका खोल्साखोल्सी, वनक्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएका र खनिने इनारमा पनि यिनै स्रोतको प्रभाव हुने भएकाले यिनको संरक्षण एवम् उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुङ्गिने डा. सिंहको दाबी छ।

राष्ट्रपति चुरे मधेस संरक्षण तथा विकास समितिका पूर्व सदस्य डा. सिंहले यस भेगका सबै स्थानीय तहको नेतृत्वलाई प्राकृतिक सम्पदाको उपयोग र संरक्षण नीति स्पष्ट बनाउन अपिल गर्दै आउनुभएको छ।

पछिल्ला केही वर्षयता जिल्लाका बाँके, मरहा, जङ्घा, भब्सी, रातु, बडहरी सहितका नदीबाट बालुढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वनविनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा पानीका मुहान चाँडै सुक्न थालेका विज्ञहरूको भनाइलाई स्थानीय तहले भने बेवास्ता गरेका सर्वसाधारणको गुनासो छ ।

यता स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षण र उपयोग नीतिको स्पष्ट खाका बनाउनुपर्नेमा बेखबर नभएको बताउँछन् । “हामी नदीनाला, नदीउकास जग्गा र अन्य प्राकृतिक सम्पदाको संरक्षण र तिनको दीर्घकालीन उपयोग नीति कसरी बनाउँदा राम्रो हुन्छ भन्ने सघन छलफल गरिरहेका छौँ,” बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्री भन्नुहुन्छ, “विकास निर्माणका योजना र पूर्वाधार विकासका योजना छनोट गरिँदा र कार्यान्वयमा लगिँदा प्राकृतिक सम्पदाहरूको संरक्षणलाई ध्यान दिएका छौँ, यस्ता विषयमा पर्याप्त गम्भीरता अपनाइएको छ ।”

स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान दिएको र पानीका समस्या समाधान हुने बताउँदै आए पनि प्राकृतिक सम्पदाको उपयोग नीति स्पष्ट नपारेसम्म समस्या समाधान हुन नसक्ने चुरे, जलाधार तथा वन विज्ञहरूको मत पाइन्छ ।