• ३ वैशाख २०८२, बुधबार

स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप सुरु

blog

सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ घलेगाउँमा आयोजित आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, वैशाख १ गते ।
नयाँ वर्षको अवसरमा सोमबारदेखि स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले खेल क्षेत्रबाट राष्ट्रको पहिचान राख्न सकिने बताउनुभयो । उहाँले घलेगाउँ जस्ता गाउँहरुमा हुने खेलकुँद प्रतियोगिताले ग्रामीण पर्यटनको विकास गर्ने बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

घलेगाउँस्थित नाइन ‘ए’ साइडको स्वर्गभूमि रङ्गशालामा सञ्चालन भएको प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालका ११ टिम र भारतको एक टिम सहभागी छन् । जसमध्ये लमजुङका ४ र बाँकी ७ टिम जिल्लाबाहिरको रहेको आयोजक पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेम घलेले जानकारी दिनुभयो ।

प्रतियोगितामा घरेलु टिम त्रिवेणी युवा क्लब बेंसीसहर, बेंसीसहर युथ सोसाइटी, नाल्मा ११, बेंसीसहर नगरपालिका–५ र बीवाईसी भोटेओडार छन् । भुईंखेल फुटबल क्लब काठमाडौं, अभिषेक चर्च, फ्रेन्डसिप युथ क्लब तनहुँ, गुन्नी फुटबल क्लब पोखरा, सीवाईसी नेपाल युनाइटेड तुरतुरे, रड्स रामपुर चितवन र मनाङ जिल्ला टिम छन् । प्रतियोगितामा दार्जिलिङको एमएससी क्लब बालियाले पनि सहभागि रहेको छ । 

विजेताले छ लाख पाँच सय ५५ रुपियाँ पुरस्कारसहित गोल्डकप जित्नेछ भने उपविजेताले तीन लाख ५० हजार तीन सय ५५ रुपियाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई १०–१० हजार प्रदान गरिनेछ । हरेक खेलमा म्यान अफ दी म्याचको ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता गर्न ३४ लाख ३१ हजार १ सय १० रुपियाँ खर्च लाग्ने आयोजकले जानकारी दिएको छ ।