• २ वैशाख २०८२, मङ्गलबार

अवैध आयात र तस्करी नियन्त्रण रोक्न बाँके प्रहरीकाे विशेष अप्रेसन

blog

केही समयअघि ठुलो परिमाणको अवैध कपडासहित नियन्त्रणमा लिइएको कार । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख १ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले फरार अपराधी पक्राउ, अवैध आयात र तस्करी नियन्त्रण तथा लागु औषधको ओसारपसार रोक्न जिल्लामा विशेष अप्रेसन सञ्चालन गरेको जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले विभिन्न अपराधमा अदालतद्वारा सजाय पाएपनि लामो समयदेखि फरार रहेका अपराधीहरुलाई पक्राउ गर्न, सीमापारीबाट हुने अवैध आयात एवम् तस्करी नियन्त्रण गर्न तथा लागु औषधको ओसारपसार रोक्न चलाइएको विशेष अप्रेसन प्रभावकारी देखिएको बताउनुभयो । 

उहाँले सो विशेष अप्रेसन अन्तर्गत प्रहरीले गत ११ महिनाको अवधिमा ५६० जना फरार अपराधीलाई पक्राउ गर्न सफल भएको जनाउँदै उनीहरुबाट २४८ वर्ष १३ दिन कैद भुक्तान तथा एक करोड ९५ लाख ६० हजार ९६७ रुपियाँ जरिवाना असुल गरिएको बताउनुभयो । यो अप्रेसनबाट ३२ वर्षदेखि फरार रहेका अपराधीसम्मलाई पक्राउ गर्न सकिएको जनाउँदै प्रहरी प्रमुख एसपी कार्कीले यति धेरैजना फरार अपराधी पक्राउ परेपछि फरारहरुमा खैलाबैला मच्चिएको बताउनुभयो । यो अप्रेसनबाट कानुनको पकडबाट कोही पनि भाग्न नसक्ने समेत पुष्टि भएको प्रहरीले जनाएको छ । 

सोही प्रकारले सोही अवधिमा प्रहरीले सीमापारीबाट हुने अवैध आयात र तस्करी नियन्त्रणलाई विशेष प्राथमिकता दिँदै पाँच करोड ७७ लाख ९५ हजार १८१ रुपियाँ बराबरको अवैध सामान बरामद गरि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको एसपी कार्कीले बताउनुभयो । सो क्रममा प्रहरीले अबैध सामानसहित १४ जनालाई पक्राउ गर्नुका साथै ट्रक एक, एक माइक्रो बस, चार वटा जिप, दुई वटा कार र २० वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएर कानुनी कारवाही गरिएको उहाँले बताउनुभयो । 

यस्तै खुला सीमानाका कारण लागु औषध ओसारपसारको प्रमुख केन्द्र बनेको नेपालगन्ज नाका र जिल्लाका विभिन्न स्थानबाट गत ११ महिनाको अवधीमा प्रहरीले दुई किलो १११ ग्राम ३५२ मिली ग्राम ब्राउन सुगर लगायत ठुलो परिमाणमा लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

जिल्लाको मुख्य नाका जमुनाह र अन्य सहायक नाका भएर लागु औषधको कारोवार, ओसारपसार तथा प्रयोगकर्ता बढ्दै जाँदा सो नियन्त्रणका लागि विशेष अप्रेसन चलाइएको बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले बताउनुभयो । उहाँका अनुसार गत ११ महिनामा प्रहरीले एक हजार ८९१ नाइट्रजेपाम ट्याब्लेट, छ हजार ५१३ ट्रामाडोल ट्याब्लेट, चार किलो २०० ग्राम चरेश, दुई किलो २५० ग्राम गाँजा पनि बरामद गरेको छ । सोही क्रममा लागु औषध ओसारपसारमा संलग्न २३१ जनालाई प्रहरीले पक्राउ गरि कानुन दायरामा ल्याएको पनि एसपी कार्कीले बताउनुभयो । 

सोही अवधिमा जिल्लामा ट्राफिक नियम उलंघन गर्ने ३० हजार १३६ वटा सवरीसाधनलाई कारवाही गरी दुई करोड ६३ लाख २४ हजार रुपियाँ राजश्व सङ्कलन गरिएको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।