नवीनराज कुइँकेल
लमजुङ, वैशाख १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई पर्यटनको हव बनाउनुपर्ने बताउनुभएको छ । पर्यटनबाटै नेपालको सम्वृद्धी सम्भव हुने उहाँले बताउनुभयो ।
सोमबार लमजुङको स्मार्ट भिलेज घलेगाउँमा आयोजित पर्यटन रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले पर्यटनबाट सम्वृद्धि हाँसिल गरेर गरिबी अन्त्य गर्ने सरकारको सपना रहेको बताउनुभयो ।
“दुनियाँमा हरेक देशमा एउटा नेताले सपना देखेको हुन्छ । आफ्नो देशलाई कस्तो बनाउने । आफ्नो प्रदेश, जिल्लालाई कस्तो बनाउने”,सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “हाम्रो सरकारको पनि एउटा सपना छ । देशलाई पर्यटनको हव बनाउने । पर्यटनबाट गरिबी हटाउने । सम्वृद्धि हाँसिल गर्ने । गरिबी हटाउने ।”
नेपालका सबै गाउँहरु पर्यटनको सम्भावना बोकेका गाउँहरु रहेको उहाँले बताउनुभयो । गाउँ पर्यटनको विकासबाट जीवनस्तर उकास्न सकिने उहाँले बताउनुभयो । “हाम्रा गाउँहरु प्रकृतिले सुन्दर छन् । संस्कृतिले भरिभराउ छन् । एउटा जीवित संग्राहलय हुन्”, उहाँले भन्नुभयो, “हाम्रा गाउँका प्रचुर सम्भावनालाई प्रयोग गरेर पर्यटनको विकास गर्न सकिन्छ ।”
उहाँले घलेगाउँले हाँसिल गरेको प्रगति समाजवाद उन्मुख रहेको बताउनुभयो । घलेगाउँले गरेको सामूहिक होमस्टे, चिया खेती, भेडा पालन, स्वास्थ्य बिमा, एक घर एक धारा जस्ता कार्यक्रमले समाजवादको आधार तयार गरेको उहाँले बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले सोमबार नै घलेगाउँमा पर्यटन रजत जयन्ती, स्वास्थ्य बिमा, एक घर एक धारा, स्वास्थ्य चौकीको उद्घाटन र घलेगाउँ प्रेरणा, संघर्ष र सिर्जना नामक पुस्तकको विमोचन गर्नुभयो ।
नेपाल सरकारले गरेको स्वास्थ्य बिमा झन्झटिलो भएको भन्दै घलेगाउँमा स्थानीय आफैँले स्वास्थ्य बिमाको सुरुवात गरेका छन् । घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले तीन लाख रुपियाँसम्मको बिमा सुरु गरिएको बताउनुभयो ।
संविधानसभा सदस्य जमीन्द्रमान घलेले पर्यटनका लागि घलेगाउँ नमूना गाउँ बनेको बताउनुभयो । उहाँले पर्यटनका माध्यमबाट गाउँको सम्वृद्धि हाँसिल गर्न सकिने उदाहरण घलेगाउँ बनेको बताउनुभयो ।
२५ वर्षको घलेगाउँको पर्यटन यात्राले घलेगाउँको स्वरुप मात्र फेरिको छैन, गाउँलेको जीवनस्तर पनि फेरिएको छ । गाउँमै बसेर वर्षमा ६/७ लाख कमाउने भएका छन् । समुद्री सतहदेखि दुई हजार एकसय ७० मिटर उचाइमा रहेको क्व्होलासोंथर गाउँपालिका–३ मा अबस्थित घलेगाउँमा एक सय ३० घर छन् । अमेरिका, बेलायत गएकासमेत घलेगाउँ आएर होमस्टे चलाउन थालेका छन् । विक समुदायले सञ्चालन गरेको दुईसहित अहिले ४६ घरमा होमस्टे छ । पाँचवटा होटल सञ्चालनमा छन् ।
घलेगाउँमा यो अवधिमा करिब तीन लाख पर्यटकले बास बसेका छन् । पर्यटन समितिका सविच उमलबहादुर विकका अनुसार अन्य घरका बासिन्दाले पर्यटकलक्षित व्यापार व्यवसाय गरेका छन् । भेडाको ऊन, निगालोको चोया, अल्लोबाट हस्तकलाका सामग्री तयार पार्छन् । घलेगाउँका बासिन्दाको आम्दानीका स्रोत थपिँदै छन् ।