• २ वैशाख २०८२, मङ्गलबार

विश्वशान्तिको कामना गर्दै फूर्दाेक पूजा

blog

विश्वशान्तिको कामना गर्दै बौद्ध धर्मगुरुहरु । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की  
वराहक्षेत्र, वैशाख १ गते ।
विश्वशान्तिको कामना गर्दै सुनसरीको वराहक्षेत्रामा (फुर्दोक) पूजा सुरु गरिएको छ । रिनछिन छवोलिङ्ग बौद्ध गुम्बाको आयोजनामा सप्ताहव्यापी पूजा पाठ र प्रवचन हुँदै आएको हो ।  

पूर्वी नेपालमै दोस्रो पटक लागेको फूर्दाेक पूजाको कथावाचक लामा धर्मगुरु आचार्य खेन्पो मुन्सेल दोर्जे र लोपेन तेन्जिङ दोर्जेले कथावाचन गर्ने हुनुभएको रिनछिन छवोलिङ्ग बौद्ध गुम्बाको सचिव रामजी योन्जन तामाङले बताउनुभयो । काठमाडौंबाट आउनुभएका धर्मगुरुहरुले विश्व शान्तिको कामना गर्दै दैनिक पाठ पूजा र लामा वेदलाई नेपालीमा उल्था गरेर दैनिक प्रवचन सुरु गर्नुभएको छ । 

वैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने पूजा, पाठ, प्रणयम र कथावाचन हुने छवोलिङ्ग बौद्ध गुम्बाले जनाएको छ । सात दिनसम्म सारा जगतमा मानिसलगायत जीव जन्तुको रक्षाको कामना र मृतकको चिर शान्तिको कामनाका लागि दैनिक लामा विधिद्वारा लाखबत्तीसमेत बालिँदै आएको सचिव तामाङले बताउनुभयो ।  

सुनसरी जिल्लामै पहिलो पटक लगाइएको फूर्दाेक पूजा खर्चिलो हुने भएकाले वराहक्षेत्र नगरको वडा नम्बर ६, ७, ८, ९ र १० को संयुक्त आयोजनामा छवोलिङ्ग बौद्ध गुम्बा समितिको अगुवाइमा वडा नम्बर ७ स्थित बुद्धचोकमा आयोजना गरिएको बताइएको छ । विश्वशान्ति पूजामा पूर्वी नेपालका विभिन्न जिल्लाबाट बौद्ध धर्मावलम्बीहरु कथा श्रवण गर्न र पूजामा सहभागी हुन आइपुगेका छन् । आयोजक समितिका अनुसार दैनिक बिहान लामा विधिद्वारा पूजापाठ र दिउँसो १२ देखि ३ बजेसम्म कथा प्रवचनका साथै सन्ध्याकालीन लाखबत्ती बालिने जनाइएको छ । 

कथावाचक धर्मगुरु आचार्य खेन्पो मुन्सेल दोर्जेले पञ्चशीलको विषयमा लामा वेदलाई नेपाली भाषामा उल्था गरेर सुनाउने हुनाले अन्य धर्मावलम्बी प्रवचनको लाभ लिन सक्ने जनाइएको छ । बौद्ध धर्मका प्रवर्तक भगवान बुद्धका उपदेश, भातृत्वको कामना, विश्व शान्तिको कामना गर्दै लगाइएको पूजाले भाइचाराको सम्बन्ध मजबुत बनाउने, मानवताको भाव विकास गर्ने सचिव तामाङ बताउनु हुन्छ ।   

विशेष गरी बौद्ध धर्मावलम्वीहरुले जीवनमा एक पटक सुन्नैपर्ने हुनाले टाढा टाढाबाट पनि बौद्धधर्ममा आस्था राख्नेहरुको बाक्लो उपस्थिति रहेको छ । पूर्वी पहाडी जिल्लाहरुबाट समेत श्रद्धालुहरु कथा श्रवणका लागि आउने बताइएको छ । विश्व शान्ति आयोजक समितिले अन्य धर्मावलम्बीहरुले पनि लामा वेदको पञ्चशीलको विषयमा कथा श्रवण गरे धार्मिक लाभ प्राप्त हुने बताइएको छ । पूजा र प्रवचनस्थलमा बौद्ध विधिद्वारा सजिसजाउ गरिएको छ ।