• २ वैशाख २०८२, मङ्गलबार

तस्बिरमा रोल्पाको उवा क्षेत्र र गुराँस

blog

तिलक घर्ती मगर 

रोल्पा, वैशाख १ गते । रोल्पाको उत्तर पूर्वमा पर्ने उवा इतिहासमा बेग्लै पहिचान भएको गाउँ हो । उवा थवाङ गाउँपालिकाको–४ र ५ नम्बर वडामा पर्ने यो क्षेत्र पुग्दा नरमाउने पर्यटक कमै होलान् । उवा अहिले पर्यटकीय गन्तव्यको रूपमा परिचित बन्दै गएको छ ।

थवाङ गाउँपालिकाको उवा पर्यटनको हिसाबले प्रचुर सम्भावना भएको ठाउँ हो । उवामा पर्ने जन्तरे,जलाकी वाङखर्क, डाँडाखर्क र रिकुनबाङ पर्यटनको हिसाबले प्रमुख गन्तव्यको रूपमा चिनिन्छ ।

समुन्द्र सतहदेखि ३ हजार २ सय १० देखि ३ हजार ५ सय २० मिटरको उचाइमा पर्ने पर्यटकीय क्षेत्रहरूको बेग्लाबेग्लै महत्त्व र विशेषता रहेका छन् । 

जन्तरे र जलाकी बिचमा पर्ने वाङखर्क, डाँडाखर्क र रिकुनबाङ क्षेत्रमा  चैत, वैशाखमा ढकमक्क फुल्ने लालीगुराँस यस क्षेत्रको प्रमुख पहिचान बनेको छ  । यस क्षेत्रमा  फुल्ने दर्जनौँ थरिका लालीगुराँसले आन्तरिक तथा बाह्य पर्यट हरुलाई सजिलै आकर्षण गर्ने गर्दछ । पछिल्लो समय यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू आउन थालेका छन् । रोल्पा,रुकुम पूर्व,रुकुम पश्चिम,प्युठान ,दाङ, बागलुङ,मोरङ तथा छिमेकी देश भारतबाट समेत यस क्षेत्रमा पर्यटकहरू आउने गरेका थवाङ गाउँपालिका–४ उवाका वडा अध्यक्ष हिकमत घर्ती मगरले बताउनुभयो ।

यस क्षेत्रको पर्यटन प्रबद्र्धनका लागी थवाङ गाउँपालिका–४ नम्बर वडाको सक्रियतामा चैत २९ देखि ३१ गतेसम्म गुराँस पद यात्रासमेत सम्पन्न भएको छ । यस क्षेत्रलाई पर्यटनको हबको रूपमा विकास गर्न प्रचारप्रसार गर्ने उद्देश्यले गुराँस पद यात्रा गरिएको वडा अध्यक्ष घर्तीले बताउनुभयो ।