टोपलाल अर्याल
रेसुङ्गा, वैशाख १ गते । किसान बारीमा मल फालेर मकै रोप्न वर्षाको प्रतीक्षामा थिए । भर्खरै भएको वर्षाले मकै किसानहरूलाई उत्साहित बनाएको छ । पहाडी जिल्लाहरूमा अधिकांश किसानले चैतमै मकै रोप्छन् । मकै रोप्ने केही बेला ढिप्किएपनि लामो वर्षा भएकाले मकै रोप्न सुरु गरिएको धुर्कोट गाउँपालिका–६ का राम बहादुर थापाले बताउनुभयो । चैतमा रोपेको मकै साउन महिनाको अन्तिममा पाक्ने गर्छ । खेतमा फागुन महिनामै मकै रोप्ने र गाउँका बारीमा चैतमा नरोपे कोदो रोप्न समस्या हुने गर्दछ ।
सुत्यवति गाउँपालिका–५ का युवराज भण्डारी खेतमा रोपेका मकै कम्मर–कम्मर आउने भए । तर, वर्षा नभएका कारण बारीमा मल फालेर मात्रै बस्नु परेको थियो । अहिले तीन दिन परेको वर्षाको कारण मकै रोप्न थालिएको भण्डारीले बताउनुभयो । फागुनमा नभएपछि केही गुल्मीमा २२ हजार ४१८ हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । बर्से मकै २० हजार ५१३ र बसन्ते एक हजार ९०५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । जिल्लामा बर्से मकै ७१ हजार २०५ मेट्रिक टन र बसन्ते मकै पाँच हजार ९६७ मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।
पछिल्लो समय किसानहरूले उन्नत जातको मकैलाई प्राथमिकता दिन थालेका छन् । गुल्मीमा सबैभन्दा बढी क्षेत्रफलमा मकै लगाउने वर्षाको समयमा हो । फागुनदेखि वैशाखसम्म लगाउने मकैलाई बर्खे मकै भनिन्छ । उन्नतर्फ अरुण–२, मनकामना–३ र देउती जातको मकै धेरै लगाइन्छ । यो जिल्लामै उत्पादन हुने मकै हो । करिब ७० प्रतिशत किसानले हाइब्रिड जात अर्थात् सिपी र जेके मकै धेरै लगाउने गरेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत मरासिनीले बताउनुभयो । जसका कारण जिल्लाको रैथाने बाली हराएर जाने समस्या देखिएको छ । किसानले धेरै उत्पादन गर्ने उद्देश्यले हाइब्रिड मकै लगाउने गरेका छन् ।