कपिलवस्तु समाचारदाता
कपिलवस्तु, वैशाख, १ गते । भारतसँग सीमा जोडिएको मुख्य नाकामा तालिमप्राप्त कुकुर प्रयोग गरेर आकस्मिक जाँच अभियान सुरु गरिएको छ । कपिलवस्तुको कृष्णनगरमा पहिलो पटक तालिमप्राप्त कुकुर लगाएर जाँच गरिएको थियो । कृष्णनगर नाका हुँदै लागुऔषध ओसारपसार, सीमा अपराध, तस्करी तथा अन्य अन्तरदेशीय आपराधिक गतिविधिको नियन्त्रणका लागि प्रहरीले अभियानका रूपमा यस्तो कदम चालेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय कृष्णनगरले नगरपालिका–२ अन्तर्गत पर्ने लिङ्क गेट, यात्रु गेट, ट्रान्समिटर क्षेत्र र बसपार्क जस्ता आवतजावत हुने स्थानमा कुकुरको प्रयोग गरी आकस्मिक जाँच गरिएको छ ।
भैरहवा विमानस्थलको कुकुर शाखाबाट ल्याइएको विशेष तालिमप्राप्त दुई वटा कुकुरको प्रयोग गरिएको थियो । लागुऔषध, विस्फोटक पदार्थविज्ञ मानिएका ज्यानी एक्सप्लोसिभ र जुजु नारकोटिक्स नामक तालिमप्राप्त कुकुरको प्रयोग गरिएको थियो । जसले यात्रु तथा सवारीसाधन सूक्ष्म रूपमा जाँच गर्ने इलाका प्रहरी कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले बताउनुभयो ।
सीमानाकाबाट ब्राउन सुगर नेपाल ल्याउने र चरेस भारत लैजाने कार्य बढ्दो छ । यसले युवापुस्तालाई झन् जोखिममा पार्दै गएको छ । यो कदम सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध कारोबार र अवैध हतियारको प्रवेश रोक्न प्रभावकारी हुने अपेक्षा गरिएको छ । उपरीक्षक भट्टले भन्नुभयो, “सीमामा दिनहुँ सयौँ मानिसको आवतजावत हुन्छ । हामीले अब यस्ता स्थानमा आकस्मिक जाँचलाई नियमित बनाउने छौँ । एउटा क्षेत्रमा महिनामा न्यूनतम दुई पटक कुकुर परिचालन गरी जाँच गरिने छ । आवश्यकताका आधारमा बढाउन पनि सकिने छ ।”