बासुलिङ समाचारदाता
बासुलिङ (बैतडी),वैशाख १ गते । बिसुपर्वका नामले मनाइने नयाँ वर्षको पहिलो दिनलाई भव्य बनाउन सुदूरपश्चिमेलीलाई चटारो भएको छ । बिसु मनाउन देशविदेश तथा घरबाहिर रहेकाहरू फर्केसँगै गाउँमा चहलपहल बढेको छ । बिसुपर्वलाई परिवारका सदस्य तथा आफन्तको जमघट, मिठोमसिनो खानपिन, देउडा खेलेर रमाइलो गर्दै विशेष रूपमा मनाइने गरिन्छ ।
यतिबेला गाउँमा गहुँ, मसुरो, कुराउ जस्ता बाली भिœयाउने तथा मकै र धान खेतीको तयारी गर्ने चटारो भए पनि बिसुलाई धुमधामसाथ मनाउने गरिन्छ । हरेक वर्ष चैतमा स्थानीयले ढुङ्गामाटोका परम्परागत घरलाई रातो र कमेरो (सेतो) माटोले रङ्ग्याउँछन् । चैतेदसैँ, नयाँ वर्ष तथा बिसुपर्वको तयारी स्वरूप जुठो परेकाबाहेक सबैले घर रङ्ग्याउने चलन छ ।
यो दिन देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुले आपसमा सिस्नुपानी छ्यापेर रमाइलो गर्छन् । यी नाता भएकाहरू उपलब्ध नभएकाले आफँै पनि बिसुका दिन शरीरमा सिस्नोको काँडाले घोच्नैपर्ने चलन छ ।
बिसुमा शरीरमा सिस्नोको काँडा पसे वर्षभरि ज्वरो र छालासम्बन्धी रोग नलाग्ने विश्वास रहेको सूर्नया गाउँपालिका–३ का अर्जुनदेव भट्टले बताउनुभयो । बिसुपर्वका लागि बिहे भएर गएका छोरीचेली पनि माइती आउने चलन छ । ‘पहिले पहिले विशेष गरी देवर–भाउजू, साली–भिनाजुबिच सिस्नो लगाउन जुहारी नै चल्थ्यो, विसुमा सिस्नो लगाएको हेर्नकै लागि छरछिमेकबाट समेत जमघट हुन्थयो,” उहाँले भन्नुभयो, “अचेल परम्परा बचाउन मात्रै धेरै जसो आफँैले आफूलाई लगाउने चलन छ ।”
बिसुको अवसरमा धेरैजसो ठाउँमा देउडा खेल्ने, विभिन्न सांस्कृति प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने चलन रहेको सिगास गाउँपालिका–९ कि लक्ष्मी चन्द शाहले बताउनुभयो ।
सिमान्त जिल्ला दार्चुलासित जोडिएका बैतडीका केही गाउँमा बिसुमा महिलाले पुतला नाच खेल्ने र पुरुषले बिसु बाघ बनाएर दौडाउने गर्छन् । केही दिनदेखि नै बैतडी, दार्चुलालगायत जिल्लाका गाउँमा महिलाले पुतला खेल खेल्ने चलन रहेको दार्चुलाको शैल्यशिखर नगरपालिका–४ की हेमन्ती भट्टले बताउनुभयो । कुनै कुनै ठाउँमा बिसु तिहारकै दिन कुलदेवताको पूजाआराधना गर्ने, गौतानी डुब्का (गहुतको दालमा मासको दाल पिसेर सानो टुक्रा बनाएर पकाउने) स्थानीय खानाको परिकार पकाएर खाने चलनसमेत रहेको हेमन्तीले बताउनुभयो ।
हिन्दु सम्राट् विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियाली स्वरूप पौराणिककालदेखि नै बिसुपर्व मनाउने किंवदन्ती रहेको सूर्नया गाउँपालिका–३, बिजुलका पण्डित पुस्तक भट्टले बताउनुभयो । कामको खोजीमा भारत गएकाहरू बिसुका लागि फर्किने गर्छन् । चिट्ठीपत्र तथा सञ्चारको सुविधा नभएका बेला बिसुका लागि घर नफर्किए मृत्यु भएको अनुमान गरेर किरियासमेत गर्ने चलन रहेको यहाँका बुढापाकाहरू बताउँछन् । बिसुका लागि घर फर्किएकाहरू खेतीपातीको काम सकेर असार, साउनतिर फेरि कामको खोजीमा भारत पस्ने गर्छन् ।