• २ वैशाख २०८२, मङ्गलबार

बुढेसकालमा सिप सिक्दै आमा

blog

रामकृष्ण बोहरा

बागलुङ, वैशाख, १ गते  । चुलोचौकोमा सीमित पश्चिम बागलुङको निसीखोला र ढोरपाटनका महिला ऊनमार्फत आयआर्जनमा जोडिन थालेका छन् । बुढेसकालमा यहाँका आमाहरू सिप सिकेर आयआर्जनसँग जोडिने प्रयासमा रहेका छन् । 

परम्परागत रूपमा भेडाको ऊनबाट बनेका कपडाको माग बढ्न थालेपछि निसीखोला र ढोरपाटनका महिला तयारी सामग्री बनाउन सिक्न थालेका छन् । बिवाइसी बागलुङले निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सञ्चालन गरिरहेको दिगो पर्यटन परियोजनामार्फत तालिमको व्यवस्था गरेपछि निसी र ढोरका महिला ऊनको धागो कात्ने, सफा गर्ने, कोर्नेदेखि कपडा तयार गर्नेसम्मका सिप सिक्न तल्लिन रहेको परियोजना संयोजक अमर थापाले जानकारी दिनुभयो । संयोजक थापाले भन्नुभयो, “भेडाको मासु स्थानीयस्तरमा खपत हुन्छ, ऊनको स्थानीय र विदेशी बजारमा समेत निर्यात गर्ने गरी उत्पादनमा प्रेरित गर्दैछौँ ।” ढोरपाटन, तमानखोला र निसीखोलाका अधिकांश किसान व्यावसायिक भेडापालनमा आबद्ध छन् ।

भेडाबाट प्रत्येक वर्ष उत्पादन हुने ऊनको प्रयोगमार्फत महिलालाई आयआर्जनसँग जोड्ने गरी सिपमूलक तालिम सञ्चालन गरिएको थापाको भनाइ छ । महिलालाई तालिमका लागि प्रशिक्षक, आवश्यक उपकरण, ऊन र खाजा÷खानाको व्यवस्था परियोजनाले मिलाएको छ । तालिमपछि तयार हुने सामग्रीको बजारीकरणमा महिलाले समूह बनाएर काम गर्ने योजना समेत बनाएका छन् । रुकुमको टकसेराबाट आएका महिला प्रशिक्षकले निसीखोलाको पुतली बजार र ढोरपाटन सुपुर्दुङका २६ जनालाई ऊन निकाल्नेदेखि कपडा तयार गर्नेसम्मको काम सिकाइरहेका छन् । भेडाको ऊनबाट काम्लो, बक्खु, घुमलगायतका सामग्री उत्पादन गर्न सकिने प्रशिक्षक रमी बुढामगर बताउनुहुन्छ । 

ऊनबाट बनेको एउटा कपडाको मूल्य न्यूनतम १५ हजारदेखि बढीमा ६० हजार रुपियाँसम्म बिक्री हुने गरेको उहाँको भनाइ छ । तालिममा सहभागी निसीखोला गाउँपालिका–५, पुतली बजारकी ५७ वर्षीय पुनीकला घर्तीमगरले भन्नुभयो, “सानो छँदा गाउँमा बुढापाकाले ऊनका कपडा बनाउँथे, मेरो बाल्यकाल गाउँमै बनेका ऊनी कपडा लगाएर बिते, बजारका कपडा गाउँ पसेपछि ऊनका कपडा देखिनै छाडे । आजभोलि बजारतिर ऊनका कपडाको खोजी हुन थालेपछि बुढेसकालमा पनि ऊनका कपडा बनाउन सिकिरहेको छु ।” महिलाहरू समूहमा आबद्ध भएर भेडाको ऊनबाट तयारी सामग्री बनाउने काम सिक्न थालेको निसीखोलाकी मुना घर्तीमगरले बताउनुभयो । तमानखोला गाउँपालिकाले ऊनका कपडा बनाउनका लागि किसानलाई आधुनिक प्रविधिसँग जोड्ने योजना बनाइरहेको छ । तमानखोलाका अधिकांश भेडापालक किसानलाई आधुनिक उपकरणसहित सिप सिकाउने योजनामा पालिकाले गृहकार्य गरिरहेको तमानखोलाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो ।