• २ वैशाख २०८२, मङ्गलबार

नयाँ वर्षको शुभकामना सन्देश

राष्ट्रको समृद्धिमा जुट्न राष्ट्रपतिको अनुरोध

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख, १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न अनुरोध गर्नुभएको छ । नयाँ वर्षको उपलक्ष्यमा आइतबार शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले राष्ट्रको समृद्धिका लागि साझा सङ्कल्प लिएर अघि बढ्न सम्बद्ध सबैलाई अपिल गर्नुभयो । 

स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न जरुरी रहेको बताउँदै राष्ट्रपति पौडेलले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “दिनहुँ बिदेसिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न व्यावसायिक वातावरणमा सुधार एवं रोजगारीका अवसर सिर्जना गर्न अब ढिला गर्नु हुँदैन भन्ने पनि म ठान्दछु ।” 

श्रमको सम्मान गर्ने संस्कृतिसहित गाउँमै रोजगारी र आम्दानी सिर्जना गरेर प्रतिज्ञा गर्नुपर्ने पनि राष्ट्रपति पौडेलले बताउनुभयो । शुभकामना सन्देशमा भनिएको छ, “कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो । 

आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसर सिर्जना गर्दै कृषि, पर्यटन र जलस्रोतको विकासद्वारा समृद्ध राष्ट्र निर्माण गर्ने सङ्कल्प गरौँ ।”

यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, परस्पर मैत्रीभावको सञ्चार, आपसी वैरभाव त्यागेर भ्रातृत्वभाव र स्वस्थकर जीवनशैलीका लागि नवसङ्कल्प लिने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ । 

नयाँ वर्ष नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक एवं नैतिक मूल्यहरूलाई थप सुदृढ बनाउने अवसर भएको बताउँदै उपराष्ट्रपति यादवले सांस्कृतिक विविधता तथा धार्मिक सहिष्णुता थप बलियो बनाउँदै देश र समाजमा एकता, सद्भाव, मेलमिलाप, भाइचारा, सहिष्णुता र सामाजिक समरसता कायम गर्न सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, “नैतिकता, इमानदारी र परिश्रमका साथ देशको समृद्धि र विकासमा अग्रसर हुन सबैलाई नव वर्षले थप हौसला प्रदान गरोस् ।” 

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । 

आजबाट सुरु भएको नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।

देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा सङ्कल्पलाई साकार पार्न सरकार एक्लैले मेहनत गरेर नपुग्ने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री 

ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र सफलता पाउन सकिने उल्लेख गर्नुभएको छ ।

 नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छाैं । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु, प्रधानमन्त्रीले भन्नुभएको छ ।