• ३१ चैत २०८१, आइतबार

गाजा युद्धविरामका लागि हमासको टोली शनिबार इजिप्ट जाँदै

blog

काहिरो,चैत ३० गते । हमासका एक अधिकारीका अनुसार गाजामा युद्ध रोक्नका लागि छलफल गर्न हमासको एक प्रतिनिधिमण्डल शनिबार इजिप्टको राजधानी काहिरो जाँदै छ । यो वार्ता इजिप्टका मध्यस्थकर्तासँग हुने छ ।

अधिकारीले भन्नुभयो, “हामी आशा गर्छौं कि यो बैठकले युद्ध अन्त्य गर्न, आक्रमण रोक्न र गाजाबाट इजरायली सेना पूर्णरूपमा फिर्ता गर्न सहमति हासिल गर्ने दिशामा प्रगति ल्याउने छ ।” उहाँ सार्वजनिक रूपमा बोल्न अधिकार प्राप्त नभएकाले नाम नखुलाउने सर्तमा जानकारी दिनुभयो । प्रतिनिधिमण्डलको नेतृत्व हमासका प्रमुख वार्ताकार खालिल अल-हैयाले गर्ने जानकारी दिइएको छ ।

उहाँका अनुसार हालसम्म हमासले कुनै नयाँ औपचारिक युद्धविराम प्रस्ताव प्राप्त गरेको छैन, यद्यपि इजरायली सञ्चारमाध्यमहरूले इजरायल र इजिप्टबीच प्रस्ताव आदानप्रदान भएको दाबी गरेका छन् । यद्यपि, अधिकारीले इजिप्टका मध्यस्थकर्तासँग नियमित सम्पर्क र छलफल जारी रहेको बताउनुभयो । साथै, उहाँले इजरायलले गाजामा सैन्य आक्रमण अझै पनि जारी राखेको आरोप पनि लगाएका छन् । रासस/एएफपी