काबुल, चैत ३० गते । अमेरिकाले अफगानिस्तानका लागि दिएको खाद्य सहायता कटौती गरेपछि यहाँका लाखौं मानिस भोकमरीको गम्भीर जोखिममा परेका छन् । संयुक्त राष्ट्र अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अनुसार अहिले उनीहरूसँग सीमित स्रोत मात्र बाँकी छ, जसले गर्दा सबैलाई आवश्यक सहायता दिन असम्भव भएको छ ।
डब्लुएफपीका अनुसार अफगानिस्तानमा करिब ४५ लाख मानिसलाई खाद्य सहायता आवश्यक छ । तीमध्ये ३१ लाख मानिस अकालको मुखमा छन् । अहिलेको अवस्थाअनुसार, वर्षभरि जम्मा आठ लाख मानिसलाई आधा परिमाणमा मात्र खाद्य सहायता दिन सकिने छ । डब्लुएफपी अफगानिस्तानका प्रमुख मुइन्टा चिमुकाले भन्नुभयो,“हामीसँग निकै थोरै स्रोत छ । अझै सहयोग प्राप्त भएन भने, हामीले केही समुदायलाई भन्नु पर्छ कि हामी तपाईंहरूलाई सहयोग गर्न सक्दैनौं । त्यसपछि उनीहरू कसरी बाँच्ने?”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेपछि सबै विदेशी सहायता तीन महिनाका लागि रोक्ने निर्णय गर्नुभयो । आपतकालीन सहायता छुट हुने भनिए पनि अफगानिस्तानसहित १४ देशका लागि सहायता कटौती गरिएको छ । केही देशको सहायता पछि पुनः बहाल गरिएको भए पनि अफगानिस्तानमा कटौती यथावत् छ ।
संयुक्त राष्ट्रका अनुसार अफगानिस्तानमा बेरोजगारी, गरिबी र अन्य देशबाट फिर्ता आएका मानिसहरूका कारण स्थिति झन् जटिल हुँदै गएको छ । खाद्यान्नको अभाव, कृषि क्षेत्रमा समस्या र पोषणको कमिले लाखौं जनताको जीवन सङ्कटमा परेको छ । संयुक्त राष्ट्रले सबै दाताहरूसँग अपील गर्दै भनेको छ, “यदि हामीले तुरुन्त सहयोग जुटाउन सकेनौँ भने, अफगान जनतालाई भोक र पीडाबाट जोगाउन गाह्रो पर्छ । दीर्घकालीन समाधानका लागि अहिले नै कदम चाल्न जरुरी छ ।” रासस/एएफपी