संयुक्त राष्ट्रसङ्घ, चैत ३० गते । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआरसी) मा द्वन्द्वका कारण बालबालिकामाथि यौन हिंसाका घटनाहरू डरलाग्दो रूपमा बढिरहेको जनाएको छ ।
सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा भएको तीव्र द्वन्द्वको समयमा, औसतमा हरेक ३० मिनेटमा एक बालबालिका यौन हिंसाको शिकार भएको रिपोर्ट गरिएको युनिसेफले जनाएको छ । उक्त अवधिमा झण्डै १० हजार यौन हिंसासम्बन्धी घटनाहरू सङ्कलन गरिएका छन्, जसमा ३५ देखि ४५ प्रतिशत पीडितहरू बालबालिका रहेको युनिसेफका प्रवक्ता जेम्स एल्डरले जानकारी दिनुभयो ।
एल्डरले भन्नुभयो,“हामी छुट्टाछुट्टै घटनाको कुरा गरिरहेका छैनौँ । यो त गम्भीर मानवअधिकार सङ्कट हो । कतिपय पीडितहरू निकै साना बालबालिका हुन् । यौन हिंसालाई युद्धको हतियार र त्रास सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गरिएको देखिन्छ । यसले परिवार र समुदायमा गहिरो असर पारिरहेको छ ।” उहाँले अझै धेरै घटनाहरू डर, लाज वा असुरक्षाका कारण रिपोर्ट नभएको हुन सक्ने भन्दै अहिले उपलब्ध तथ्याङ्क ‘बरफको शिर मात्र’ हुनसक्ने चेतावनीसमेत दिनुभयो ।
युनिसेफले अन्तर्राष्ट्रिय समुदायलाई बालबालिकाको सुरक्षा र न्यायका लागि तत्काल तथा समन्वित प्रयास गर्न आग्रह गरेको छ । एल्डरले थप्नुभयो,“हामीलाई रोकथामका लागि थप प्रयास, पीडितमैत्री सेवा र उजुरी गर्न सकिने सुरक्षित तथा विश्वसनीय माध्यमहरू आवश्यक छन् । पीडितहरूले महसुस गर्नुपर्छ कि विश्व उनीहरूका पक्षमा उभिएको छ । साथै, अपराध गर्ने व्यक्तिहरूले कानुनी जिम्मेवारी बहन गर्नैपर्छ ।” रासस/सिन्ह्वा