• ३१ चैत २०८१, आइतबार

श्रापित भूमि (कथा)

blog

एउटा सानो गल्तीको यति भयङ्कर परिणाम आउँदो रहेछ, अहिले उमालाई बारम्बार लागिरहन्छ । त्यो दिन समाजमा उभिएर मनमा लागेको कुरा निर्धक्क भन्न सकेको भए पनि आज यस्ता खराब दिनहरूको सामना गर्नु पर्दैनथ्यो कि ! उमा सोच्छिन् । समय आफ्नो गतिमा बगेर गइसक्यो । समयले आफूसँगै धेरै कुरा लिएर गएको छ । अब त्यो समय फर्काउन सकिँदैन । त्यो समय अब सम्झनामा मात्र सीमित भएको छ । 

विषवृक्ष रोपेर अमृतफलको आशा गर्न कहाँ सकिन्छ र ! उमाको जीवनमा नसोचेको प्रलय आएको छ । जीवन यसरी पनि ओरालो हिँड्ला भन्ने उनले सोचेकै थिइनन् तर भइदियो त्यस्तै । उमा मात्र होइन, आज आफ्नो गाउँ परस्पुर नै एउटा अभिशाप बोकेर बाँचिरहे जस्तो उमालाई लाग्छ । एउटै जीवनको सानो कालखण्डमै एउटा गाउँ यसरी पनि उजाड बन्दो रहेछ कहिलेकाहीँ, उमालाई पत्याउनै गाह्रो हुन्छ । उमालाई कहिलेकाहीँ यस्तो पनि लाग्न थालेको छ कि यो श्रापित भूमि हो । देख्दा गाउँ दुरुस्त छ । केही आधुनिक किसिमका कङ्व्रिmट घरहरू छन् तर ती आत्मा मरिसकेको शरीर जस्ता छन् । प्रायः घरमा परिवार छैनन् । कुनै कुनै घरमा त उमा जस्तै उमेर पाकेका महिला मात्र बाँकी छन् ।

भएको एउटा नाति पनि पोहोर साल बितेपछि उमाको परिवार सकिएको छ । वंश नै नरहेपछि उनको जीवन अन्धकार भएको छ । बेला बेला विगत सम्झेर रुनुसिवाय उनीसँग कुनै उपाय बाँकी छैन । मनका घाउलाई तिनै आँसुले बेला बेला धुने गर्छिन् उमा । 

छोरो बितेपछि बुहारी सीमा अन्तै हिँडिन् । छोरा गुमाएपछि बुहारी सीमा विक्षिप्तताको सिकार भएकी थिइन् । न होस थियो, न सुद्धि ! बेला बेला लोग्ने र छोरो सम्झिएर बर्बराउँथिन् मात्र तर एक दिन त्यस घरमा आफ्नो बाँकी भविष्य नदेखेपछि उमा अर्कैसँग हिँडिन् । कहिलेकाहीँ उमालाई लाग्छ, बुहारी हिँडी ठिकै गरी । उसको बाँकी जीवन त सुरक्षित हुन सक्छ । 

उमाको घर छ, परिवार छैनन् । जीवन छ, जीवनसाथी छैनन् । सम्पत्ति छ, उत्तराधिकारी छैनन् । आफ्ना भन्ने नै नरहेपछि आफन्तको पनि के भरोसा ! ती त केवल सिकार ढुकेर बस्ने व्याधा जस्ता लाग्छन् उमालाई । 

आशा, भरोसा र भविष्य सकिएपछि जीवन समाप्त भएसरह हुँदो रहेछ । जिजीविषा नै मरेपछि जीवन रहनुको के अर्थ ! दैव यति निष्ठुरी पनि हुन सक्छ, उनलाई कहिल्यै लागेको थिएन । लोग्नेले पनि छाडे । छोरा मनिराम पनि ४० बर्सै नपुगी भगवान्का प्यारा भए । नातिले त झन् विवाहयोग्य उमेरसमेत पार गर्न पाएन । उमालाई कहिलेकाहीँ चलचित्रको कथा जस्तो लाग्छ आफ्नो जीवन ।

लगातार एकपछि अर्को गर्दै भएका यस्ता मृत्यु शृङ्खला बेहोर्न उमा बाध्य भइन् । यो कुन जुनीको पाप थियो वा कुन कर्मको फल थियो, उनलाई थाहा छैन ।   

उनलाई सबैभन्दा बढी पीडा एक मात्र नाति बुद्धिरामलाई गुमाउँदा भएको थियो । त्यो घाउको अझै राम्रोसँग खाटा बस्न पनि पाएको छैन । लोग्ने र छोराको मृत्यु भए पनि त्यही नातिको मुख हेरेर उनी बाँचेकी थिइन् तर अब त्यो पनि रहेन । यसै पनि सन्तान गुमाउँदाको पीडा कति हुन्छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । त्यो पनि एक मात्र उत्तराधिकारी । 

एकपछि अर्को पारिवारिक वियोगमा उनी केही समय त विक्षिप्त जस्तै बनिन् । बहुलाई भनेर कतिले सम्पत्तिमाथि कुदृष्टि राख्नसमेत भ्याए । तिनमा केही त आफन्त भनिएका पनि थिए तर समयले उनका घाउमा खाटा पार्दै ल्यायो । उनी तङ्ग्रिइन् । बिचमा कहिलेकाहीँ उनलाई आत्महत्याको विचार नआएको पनि होइन तर ‘भगवान्को इच्छा’ ठानेर उनले त्यसो गर्न पनि सकिनन् । “के गर्नु आफैँ मरिहाल्न सकिँदो रहेनछ । मर्न चाहे पनि काल नआएपछि मर्न पाइँदो रहेनछ । कालले जसलाई चाह्यो उसलाई मात्र लाँदो रहेछ,” उमा बेला बेला फुस्फुसाउँछिन् । मुटुमा जतिसुकै पीडा भए पनि उनी फेरि तङ्ग्रिन बाध्य थिइन् । किनकि उनलाई अझै जीवन भोग्नु थियो । सायद दैवको बहीखातामा उनले भुक्तान गर्नुपर्ने कष्ट अझै बाँकी नै थियो । हिजोआज उमालाई भविष्यभन्दा वर्तमान र वर्तमानभन्दा विगत प्यारो लाग्न थालेको छ । उनी पिँढीमा बसेर आफ्ना पुराना दिन सम्झिरहन्छिन् । त्यही विगतका स्मृतिमै उमा बाँचेकी छन् भन्दा फरक पर्दैन ।

उमाको एउटा सुखी परिवार थियो । धनीरामले पहाडबाट झरेपछि पहिलो खाँबो नै परस्पुरमा गाडेका थिए । सुरुमा केही दुःख भए पनि पछि लोग्ने धनीरामले राम्रै सम्पत्ति जोडेका थिए । टन्न खेतीपाती । गोठभरि बस्तुभाउ । आफूले नभ्याएर घरमा कमैयासमेत राखिदिएका थिए धनीरामले ।

उमा मक्ख पर्थिन् आफ्नो भाग्य सम्झेर । खेती अधियाँ बटैयामा चलेको थियो । बर्खामा पनि आफूले हिलो टेक्नु पर्दैनथ्यो उमालाई । एक छोरा, एक बुहारी । पछि नाति पनि जन्मियो । परिवारमा नयाँ सदस्य थपिँदा कति खुसी हुन्छ, उमाले महसुस गरेकी थिइन् । सानो र सुखी परिवार थियो उनको । धनीरामले घरको सबै परिपञ्च मिलाएका थिए । गाउँमा पहिलो पक्की घर उनैले बनाएका थिए । 

“घर त निकै खर्च गरेर बनायौ त धनीराम,” गाउँलेहरू सोध्थे, “कति खर्च लाग्यो ?”धनीराम जुँगामा ताउ लगाउँदै जवाफ दिन्थे, “त्यस्तै १० लाख जति भेट्यो होला ।” गाउँलेहरू जिब्रो काड्थे । त्यो समयको १० लाख सानो रकम थिएन तर त्यो सानसौकत धुलिसात हुन कुनै बेर लागेन । हेर्दाहेर्दै परिवार सकिए । सम्पत्ति घट्दै गयो । करिब दुई दशककै बिचमा उनको घर र परिवार उजाडियो । यसो हुनुको एउटै प्रमुख कारण छ भन्ने उमालाई लाग्छ ।

विगत उमाको मस्तिष्कमा फनफनी नाच्न थाल्छ । गाउँमा एक दिन गाइँगुइँ चल्यो, “अन्य गाउँमा जस्तै परस्पुरमा पनि अब ठेक्का खुल्ने रे ! गाउँको एक छेउमा ठेक्का खोल्नका लागि ठेकेदारले अनुमति पनि पाइसकेको छ रे !”

केको ठेक्का ? कस्तो ठेक्का ? धेरै गाउँले अनभिज्ञ थिए । यो हल्ला एक दिन साँचो निस्क्यो । ठेकेदारले गाउँकै पुछारमा एउटा झुप्रो बनायो, जुन धनीरामको घरको छेउमै पथ्र्योे । झुप्रो बनेलगत्तै त्यहाँ गोरुगाडाहरूमा ड्रमका ड्रम रक्सी आउन थाल्यो । ठेकेदार त्यो रक्सीलाई बोतलमा भरेर बेच्न थाल्यो । मानिसहरू सुरुमा कौतूहल मानेर हेर्न झुम्मिए । पछि उपभोक्ता बनेर त्यहाँ देखिन थाले ।  

घरछेउमै रक्सी भट्टी खुल्ने कुरा सुनेपछि उमाले धनीरामसँग गुनासो नगरेकी होइनन् । “हैन बुढा, घरनजिकै भट्टी खुल्दा त्यसले गाउँघरमा अशान्ति मच्चाउँछ । जँड्याहाले रातभरि चैनसँग सुत्न पनि दिँदैनन् । यसलाई रोक्ने उपाय गर्नु प¥यो ।” तर धनीरामले यो कुरालाई महìव दिएनन् । बरु उनले उल्टै श्रीमतीलाई लोभ देखाए । “भट्टीले गर्दा गाउँमा मानिसको आवतजावत बढ्छ, घरछेउमै भएकाले त्यसको फाइदा हामीले पनि लिन सकिन्छ । यहाँ एउटा पसल खोलेर त्यसबाट अब मनग्गे मुनाफा लिनु पर्छ,” धनीरामले भनेका थिए । धनीरामको दिमागमा सायद षड्यन्त्र जन्मिएको थियो ।

उनले कतिपय गाउँमा देखेका थिए । आफैँ रक्सीको उपयोग नगरे पनि रक्सीको दुरुपयोग गर्दै कतिपयले यसलाई थारू ठग्ने माध्यम बनाएका थिए । एक बोतल रक्सीका भरमा थारूका राम्रा राम्रा जग्गामा उनीहरूले कब्जा जमाउँथे ।

भट्टी खुलेको केही समयमा धनीरामले पनि घरमा एउटा सानो खिच्रीमिच्रीको पसल खोले । पसलमार्फत थारूका अन्नबाली र जग्गा कब्जा गर्ने व्रmम सुरु भयो । उनले थारूका अघिकांश गतिला घरजग्गा र सम्पत्ति यसरी नै जोडेका थिए ।

तिनताका गाउँघरमा दुई वटा कुराको होडबाजी जस्तै थियो । एक, गाउँघरमा झुप्रा बनाएर स्कुल खोल्ने र अर्को, त्यस्तै झुप्रा बनाएर भट्टी खोल्ने । 

कतिपय गाउँमा यस्ता ठेक्का खुल्दा विरोध पनि हुन्थ्यो । फलतः त्यस्ता ठेक्का अन्यत्रका गाउँमा सारिन्थे । परस्पुरको छिमेकी गाउँ राधापुरमा ठेक्का खोल्न खोज्दा गाउँलेले तीव्र विरोध जनाएका थिए । गाउँका अगुवा शशिकान्तले जिल्ला पञ्चायतमै यस कुराको विरोध पु¥याएका थिए । “भट्टी खोलेर गाउँ भाँड्न पाइँदैन,” उनले भनेका थिए, “बरु यहाँ एउटा स्कुल खोलियोस् । त्यसका लागि के सहयोग गर्नुपर्छ हामी तयार छौँ ।” उनले स्कुलका लागि आफ्नो केही निजी जग्गासमेत दिने वचन दिएका थिए । उनकै पहलमा राधापुरमा एउटा प्राइमरी स्कुल सञ्चालनमा आउन सकेको थियो ।

पछि राधापुर राख्ने भनिएको त्यही भट्टी परस्पुरतिर सारिएको थियो तर परस्पुरमा कसैले यसको विरोध गरेन । बरु धनीराम जस्ता गाउँले झनै खुसी देखिए । 

सरकारले गाउँघरमै पाइने महुवाको फूललाई उपयोग गरेर गाउँघरकै प्रविधिमा बनाइने रक्सी उत्पादन गर्ने र बिव्रmीवितरण गर्ने उद्देश्यका साथ यस्ता ठेक्का सञ्चालन गरेको थियो, जसलाई गाउँले भाषामा भट्टी भनिन्थ्यो ।

भट्टी खुलेपछि केही समय त परस्पुर गुल्जार जस्तै बन्यो । मानिसको आवतजावत बढ्यो । गाउँले व्यापार पनि फस्टायो । धनीरामले पनि भट्टीकै आडमा टन्न सम्पत्ति कमाए । प्रशस्त सम्पत्ति भएपछि उनी त्यसको फुर्मास गर्न थाले । उनी पनि बिस्तारै रक्सीका अम्मली बन्न थाले । 

सोझा थारूहरूलाई लिएर कहिलेकाहीँ उनी आफैँ पनि भट्टीमा पस्न थाले ।   यसको असर प्रत्यक्ष रूपमा परिवारमा पनि देखिन थाल्यो । उनी त बिग्रे बिग्रे । छोरो मनिरामका लागि त्यो एउटा खराब सिकाइ भयो । उसका लागि बाबुको धन ‘उल्फाको धन फुपूको श्राद्ध’ जस्तै थियो । उसको त्यसमा कुनै मेहनत परेको थिएन । उसलाई खर्च मात्र गर्न आउँथ्यो । उसले मेहनत गरेर कहिल्यै कमाउन सिकेन । 

हुँदाहुँदै दुवै बाबुछोरा त्यो भट्टीका नियमित ग्राहक बने । बाबु थारूका अघिल्ला पुस्तालाई लिएर त्यो भट्टीमा पस्थे भने छोरो त्यसपछिका पुस्तालाई लिएर छिथ्र्यो । 

उमालाई यी सबै कुरामा बेलैमा आफूले सरोकार राख्न नसकेकोमा पश्चात्ताप लाग्यो । लोग्नेले जोडेको सम्पत्तिमा कता कता नजानिँदो गरी आफूमा पनि सम्पन्नताको नसा चढेको उनलाई हिजोआज लाग्न थालेको थियो । लोग्ने र छोराका बारेमा समयमै ध्यान दिने फुर्सद उनलाई भएन । 

तर जब लोग्नेलाई एकाएक क्यान्सर लाग्यो तब मात्र उमा झस्किइन् । धनीरामको उपचारका लागि उनी चितवन, काठमाडौँ र भारतको लखनउसम्म पुगिन् । उपचारका लागि आफ्ना गरगहना र केही जग्गासमेत बेचिन् तर धनीराम निको भएनन् । रोग पत्ता लागेको तीन महिना पनि नपुगी धनीराम बिते । 

पति वियोगपछि उमालाई बल्ल पतिको महìव बोध हुन थाल्यो । सन्तान र सम्पत्तिको रक्षा गर्नु उनको एकल दायित्व बन्न आयो । पिताको मृत्युपछि छोरो झन् फुक्काफाल भयो । श्रम नगरे पनि पिता कुनै जुक्ति लगाएर सम्पत्ति त आर्जन गर्थे तर पुत्र मनिराममा त्यो कला पनि थिएन । पढ्ने नाममा उसले एसएलसी परीक्षासमेत दिनु आवश्यक ठानेन । सीपका नाममा कुनै काम उसले जानेको थिएन । पैसाका बलमा फुर्ती लगाउन मात्र उसलाई आउँथ्यो ।“पढेर पनि आखिर जागिर खाने र पैसै कमाउने त हो नि !” ऊ भन्थ्यो, “हाम्रो तीन पुस्तालाई पुग्ने सम्पत्ति छँदै छ, मैले केका लागि दुःख गर्नुपर्‍याे !” 

बरु साथीभाइ बटुलेर खानपिन गर्न, रङ्ग रमाइलो गर्न र युवती आकर्षणमा उसले आफूलाई समर्पित गरेको थियो । 

एक दिन रक्सीले लट्ठ भएर बेलुकी बिस्तारामा सुतेको ऊ त्यसपछि कहिल्यै उठेन । उमा रोइन्, कराइन्, बिलौना गरिन् तर उनको बिलौनाले मरेको छोरो फिर्ता हुने कुरा थिएन ।

अब वंशको दियो जगाउने एउटा नाति बुद्धिराम मात्र रह्यो । नातिकै अनुहारमा उनले लोग्ने र छोरोको मुहार हेर्न थालिन् । सबै पीडा भुल्दै उमाले नातिलाई हुर्काइन्, बढाइन् । बाबु बित्दा ऊ मात्र १२ वर्षको थियो । उमाले उसलाई गाउँकै बोर्डिङ स्कुलमा पढाइन् । एसइई उत्तीर्णपछि ऊ सहरमा होस्टेलमा बसेर पढ्दै थियो । बुद्धिराम होस्टेल बस्न थालेको दोस्रो वर्षको एक दिन बुद्धिरामले होस्टेलमै आत्महत्या गरेको खबर आयो । एकाएकको यस्तो खबरले उमा बेहोस भइन् । बुझ्दै जाँदा बुद्धिराम लागुऔषध दुव्र्यसनीमा फसेको पत्तो लाग्यो । 

सहर पस्नुपूर्व नै गाउँमा ऊ लुकी लुकी यस्तो सङ्गतमा परिसकेको रहेछ । उमा यहाँ पनि चुकिन् । सहर गएपछि ऊ झन् फुक्काफाल भएको थियो । उसलाई सम्झाइबुझाइ गर्ने पनि कोही भएन । 

नियमित लागुऔषध प्रयोग गर्न नपाएकाले उसले आत्महत्या गरेको पुष्टि भयो । सम्झिँदा सम्झिँदै उमाका गालाबाट आँसु बग्न थाले । उनका आँखामा विगतका श्यामश्वेत तस्बिर नाच्न थाले । 

उनले एक झलक छिमेकी गाउँ राधापुर सम्झिन् । शशिकान्तको परिवार सम्झिन् । जहाँ शतक पार गरेका वयोवृद्ध शशिकान्त अझै त्यो घरको  शोभा बनेका छन् । छोरा रमाकान्त जो भर्खरै मात्र शिक्षक सेवाबाट निवृत्त भएका छन् । झट्ट हेर्दा रमाकान्त अहिले पनि युवा नै देखिन्छन् । उनी अहिले कृषिकर्म गरेर रमाइरहेका छन् । 

रमाकान्तको छोरा एउटा सरकारी कार्यालयको हाकिम छ । ऊ नेपाल सरकारको सचिव हुने लाइनमा छ रे भन्ने पनि उमाले सुनेकी छन् । बेला बेला गाडी लिएर ऊ आफ्नो परिवार भेट्न गाउँ आएको उनी देख्छिन् ।

राधापुरका युवा कोही निजामती सेवामा छन्, कोही शिक्षक छन् । कोही ठुला पण्डित छन् । उनीहरूले नाम र दाम दुवै कमाएका छन् । उनीहरूको टाढा टाढासम्म चर्चा हुन्छ । कोही सहरहरूमा सान र मानका साथ बसेका छन् । 

यति बेला उमाको परिवार मात्र होइन, परस्पुर गाउँ नै एक किसिमले भन्ने हो भने उजाडिएको छ । यहाँ बसाइँ आएको चार पुस्तामध्ये पहिलो पुस्ता उमेर र अवस्थाका कारण अब रहेन । दोस्रो र तेस्रो पुस्ता रक्सी खाएरै आर्थिक र भौतिक रूपमा सकियो । चौथो पुस्ता पनि अहिले लागुऔधष दुव्र्यसनीको सिकार भएको छ । उमा कहिलेकाहीँ आफ्नो गाउँबारे अरूको मुखबाट सुन्छिन्– लागुऔषधको प्रयोग मात्र होइन, कारोबारसमेत गोप्य रूपमा यही गाउँमा हुने गरेको छ रे ! सम्झिँदा पनि उनको आङ सिरिङ्ग हुन्छ । 

हिजोआज उमालाई लाग्छ, त्यो दिन समाजमा उभिएर भट्टी खोल्ने कुराको विरोध गर्न सकेको भए आज यो दिन भोग्नु पर्दैनथ्यो कि ! एउटै खराब निर्णयले आफू र आफ्नो समाज बर्बाद भएको उमा टुलुटुलु हेरिरहन बाध्य छिन् ।