ऐतिहासिक तथा सांस्कृतिक सहर दोलखामा थामी र नेवार जातिले संयुक्त रूपमा मनाइने जात्रा छ, जसलाई ‘हिपाथामी’ भनिन्छ । दोलखाको भीमसेन मन्दिरमा थामी र नेवार समुदायले संयुक्त रूपमा ‘हिपाथामी जात्रा’ मनाउँछन् ।
किंवदन्ती अनुसार दानवलाई देवताले परास्त गरेपछि लोकलाई कल्याण भएको विश्वासस्वरूप प्राचीनकालदेखि दोलखामा यो जात्रा मनाइँदै आएको छ । यस जात्रालाई नेवार र थामी समुदायको परम्परागत सांस्कृतिक सम्बन्धका रूपमा हेरिन्छ । विजयादशमीको बिहान टीका ग्रहण गर्नुअघि प्रारम्भ हुने यस जात्रामा विशेष गरी थामी समुदायका नाइके अगुवाइमा बाजागाजासहित भीमेश्वर मन्दिरमा हिपाथामीद्वारा मन्दिरमा चढाएको बलिको रगत पिएर जात्रालाई रोचक बनाइने गरिन्थ्यो । साहसिक पात्रका रूपमा रहेका हिपाथामीलाई भगवतीद्वारा आफ्नो गणका रूपमा स्वीकार गरिएको धार्मिक मान्यता छ । भीमेश्वर पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठका अनुसार करिब १० वर्षयता हिपाथामी यस जात्रामा आउन छाडेका छन् । उहाँ भन्नुुहुन्छ, “उनीहरूलाई हामीले देवदूतका रूपमा हेरेका छौँ । पछिल्लो समय विभिन्न किसिमको राजनीतीकरण भएर उनीहरू आउन बन्द गरे । बन्द गरेपछि समस्या भयो, झन्डै १० वर्ष जति भइसक्यो ।”
उहाँका अनुसार दोलखा स्वतन्त्र राज्य रहेको अवस्थामा प्राचीनकालदेखि खड्ग जात्रा मनाइने परम्पराको सुरुवात भएको हो । त्यसबेलादेखि दसैँको टीकाको भोलिपल्ट एकादशीका दिनमा खड्ग जात्रा निकालिँदै आएको छ । उहाँ भन्नुहुन्छ, “यो जात्रामा थामीहरू डुमकोटबाट आउनुपर्ने हो । पहिला विभिन्न खण्ड खण्ड राज्य हुँदा खेरी दोलखा पनि एउटा स्वतन्त्र राज्यका रूपमा थियो । यो परम्परा त्योबेलामा नै विकास भएको हो । यसो हेर्दा खेरी, किराँतकालीन जात्रा हो यो ।”
द्वाल्खा गुठीको आजीवन सदस्य तथा लेखक यज्ञकुमार प्रधानको ‘दोलखाको सांस्कृतिक सम्पदा’ पुस्तकमा हिपाथामीका बारेमा चर्चा गरिएको छ । ‘दोलखाको सांस्कृतिक सम्पदा’ पुस्तकमा हिपाथामी सम्बन्धमा लेखिएको छ–
श्री त्रिपुरासुन्दरी–मन्दिरमा स्थापित भैरवमा राँगोको बलिपूजा हुन्छ । सो बलिपूजा दिँदाको रगत दुई जना थामीले पिउने गर्दछन् । त्यहाँ रगत पिइसकेपछि यस राजकुलेश्वर–मन्दिरमा अगाडि आई उभिन्छन् । यसरी रगत पिउनुलाई दानवको रगत पिएको मानिन्छ । यहाँ ती थामीहरूलाई टाउकोमा तेल लगाई, पगरी बाँधी, टीका लगाई पूजा गरी बलेको बत्ती दिइन्छ । बलेको बत्ती मुखमा हाली चक्रवती–मण्डपमा बलिपूजाका लागि बाँधी राखिएको राँगोलाई तीन पटक लौरोले प्रहार गरी तीनधारा राइती (राजहिटी) मा गई स्नान गरी आफ्नो बाटो लाग्दछन् । यसरी हिपाथामीद्वारा राँगोलाई लट्ठीले प्रहार गर्नु भगवतीको जासुस भई राक्षसलाई वध गरेको मानिन्छ । यसपछि राँगो पर्साई चक्रबलिमा बलि दिने गर्दछन् ।
प्रा. अमन श्रेष्ठद्वारा लेखिएको पुस्तक ‘दोलखा परिचय’ मा हिपाथामी जात्राबारे यस्तो लेखिएको छ– ‘विजयादशमीको दिन दोलखाको त्रिपुरासुन्दरी (देवीकोट) मन्दिरमा दुई थामीहरूले राँगाको रगत पिउनुका साथै शरीरमा रगतको दाग लगाइ काम्दै हिँड्ने चलन छ । जसलाई हिपाथामी जात्रा भनिन्छ ।” प्रा. श्रेष्ठका अनुसार ‘हिपाथामी जात्रा’ पुनः सञ्चालनका लागि प्रयास भए पनि सम्भव हुन सकेको छैन ।
थाङ्मी झाँक्री समाज, भीमेश्वर नगरपालिकाका अध्यक्ष एवं धार्मिक गुरु कुमार थामी भीमसेनथानमा बर्सेनि हुँदै आएको हिपाथामी जात्रा रोकिएकोमा खुसी हुनुहुन्न । थामी र नेवार समुदायबिच सामाजिक सम्बन्ध एवं सांस्कृतिक महìव बोकेको यस जात्रालाई निरन्तरता दिनुपर्ने धारणा थामीको छ ।
नेपाल थामी समाजका सल्लाहकार विच्छीकुमार थामीका अनुसार २०७३ सालदेखि हिपाथामी जात्रा मनाउन बन्द भएको हो । जात्रा सम्बन्धमा रोचक किंवदन्ती छ । किंवदन्ती अनुसार– ‘दोलखाका राजालाई राक्षसले आक्रमण गर्न आउँदा थामीहरू दूतका रूपमा बसेको हुनाले राजाको सुरक्षाका लागि उनीहरूले यहाँ आक्रमण गर्न पाउँदैनस् ! नभए, तेरो रगत खान्छौँ भनेका थिए । पछि त्यो राक्षस राँगामा प्रवेश भयो रे ! त्यसैले त्यही राक्षसको वध गर्नका लागि राँगाको रगत खाएको हो ।’
उहाँका अनुसार साबिकको सुन्द्रावती गाविस जसलाई थामी भाषामा मूलकोट भनिन्छ, त्यहाँ एउटा भुमेथान छ । पछि त्यसलाई डुमकोट भनियो । अहिले थामीहरूले जात्राको विधि त्यहीँ गर्ने गरेका छन् । जात्रामा हुने खर्च, सेवा, सुविधालगायत आवश्यक व्यवस्थापन गरेर दुवै समुदायको संयुक्त पहिचान बोकेको यस जात्रालाई निरन्तरता दिन पहल गर्नुपर्ने देखिन्छ ।