• ५ वैशाख २०८२, शुक्रबार

सांस्कृतिक र राजनीतिक रूपमा नेपाल भारतसम्बन्ध महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह नेपाल–भारत मैत्री सङ्घले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, चैत २९ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल भारतसम्बन्ध विशिष्ट प्रकारको रहेको बताउनुभएको छ । नेपाल–भारत मैत्री सङ्घले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाल र भारतसम्बन्ध जनस्तरमै रहेको बताउनुभयो । मैत्री सङ्घले दुई देशबिच जनस्तरमा सम्बन्ध बनाउन र नेपाल भारत सम्बन्ध सुमधुर बनाउन भूमिका खेलेको भन्दै प्रशंसा पनि गर्नुभयो ।

‘‘धार्मिक, सांस्कृतिक पक्षबाट मात्र नभइकन राजनीतिक रूपमा राजनीतिक क्षेत्रबाट पनि सम्बन्ध रहेको कुरा तपाई हामीले सबैले बुझेकै कुरा हो । नेपाल र भारतमा खासगरी बहुसङ्ख्यक जनता हिन्दु छन् । त्यतीमात्र नभइकन गौतम बुद्ध लुम्बिनीमा जन्मनुभयो । पछि ज्ञान प्राप्त भएपछि गयादेखि सारनाथसम्म गएर प्रवचन दिनुभयो । धर्मका आधारमा हेर्ने हो भने पनि नेपाल र भारतमा हिन्दु र बौद्धको उत्तिकै महत्त्व छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले धेरै अगाडिदेखिनै नेपाल भारतबिच विवाहवारी समेत चल्ने गरेको पनि बताउनुभयो ।

धार्मिक, सांस्कृतिक र राजनीतिक रूपमा नेपाल भारतसम्बन्ध महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । विगतमा भारतीय स्वतन्त्रता संग्राम हुँदा भारतका नेताहरू नेपालमा आएको र प्रजातन्त्र प्राप्तिको आन्दोलनका बेला नेपाली नेताहरू भारत प्रवासमा गएको पनि सिंहले स्मरण गर्नुभयो । नेपाल र भारत दुवै देशमा बहुसङ्ख्यक नागरिक हिन्दु धर्मावलम्बी रहेको र नेपालमा जन्मिएका बुद्धले भारतमा प्रवचन दिएको भन्दै उहाँले  हिन्दु र बुद्धिजमको महत्त्व ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । धार्मिक र सांस्कृतिक रूपमा दुई देशबिच गहिरो सम्बन्ध रहेको पनि उपप्रधानमन्त्री सिंहले बताउनुभयो । 

नेपालमा २०११ सालमा स्थापना भएको नेपाल भारतसम्बन्ध जनस्तरमा सुमधुर बनाउन मैत्री सङ्घले लामो समयदेखि भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री सिंहले प्रशंसा पनि गर्नुभयो ।