• ३१ चैत २०८१, आइतबार

पहरो काटेपछि गुड्न थाले मोटर

blog

लालुलैफु–रामारोशन सडकको रास्कोट–पचालझरना सडकखण्ड ग्राभेल गरिँदै । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, चैत २९ गते । कालीकोटको नरहरिनाथ गाउँपालिकाको लालुदेखि पचालझरना र बाजुराको सिमानासम्म जोड्ने लालुलैफु राजमार्ग निर्माणका लागि पहरो काटेर छिचोलेपछि मोटर चल्न थालेका छन् । 

निर्माण व्यवसायीको ढिलासुस्ती र राज्यले पर्याप्त बजेट नदिँदा अछाम, कालीकोट, बाजुरा हुँदै हुम्ला र मुगुका समेत नागरिकका लागि यातायात सहज हुन सकेको थिएन । पछिल्लो समय उक्त राजमार्ग निर्माणले गति लिएसँगै यहाँका नागरिकलाई आवागमनमा सहज भएको छ । भारी बोकेर हिँडेको बाटोमा अहिले मोटर चढेर आउजाउ गर्न पाउँदा स्थानीय हर्षित भएका हुन् ।

कडा पहरोबिचबाट निकालिएको साँघुरो बाटोमा बर्दियाको राजापुरसम्म नुनतेल खेप्न गएको सम्झना ताजै छ । पचालझरना गाउँपालिका–९, कोटिलाका धनबहादुर शाही भन्नुहुन्छ, “हामी मात्र नभएर बाजुरा, हुम्लादेखिका मानिस नुनतेल लिन हिँड्ने बाटो हो । अहिले यो बाटो सडकका रूपमा परिणत भएको छ । यहाँ हामी आफ्नो मोटरसाइकल वा जिप चढेर सरर गाउँसम्मै आउन सक्छौँ । यो सडकमा गाडीको रुट नबनिसकेकाले अहिले आफैँ पहल गरेर गाडी ल्याउनु पर्छ । अब नियमित सार्वजानिक यातायात सञ्चालन गर्ने हो भने हामीलाई निकै राहत हुने थियो ।” 

कालीकोटमा एक पालिकाबाट अर्को पालिका हिँडेर पुग्न एक दिन लाग्ने अवस्था छ । लालुलैफु सडकको रास्कोट–पचालझरना खण्डमा मोटर गुड्न थालेपछि दिनभरको समय एक/डेढ घण्टामै झरेको छ । रास्कोट नगरपालिका–८ का स्थानीय देउमनी धमलाले सानो उमेरमा बर्दियाको राजापुर र कैलाली चिसापानीसम्म नुनतेल लिन जाँदाको स्मरण गर्दै भन्नुभयो, “हाम्रो गाउँमा यसरी मोटर गुड्ला जस्तो लागेकै थिएन । चिसापानीमा गाडी देख्ने बेला पनि हाम्रै पालामा गाउँमा यति राम्रो मोटर बाटो र यातायात सेवा सञ्चालन हुने कुराको कल्पनासमेत गरेका थिएनौँ ।” 

सुर्खेत–जुम्ला सडकखण्डले कालीकोट सदरमुकामबाटै गाडी चढ्ने अवसर दिएको हो । राष्ट्रिय राजमार्गमा हुम्लालाई जोड्ने कर्णाली कोरिडोरले कर्णालीको छाल सान्नीगाडसम्म यातायात सेवा लिने अवसर दिलायो । “अहिले त गाउँमै गाडी गुड्न थालेका हुन् । विगतमा दुर्गम भनेर हेला गरिने गाउँ सुगम भएका छन् । अब हामीलाई थाप्लोमा भारी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ,” धमलाले सुनाउनुभयो । 

द्रुत गतिमा काम हुँदै 

सङ्घ र प्रदेश सरकारको साझेदारीमा लालुलैफु राजमार्गको जम्मा ४५ किलोमिटर खण्डमा सडक निर्माण र नालासहित ग्राभेलको काम भइरहेको छ । जसमध्ये रास्कोट नगरपालिका–५ देखि पचालझरना गाउँपालिका–९, कोटिलासम्मको करिब आठ किलोमिटर कडा चट्टानी भाग केके एनएनएस जेभी सुर्खेतले निर्माणको जिम्मा लिएको छ । पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख हरि शर्मा धितालले २०८० पुसमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको निर्माण कम्पनीले अहिले झन्डै ९० प्रतिशत काम सम्पन्न गरिसकेको बताउनुभयो । बायोइन्जिनियरिङको कामबाहेक अरू सबै काम अबको दुई महिनाभित्र पूरा हुने अवस्था छ । अहिले सुक्खा भएकाले वर्षायाममा बायोइन्जिनियरिङको काम गर्नुपर्ने हुन्छ । 

कार्यालय प्रमुख धितालले भन्नुभयो, “सबै निर्माण व्यवसायीले काममा लापर्बाही गर्दैनन् भन्ने उदाहरण यो पनि हो । ३० महिनामा सक्ने काम १५ महिना नपुग्दै सम्पन्न हुने अवस्थामा पुगेको छ । अहिले उक्त खण्डमा द्रुत गतिमा ग्राभेलको काम भइरहेको छ ।”

सडकको कडा चट्टानी भागमा पाँच मिटरदेखि आठ मिटरसम्मको चौडाइ बनाइएको छ । ग्याबिन र मेसेनरी वाल निर्माण गरी सडक भत्किने सम्भावनालाई पनि सुरक्षित बनाइएको छ । आवश्यक ठाउँमा ह्युमपाइप र नालासहितको सडक भएकाले बिग्रिने सम्भावना पनि कम छ । नालाबिनाका सडक टिकाउ नहुने प्राविधिकको भनाइ छ ।

कुल २८ करोड रुपियाँको बजेटमा निर्माण हुने उक्त सडक २१ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । पूर्वाधार विकास कार्यालय कालीकोटका लेखा प्रमुख लभविक्रम शाहका अनुसार गत वर्ष १४ करोड रुपियाँ खर्च भयो । चालु आवमा पाँच करोड रुपियाँको काम अन्तिम चरणमा रहेको छ । 

निर्माण व्यवसायी मानव बमले लालुलैफु–रामारोशन पर्यटकीय सडकमा मात्र नभई आफूले जिम्मा लिएका सबै आयोजनामा समयमै निर्माण सम्पन्न गर्दै आएको बताउनुभयो । निर्माण व्यवसायी महासङ्घ कर्णाली प्रदेशका महासचिवसमेत रहेका बमले यो सडक बाजुरा हुँदै मुगुको रारातालसम्म जानका लागि पनि सहज हुने भएकाले थप महìव रहेको बताउनुभयो ।