चट्याङ र ज्वालामुखीका कारण हजारौँ वर्षदेखि विश्वभरका वनजङ्गलमा हुँदै आएका प्राकृतिक आगोले पारिस्थितिकीय प्रणालीको महत्वपूर्ण चालकका रूपमा भूमिका खेलेको छ । धेरै जसो आगोका घटना मानिसकै लापर्बाही जस्तै खुला स्थानमा आगो बाल्नु वा चुरोटको ठुटो फ्याँक्नु जस्ता कारणबाट हुन्छन् भने सुक्खा मौसममा बहने तेज हावा र कम आद्र्रताले आगो तीव्र रूपमा फैलन सक्छ । जङ्गलमा लागेको आगोले घर, जनस्वास्थ्य, यातायात, आर्थिक लागत, जलवायु परिवर्तन र वातावरणलाई दूरगामी प्रभाव पार्छ । त्यसैले तिनीहरूको ऐतिहासिक आवृत्ति, तीव्रता र क्षेत्र बुझ्नु जनधनमा पुग्न सक्ने हानिलाई कम गर्न र पूर्ण पारिस्थितिकी व्यवस्थापनका लागि महत्वपूर्ण बन्छ ।
आगलागीको प्रभाव
जङ्गल र सहरी वा बस्ती क्षेत्रको सिमानामा वनजङ्गलको आगलागीको असर गम्भीर हुन्छ । आगोले धेरै घर क्षति गर्नुका साथै जनधनको व्यापक नोक्सानी हुन सक्छ । जङ्गलको आगोको धुवाँले विशेष गरी १० माइक्रोमिटरभन्दा सानो कणका कारण वायुप्रदूषण हुनाले मानव स्वास्थ्यमा असर पार्छ । आगोको धुवाँले दृश्यता घटाउनाले हवाई र अन्य यातायातमा अवरोध उत्पन्न हुन्छ । एकातिर आगो नियन्त्रण गर्न र अर्कोतिर यसबाट स्रोतमा पुगेको क्षतिका कारण खर्च बढ्छ । आगलागीबाट ठुलो मात्रामा निस्कने हानिकारक ग्यास (जस्तै
कार्बन डाइअक्साइड, कार्बनमोनोअक्साइड, मिथेन, नाइट्रस अक्साइड र ओजोन) वायुमण्डलमा निस्केर विश्वको जलवायु परिवर्तन र अम्ल वर्षामा योगदान पुर्याउँछ ।
आगोले प्राकृतिक इकोसिस्टमको कार्यलाई धेरै तरिकाबाट महत्वपूर्ण असर गर्छ । यसले समय र ठाउँ अनुसार परिवर्तन हुने वनस्पति समुदायको प्राकृतिक विकासलाई नियमन गरेको हुन्छ । आगोले वनजङ्गलको इन्धनको सञ्चयलाई घटाउँदै यसबाट हुन सक्ने अधिक तीव्रताको आगो नियन्त्रण गर्न सक्छ । यसबाहेक आगोले वनस्पतिको उमेर, संरचना र प्रजातिलाई नियन्त्रण गर्दै वनस्पति जीवनको विविधताको दायरालाई बढावा दिन सक्छ । आगोले खाद्य चक्र र इकोसिस्टमभित्रको ऊर्जा प्रवाहलाई प्रभाव पार्दै वातावरणको समग्र स्वास्थ्यमा योगदान पुर्याउँछ । यसले जैविक उत्पादकता, विविधता र स्थिरतालाई नियमन गर्छ, जसले इकोसिस्टमको सामथ्र्यलाई सुनिश्चित गर्छ । त्यसै गरी विभिन्न प्रकारका प्रजातिलाई टेवा दिने विविध वातावरणीय अवस्थाको संयोजन सिर्जना गर्दै वन्यजन्तुको वासस्थान निर्धारण गर्न आगोले महìवपूर्ण भूमिका खेलेको हुन्छ ।
वनको आगोका प्रकार
वनको आगो तिनको फरक विशेषता र प्रभाव अनुसार धेरै प्रकारका छन् । काण्डमा हुने आगोले मुख्यतया रुखको बोक्रा र भित्री काठ जलाउँछ, जसले रुखको संरचनामा उल्लेखनीय क्षति पुर्याउन सक्छ । माटोको जैविक तह जस्तै कोइला, पिट र ह्युमसको दहनबाट पनि आगलागी हुने गर्छ र यस प्रकारको आगोबाट लामो समयसम्म धुवाँ लाग्न सक्छ, जसले यसलाई पत्ता लगाउन र नियन्त्रण गर्न गाह्रो बनाउँछ । जमिनको सतहमा लाग्ने आगो सबैभन्दा धेरै हुने वन आगोको प्रकार हो । यो सामान्यतया लगभग एकदेखि दुई मिटरको सानो फायर लाइन बनाउँदै दुई मिटरको उचाइसम्म पुग्न सक्छ । जमिनमा लागेको आगोले पातलो बोक्रा भएका रुखमा क्याम्बियमको पत्रलाई अत्यधिक तताउनाले क्षति पुर्याउन सक्छ । क्राउन फायरलाई सबैभन्दा खतरनाक प्रकारको जङ्गलको आगो मानिन्छ, किनकि यो रुखको छत्रबाट द्रुत गतिमा फैलिन्छ । क्राउन फायर सधैँ जमिनको आगोबाट उत्पन्न हुन्छ र यसले ‘फायर ब्रिज’ सिर्जना गर्न सक्छ जसले आगोलाई एक रुखबाट अर्को रुखमा सल्किन दिन्छ, जसको परिणामस्वरूप व्यापक विनाश हुन्छ । आगोले यसको प्रकार र गम्भीरता अनुसार वनस्पति र पारिस्थितिकी संरचनामा भिन्न प्रभाव पार्छ । आगोको जोखिम र तीव्रता वनस्पतिको दुई प्रमुख विशेषता दहन विन्दु र तापमानबाट निर्धारित हुन्छ, जसले वनस्पतिले कति सजिलै आगो समात्न सक्छ । आगो सिर्जना हुनलाई कम्तीमा चार आवश्यक तत्व चाहिन्छ– अक्सिजन, ताप, इन्धन र एक रासायनिक प्रतिक्रिया । यी तत्वमध्ये कुनै एकलाई हटाएर आगो निभाउन सम्भव हुन्छ । यस आगोको त्रिकोणको सोच अनुसार एक वा एकभन्दा बढी घटक हटाएर आगो निभाउने यन्त्रले काम गर्छन् ।
आगो र वातावरणीय तत्व
आगोको प्रकृति र तीव्रता साइटको अवस्था, मौसम र इन्धनको विशेषतासहित विभिन्न वातावरणीय तत्वद्वारा उल्लेखनीय रूपमा प्रभावित हुन्छ । मौसमका कारक जस्तै तापक्रमले सामग्रीको दहन विन्दुलाई प्रभाव पार्छ । हावाले इन्धन सुकाउँछ, अक्सिजनको आपूर्ति बढाउँछ र आगोलाई अगाडि बढाउन सक्छ । आगो फैलिने दिशा र गतिलाई प्रभाव पार्छ । थप रूपमा मौसममा कम सापेक्ष आद्र्रताले दहन र फैलावटलाई सजिलो बनाएर पर्याप्त खतरा उत्पन्न गर्छ । सुक्खा र बलौटे माटोले आगोको जोखिम बढाउँछ । यसै गरी जमिनको ढलान, उचाइ र प्राकृतिक अवरोधले आगोको जोखिम र गतिशीलतामा महत्वपूर्ण भूमिका खेल्छन् । आगोको प्रकृतिलाई वनस्पतिको प्रकार (घाँस, झाडी) र इन्धनको विशेषता (भार, आकार, प्रकार, पानीको मात्रा, निरन्तरता र वितरण) पनि निर्धारण गरेको हुन्छ । आगोको जोखिम मूल्याङ्कन गर्न र प्रभावकारी आगो व्यवस्थापनको रणनीति कार्यान्वयन गर्न यी आपसमा जोडिएका तत्व बुझ्नु आवश्यक छ ।
आगोले गर्दा हुने क्षतिको मात्रा यसका धेरै किसिमका विशेषताबाट प्रभावित हुन्छ । जमिनको सतहबाट ठाडो रूपमा मापन गर्दा आगोको ज्वाला पुग्ने उचाइले वरपरको वातावरणलाई कति असर गर्न सक्छ भन्ने सङ्केत गर्छ । त्यसै गरी आगोको निरन्तर ज्वालाले प्रभावित गर्ने क्षेत्र र आगोको कोणले यो कसरी फैलिन्छ र यसको वरपरको वातावरणसँग कसरी अन्तर्क्रिया गर्छ भन्ने कुरामा प्रभाव पार्न सक्छ । आगोको गर्मीले पात र अन्य वनस्पति मर्ने उचाइको मापनले बोटबिरुवाको जीवनमा आगोको प्रभावको अन्तर्दृष्टि प्रदान गर्छ । इन्धनको उपलब्धता बढ्दै जाँदा र प्रत्येक पटक इन्धनको मात्रा दोब्बर हुँदा आगोको तीव्रता चौगुना बढ्ने हुनाले यसको वृद्धि घातीय प्रकृतिमा हुन्छ ।
रोकथामका उपाय
जङ्गलमा आगो लाग्ने जोखिम कम गर्न धेरै सावधानीका उपाय लागु गर्न सकिन्छ । वन क्षेत्रमा आगजनी र धूमपानको निषेधका साथै आकस्मिक दहन रोक्न खुला ठाउँमा आगो बाल्न प्रतिबन्धसहितको कानुनले महत्वपूर्ण भूमिका खेल्न सक्छ । आगोको जोखिमको प्रारम्भमै पत्ता लगाउन र मूल्याङ्कनका लागि र समयमै प्रतिक्रियाका लागि वनको आगोको प्रभावकारी रूपमा अनुगमन र पूर्वानुमानको प्रणाली आवश्यक छ । थप रूपमा बलियो जनसम्पर्क र सूचना अभियान महत्वपूर्ण छन् । यसबाट विशिष्ट क्षेत्र, समय र वनस्पतिको प्रकारसँग सम्बन्धित आगोको जोखिमका बारेमा जनतालाई शिक्षित गर्नुका साथै प्रारम्भमै पत्ता लगाउने र आगो निभाउने प्रविधिलाई प्रवर्धन गर्नमा ध्यान केन्द्रित गर्न सकिन्छ । आगोको घटनामा तयारी र प्रभावकारी प्रतिक्रिया सुनिश्चित गर्न वनकर्मी र अग्निनियन्त्रकका लागि प्रशिक्षण कार्यक्रम पनि महत्वपूर्ण छन् । सक्रिय वन व्यवस्थापन अभ्यासका रूपमा वनजङ्गलभित्रको इन्धनको भार घटाउन नियन्त्रित रूपमा इन्धन जलाउने र स्वस्थ वनको इकोसिस्टम कायम राख्ने जस्ता कार्यले आगोसँग वनको सामथ्र्य बढाउन मद्दत गर्न सक्छ । अन्ततः आगोको रोकथाम र व्यवस्थापन प्रयासमा योगदान पुर्याउँछ ।
वनमा तल्लो र मध्यम तहका रुख निकाल्दा सम्भावित इन्धन स्रोत हट्छन् र आगोको तीव्रता घटाउन मद्दत गर्छ । मृत काठ निकाल्ने कार्यले उपलब्ध इन्धन घटाउन र आगोको प्रज्वलन रोक्न महìवपूर्ण छ । आगोको फैलावटलाई सुस्त गर्न वा रोक्न अवरोधका रूपमा आगोप्रतिरोधी प्रजातिको सुरक्षा पटको स्थापनाले काम गर्न सक्छ । थप रूपमा खोला, नदी, पोखरी र भिजेका बायोटोप जस्ता प्राकृतिक अवरोधको स्थापना वा सुधारले आगो निभाउन मद्दत गर्न सक्छ । खुला मैदानको सुरक्षा पटहरूको सिर्जना गर्नाले इन्धनको निरन्तरतामा बाधा पुर्याएर आगोको जोखिमलाई अझ कम गर्न सक्छ । बायोटोपको निर्माणले जैविक विविधता र इकोसिस्टमको स्वास्थ्य बढाउन सक्छ भने नियन्त्रित आगो बाल्नाले इन्धनको भार कम गरी स्वस्थ वन पुनरुत्थानलाई बढावा दिने हुनाले यसलाई व्यवस्थापनको उपकरणका रूपमा पनि प्रयोग गर्न सकिन्छ । समग्रमा यी सिल्विकल्चरका अभ्यासले प्रभावकारी आगो व्यवस्थापन र वनको दिगोपनमा योगदान पुर्याउँछन् ।
वन व्यवस्थापनका विकल्प
प्रभावकारी वन व्यवस्थापन गर्न वनको स्वास्थ्य बढाउने, पहुँच सुधार गर्न र सुरक्षा सुनिश्चित गर्न विभिन्न रणनीति र पूर्वाधार समावेश गर्नुपर्ने हुन्छ । केही मुख्य विकल्पमध्ये एक राम्रो सडक पूर्वाधारको विकास हो । वन क्षेत्रभित्र र वरपरका सडकको सञ्जालको विकास र मर्मत सम्भारले व्यवस्थापनका गतिविधि, अग्निनियन्त्रणका प्रयास र अनुगमनका लागि पहुँचको सुविधा दिन्छ । त्यसै गरी रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा पानी भर्ने स्टेसन सिर्जना गर्नाले अग्निसाम्य पार्ने टोलीलाई द्रुत रूपमा पानीको स्रोतमा पहुँच दिन्छ र आगोको आपत्कालीन समयमा प्रतिक्रियाको समयमा सुधार हुन्छ । वन क्षेत्रमा स्पष्ट र जानकारीमूलक सङ्केतको व्यवस्थाले आगन्तुकलाई मार्गदर्शन गर्न, नियमका बारेमा सूचित गर्न र आपत्कालीन निकास वा स्रोतका लागि निर्देशन प्रदान गर्न मद्दत गर्छ । वाच टावर स्थापना गर्नाले र अनुगमन प्रणालीहरू (जस्तै क्यामरा वा ड्रोनहरू) कार्यान्वयन गर्नाले वन क्षेत्रको निगरानी बढाउँछ जसले आगो वा अवैध गतिविधिको प्रारम्भिक अवस्थामै पत्ता लगाउन अनुमति दिन्छ । आपत्कालीन योजनाको विकासले जङ्गली आगो, किराको प्रकोप वा प्राकृतिक प्रकोपप्रति आपत्कालीन प्रतिक्रियाका लागि आवश्यक भूमिका, जिम्मेवारी र प्रक्रियाको रूपरेखासहित विभिन्न परिदृश्यका लागि तयारी सुनिश्चित गर्छ । वनकर्मी, अग्निसाम्य पार्ने कर्ता र स्थानीय समुदायका लागि नियमित अभ्यास सञ्चालन गर्नाले सबैलाई आपत्कालीन प्रक्रियासँग परिचित बनाउन सक्छ र सङ्कटमा प्रभावकारी रूपमा प्रतिक्रिया सुनिश्चित गर्न मद्दत गर्छ । सूचना अभियानमार्फत जनतासँग संलग्न हुँदा वन व्यवस्थापन अभ्यास, आगोको रोकथाम र वनको इकोसिस्टमको संरक्षणको महत्वका बारेमा चेतना जगाउन सकिन्छ । आगो निभाउने आवश्यक उपकरणको उपलब्धताले साना आगो बढ्नुअघि नै द्रुत रूपमा प्रारम्भिक प्रतिक्रियालाई सक्षम बनाउन सकिन्छ ।