आधारभूत रूपमा भन्नु पर्दा शिक्षाले मानिसको व्यक्तित्व निर्माण र विकासमा ठुलो मद्दत गर्दछ । यसका निम्ति राज्यले कस्तो शिक्षा पद्धतिको अवलम्बन गर्दछ, त्यसमा निर्भर गर्दछ । विद्यालय तहको शिक्षा अत्यधिक प्रबल रूपमा मानव व्यक्तित्व निर्माणका साथै समाजका विविधतालाई एकतामा बाँधी रूपान्तरणमा ल्याउने हुनुपर्छ । विद्यालयले समाजमा उपलब्ध महत्वपूर्ण जीवनोपयोगी कला, ज्ञान, संस्कृति र सभ्याताका बारेमा यथोचित ज्ञान र सिप दिलाउने काम गर्दछ । एउटा विद्यालयमा अध्ययनरत विविध समुदायका बालबालिकामा विद्यमान, कला, संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज आदिका सम्बन्धमा अन्तरसंवाद र अन्तर्क्रियाले धेरै कुराको पहिचान दिलाउँछ । तिनमा भएको अन्तरप्रतिभाको प्रस्फुटन हुन गई विशाल व्यक्तित्व निर्माण र सिर्जनात्मक गुणको विकास हुन पुग्दछ । बालबालिकालाई जस्तो ज्ञान दियो त्यस्तै बन्ने हुन् भनिन्छ नै । यसर्थ परिवार विद्यालय छरछिमेक, अग्रज दाजुदिदी आदिले बालबालिकालाई जस्तो ज्ञान दिलायो उस्तै बन्ने हुन । आफ्नो परिवेश र समाजभन्दा बेग्लै र अब्बल, अनुशासित र नैतिकवान् खोजेर पाउन सकिँदैन ।
आज हाम्रो समाजका नैतिकताको ठुलो खडेरी छ । बालबालिकाका व्यवहार प्रायः सामाजिक देखिँदैन । अटेरी, लगनशीलताको कमी, कुलत र साथीभाइसँग रहेर विघ्न विनाशी गर्ने बानी आदि कतिपय बालबालिकामा
देखिन आएको छ । यस किसिमको व्यवहारलाई सिकाइका रूप मानिँदैन । दुःखमा रुनु, सुखमा रमाउनु जस्ता सहज क्रियालाई पनि सिकाइ मान्न सकिन्न । बालक घिस्रनु, बाच्छा, पाडा लरखराएर हिँडन खोज्नु पनि सिकाइको
क्षेत्रमा आउँदैन । सिकाइ भनेको ज्ञान र सिप आर्जन गर्नु नै हो । यसरी आउने व्यावहारिक परिवर्तनलाई सिकाइ भन्नु पर्दछ । कतिपय अभिभावकका गुनासा छन्, आफ्ना बालबालिकालाई विद्यालय पठायो के सिकेका हुन् के जानेका हुन्, के पढाउँछन्, के सिकाउँछन्? विद्यालयबाट घरमा आएर पढ्ने पनि होइन, कुनै काम लगाए पनि गर्ने होइनन् । बोली व्यवहार केही पनि राम्रो देखिँदैन । अनुशासन र आदर्शको त कुरै छाडौँ भन्दछन् । मोबाइलमा बस्न रुचाउने साइबर पुस्ता चाहिँ बनिरहेका छन् । शिक्षकले ध्यान दिएर पढाइ दिनु पर्यो, सिकाइ दिनु पर्यो भनी शिक्षकमाथि दोष नआएको होइन । यस्ता प्रशस्त गुनासा अभिभावकबाट आउने गरेका छन् ।
हाम्रा कतिपय विद्यालयमा प्राथमिक तहमा कम पढेका, तालिम र अनुभवसमेत नभएकाले पनि पढाउने गरेका सुन्नमा आएका छन् । यसरी कमजोर शिक्षक र बालमनोविज्ञानको ज्ञानबिना नै शिक्षक नियुक्ति हुने गर्दछन् । शिक्षा
सङ्कायमा पनि अन्य सङ्कायमा पढ्न नमिलेपछि बल्ल शिक्षाशास्त्रतर्फ लाग्ने प्रवृत्तिको पनि अन्त्य हुन सकेको छैन । शिक्षकले कक्षामा आफूलाई जसरी मन लाग्छ त्यसरी नै पढाउन पाउने, त्यहाँ कक्षामा पढाउनेलाई ओरिएन्टेसन, पूर्वजानकारी, अनुगमन, सुझाव आदि केही गर्नु नपर्ने जस्ता कुराले पनि प्रतिकूल असर पुर्याइरहेको छ । एकातिर कसरी सिकाउने, कक्षाकोठामा रमाउने वातावरण कसरी निर्माण गर्ने, बालबालिकाको
मोटिभेसन कसरी गर्ने भन्ने विषयमा अनभिज्ञता नै देखिन्छ भने तालिम, निरीक्षण, अनुगमन, शिक्षण सामग्री आदिको अभाव त छँदै छ ।
शिक्षामा सुधारका कुरा त जहिले पनि गरिन्छ तर व्यवहारमा सुधार हुन सकेको छैन । शिक्षामा प्राविधिक पक्षलाई छायाँमा राखिन्छ । शिक्षकको योग्यता पनि स्पष्ट किटान हुनु जरुरी छ । कुनै तहको शिक्षक हुन पनि कम्तीमा स्नातक तह अझ स्नातकोत्तर उत्तीर्ण भए राम्रो हो । जुनसुकै फ्याकल्टीमा अध्ययनरत भएका भए पनि योग्यतम व्यक्तिलाई शिक्षकमा छनोट गरी त्यसपछि तालिम र शिक्षण विधिसम्बन्धी जानकारी गराई पठनपाठनमा लगाउने प्रक्रियाको थालनी हुनु जरुरी छ । राम्रो गर्ने शिक्षकलाई पुरस्कार र सम्मान दिई मनोबल बढाउने र अरू शिक्षकले पनि राम्रो गर्दा पुरस्कार मिल्ने रहेछ भन्ने प्रेरणा जगाउने काम हुनु पर्छ ।
जग बलियो भए घर बलियो हुन्छ भने झैँ सिकाइको जग पनि प्रारम्भिक शिक्षादेखि नै बलियो बनाउनुपर्ने हो । सिकाइ अपूर्ण र अपरिपक्व हुनु हुँदैन । विषयवस्तुको अवधारणात्मक ज्ञान त चाहिन्छ नै साथै सिप पनि हुनु जरुरी छ । यसका लागि शिक्षकको सिकाइको पहिलो पाइलादेखि नै कार्यसम्पादनलाई सिकाइको उपलब्धिमा गणना गर्दै लैजानुपर्ने हुन्छ । निरन्तर मूल्याङ्कन प्रक्रियालाई अङ्गीकार गरी अगाडि बढाउँदै लगे पनि त्यहाँ जथाभाबी अङ्क दिँदै विद्यार्थी अपग्रेड गर्ने प्रवृत्ति बढ्दो छ । यसले गर्दा जति जति माथिल्लो कक्षामा गयो विद्यार्थी कमजोर बन्दै गएका देखिन्छन् । यस किसिमको प्रक्रियालाई नहटाएसम्म शिक्षाको स्तर बढ्न सक्दैन । बालबालिकालाई पढाउने शिक्षक हो । शिक्षकले कक्षामा पढाउँछ, त्यहीँ गृहकार्य गराउँछ, परीक्षण पनि गर्छ, भविष्य पनि देखाउँछ । तिनै बालबालिका भोलि राष्ट्रका विभिन्न तह तप्कामा पुग्छन र आफ्नो जिम्मेवारी बहन गर्छन् । बेलैदेखि राम्रो शिक्षा, ज्ञान, सिप र धारणा विकसित गर्दै लगेमा मात्र देशले असल नागरिकका रूपमा पाउने र राष्ट्रनिर्माणमा योगदान पुर्याउने हुन्छ ।
हाम्रा कतिपय विद्यार्थी बहुत कठिनतापूर्वक पढ्न आइरहेका हुन्छन् । आफ्नो घरबाट एक घण्टा हिँडेर आउने पनि गरेका छन् । ती नियमित पनि विद्यालय आउन सक्दैनन् । तिनका अभिभावकले आफ्ना बालबालिका विद्यालय जान्छन्, जाँदैनन्, पढ्छन् पढ्दैनन् त्यसमा चासो राख्दैनन् । उल्टो ति सानै बालबालिकादेखि आफ्ना घरायसी काममा सघाउन लगाउँछन् । पढाइमा ध्यान कम जाने हुन्छ । परीक्षामा प्रायः कतिपय अनुत्तीर्ण पनि हुने गर्छन् । यो परिस्थितिमा विद्यालय व्यवस्थापनले त्यस्ता बालबालिकाका लागि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । विद्यालय राम्रो हुन विद्यार्थीले स्तरीय शिक्षा पाउनु पर्यो र उसले सिकेका ज्ञान र सिपलाई व्यवहारमा उतार्न सक्नु पर्यो अनि मात्र सिकाइका उपलब्धि राम्रो ठान्न सकिन्छ । विद्यार्थीले राम्रो गर्नु भनेकै शिक्षकले राम्रो सिकाउनु हो । विद्यार्थीले सकेन वा परीक्षामा अनुत्तीर्ण भएमा शिक्षक पनि असफल वा उसले राम्रो सिकाउन नसकेको नै ठहर हुन्छ । सिकाइमा विद्यार्थी सक्रिय नभई शिक्षक सक्रिय हुन खोज्नु हुँदैन । सिक्ने सिकाउने विषयमा शिक्षक एउटा कुशल सहजकर्ताका रूपमा आफूूलाई लिनु पर्छ । हुन त विद्यार्थीले कतिपय कुरा आफ्ना अभिभावकबाट सिक्छन्, साथीभाइबाट सिक्छन्, छिमेकबाट सिक्छन् । शिक्षकबाट मात्र सिक्दैनन् । यसमा प्रमुख सहजकर्ता भने शिक्षक नै हुन्छ ।
सिकाइको तात्पर्य ज्ञान, सिप हासिल गरी शिक्षित बन्नु हो । शिक्षितको अर्थ स्वतन्त्र भएर सोच्न र लेख्न सक्ने हुनु हो । एउटा बालकलाई असल नागरिक बनाउन धेरै पक्षको महìवपूर्ण भूमिका हुन्छ । यसमा प्रथमतः अभिभावक, समाज, विद्यालय र छरछिमेकको पनि दायित्व हुन आउँछ । वास्तवमा बालकको पहिलो गुरु आमाबाबु हुन् । यसपछि अन्यबाट धेरै कुरा क्रमैले सिक्दै जाने हुन्छ । शिक्षक र विद्यार्थीबिच आपसी सद्भाव हुनु पर्छ । एकले अर्कासित बिनासङ्कोच विचार आदनप्रदान गर्न सक्नु पर्छ । आफू आफूबिच फरक विचार भए पनि त्यसमा सकारात्मक ढङ्गले बुझ्ने र छलफल गर्नु पर्छ । हुन त हाम्रा कतिपय विद्यालयमा शिक्षक र विद्यार्थीबिच सौहार्दपूर्वक विचारको विमर्श हुन नसकेको सुन्नमा आउँछ । हाम्रो परम्परागत धारणामा शिक्षक निपुण हुने र विद्यार्थीलाई सिकाउने मनोविज्ञानमा आधारित शिक्षाले आलोचनात्मक चेत दिँदैन । यसर्थ शिक्षक र विद्यार्थीबिच यस्तो तहगत विभेद हुनु हँुदैन । शिक्षक र विद्यार्थीबिच सिर्जनशीलता र सहकार्य नभई हुँदैन ।