प्रतीक इच्छुक शर्मा
सल्यान, चैत २८ गते । अविरल वर्षासँगै आएको हावाहुरीले सल्यान जिल्लाका विभिन्न स्थानमा ठुलो क्षति पुर्याएकाे छ । गएराति आएको हावाहुरीले यहाँका दुई विद्यालयका छाना र एक स्थानीयको घरमा क्षति पुर्याएको छ ।
शारदा नगरपालिका–८ मार्केमा रहेको त्रिभुवन जनता माविको दुई कोठे भवनको छाना उडाएको छ भने सिद्धकुमाख गाउँपालिका–२ टाकुरामा रहेको कमारो कामीको दुई तले घर भत्किएको छ ।
त्रिभूवन जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक गणेश धितालले कक्षा ११ र १२ सञ्चालन हुँदै आएको भवनको छाना उडाउँदा लाखौंको क्षति भएको बताउनुभयो । उहाँका अनुसार भवन जीर्ण भइसकेको हुँदा छाना मात्र नभई फर्निचरमा समेत क्षति पुगेको हो । हाल विद्यालय बन्द रहेकोले तत्काल पठनपाठनमा असर नपरेको भए पनि शीघ्र मर्मत नगरिए आगामी दिनमा समस्या उत्पन्न हुने छ ।
वनगाड कुपिण्डे नगरपालिका–११ स्थित श्री नवज्योति प्राथमिक विद्यालय, पाँचहारेमा पनि वर्षा र हावाहुरीका कारण विद्यालय भवनको जस्तापाता तथा अन्य सामग्रीहरू पूर्ण रूपमा क्षति भएको छ। स्थानीय इन्द्र बुढाथोकीका अनुसार विद्यालयको छाना सबै हावाहुरीले उडाएको छ ।
सिद्धकुमाख–२ टाकुराका कमारो कामीको घर हावाहुरीले भत्किएपछि परिवार गोठमा बस्न बाध्य भएको छ । पहिलेको भूकम्पले चर्काएको उक्त घर गए रातिको हावाहुरीले पूर्ण रूपमा भत्काइदिएको हो। प्रारम्भिक अनुमान अनुसार करिब तीन लाख रुपियाँ बराबरको क्षति भएको छ ।
यसैगरी सल्यान कालिमाटी गा.पा २ बस्ने ज्ञान बहादुर वि.क को १ तले कच्ची गोठको छाएको जस्ताको पाता उडाएको छ । ललिता वलीको १ तले जस्तापाताले छाएको कच्चि गोठ, शौचालयको जस्ता पाता उडाएको, दिवालमा समेत चर्केको छ ।जय राम खत्रीको २ तले जस्तापाताले छाएको गोठको जस्तापाता उडाएको छ । यस्तै सोही वडाका बाबुराम वलीको पक्कि घरको ल्यान्टरमा बनाइएको किराना पसलको जस्तापाता उडाएको छ ।
कालिमाटी ४ बस्ने रूपलाल सिजाली को २ तले कच्चि घरको जस्ता पाता उडाएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सल्यानका अनुसार जिल्लाका विभिन्न स्थानमा हावाहुरी र वर्षाले क्षति पुर्याएको र क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ ।
यस्तै, तरकारी तथा गहुँबालीमा पनि हावाहुरीले ठुलो क्षति गरेको अनुमान गरिएको छ । कृषि विकास कार्यालय, सल्यानले हालसम्म तथ्याङ्क सङ्कलनको काम जारी रहेको जनाएको छ ।