• २ असार २०८२, सोमबार

गुल्मी महोत्सव सात दिन पछि सर्‍यो

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत २८ गते । गुल्मीको सदरमुकाम तम्घासमा शुक्रवार (भोलि) देखि हुने भनिएको दोस्रो गुल्मी महोत्सव आगामी वैशाख पाँच गतेबाट सुरु हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा “गुल्मी जिल्लाको समृद्धिको आधार ः कृषि, पर्यटन, उद्योग र व्यापार’’ भन्ने मुख्य नारासहित रेसुङ्गा नगरपालिकाको वडा नम्बर – २ नुनथलामा महोत्सव गर्न लागिएको हो । 

यस जिल्लाका विभिन्न कला, संस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको गुल्मी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसालले जानकारी दिनुभयो । वैशाख १७ गतेसम्म चल्ने यस महोत्सवबाट जिल्लाको आर्थिकलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको प्रचारप्रसारसँगै उत्पादनको प्रवर्द्धन गरिने बताइएको छ । 

यसअघि वैशाख १२ गतेसम्म महोत्सव सञ्चालन गर्ने भनिएको थियो । विविध प्राविधिक कारणले महोत्सवलाई सारिएको आयोजकले जनाएको छ । महोत्सवलाई सफल बनाउन निकै क्रियाशील भएर सबै लागिएको छ । महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन १७ वटा उपसमिति गठन गरिएको छ । महोत्सवमा विभिन्न संस्कृति र झाँकीसहित जिल्लाका स्थानीय खानालाई समेत प्रचार प्रसार गरिनेछ । स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको दिनहुँ प्रस्तुति बताइएको छ । महोत्सवमा स्थानीय व्यापारीलाई स्टलमा छुट हुनेछ । 

त्यसै गरी फेन्सी व्यवसायी सङ्घलाई पाँच वटा स्टल निःशुल्क र २० वटा स्टल ८० प्रतिशत छूटमा उपलब्ध गराउने सहमति भएको छ । महोत्सवमा दुई सयभन्दा बढी स्टलहरू रहनेछन् । महोत्सवबाट ३० करोडभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखिएको भने डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रति व्यक्ति सय रुपियाँ प्रवेश शुल्क तोकिएकोमा विद्यार्थीको लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध हुनेछ । अपाङ्ग, ज्येष्ठ नागरिक र पाँच बर्सभन्दा मुनिका बालबालिकाको लागि महोत्सव अवलोकन गर्न शुल्क नलाग्ने बताइएको छ ।