कमल खत्री
नेपालगन्ज, चैत २७ गते । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तिन विभागीय टोली, भारतको सिलगुडी फुटबल क्लबसहित आठ टोलीको सहभागिता रहने भएको छ ।
नेपालगन्ज रङ्गशालामा आगामी वैशाख ५ देखि १२ गतेसम्म प्रतियोगितामा आयोजक अन्तरालले बुधबार पत्रकार सम्मेल गर्दै सहभागि टोलीको घोषणा गरेको हो ।
प्रतियोगितामा आयोजक बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल सङ्घले प्रतिस्पर्धा गर्ने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो ।
बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टोलीले पाँच लाख पाँच हजार पाँच सय ५५ रुपियाँ र उपविजेताले दुई लाख ५० हजार रुपियाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने निर्देशक शाहले जानकारी दिनुभयो । उहाँले आयोजकले यस प्रतियोगिता पछि नियमित फुटबल प्रशिक्षण गराउने तथा रङ्गशालाको भौतिक पुर्वाधार मर्मत र सम्हारमा पनि जुट्ने बताउनुभयो । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने फुटबल कर्मीले विश्वास लिएको छन् ।
बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबलले सहयोग गर्ने बताउनुभयो ।
प्रतियोगिताको प्रचार प्रसार उपसमिति संयोजक निरज गौतमले स्वागत गरेको कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, अखिल नेपाल फुटबल सङ्घका निर्वतमान केन्द्रिय सदस्य प्रदेश सिंह राठौर, अखिल नेपाल फुटबल सङ्घका पुर्व उपाध्यक्ष गोबर्धन सिंह सम्झना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।