• ५ वैशाख २०८२, शुक्रबार

शैक्षिक सत्र अगावै जुम्लामा पाठ्यपुस्तक पुग्यो

blog

जुम्लामा रहेको आधिकारिक पुस्तक विक्रेता पसल । तस्बिर : गोरखापत्र

नौरते नेपाली 

सिंजा (जुम्ला), चैत २७ । जुम्लामा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्य पुस्तक पुगेको छ । विगतका वर्षमा प्राय पाठ्यपुस्तकको अभाव हुने जुम्लामा यसवर्ष शैक्षिक शत्र सुरु नहुँदै पाठ्य पुस्तक पुगेको हो । 

विगतमा जुम्लाका विद्यार्थीले शैक्षिक सत्र सकिने बेलासम्म पनि पाठ्यपुस्तक समयमै पाउदैन थिए । तर, पछिल्लो दुई वर्ष यता जुम्लामा शैक्षिक शत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने गरेको छ । जुम्लामा यश वर्ष समयमै पाठ्यपुस्तक पुगेपछि विद्यार्थी उत्साहित भएका छन् । 

विगतमा किताब ल्याउन ढिलासुस्ती गर्ने पुस्तक व्यवसायीहरुले तदारुकता देखाएपछि जुम्लामा दुई वर्षयता समयमै पाठ्यपुस्तक पुगेको छ । देशभर नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने गर्दछ । 

हिमाली जिल्लामा केही वर्ष पहिले फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्दथ्यो । तर, दुई शैक्षिक सत्र अघिदेखि हिमाली जिल्ला जुम्लामा पनि वैशाखदेखि नै सुरु हुने गरेको छ ।

विगतका वर्षमा नागरिक समाज तथा सरोकारवालाहरु मतपत्र सधै समयमै पुग्ने कर्णालीमा पाठ्यपुस्तक कहिले नपुग्ने भन्दै आलोचना गर्थे भने समयमै पुस्तक नपाउँदा विद्यार्थीको पठनपाठन समेत प्रभावित हुने गरेको थियो । 

तर दुई वर्ष यता त्यो समस्या अन्त्य भएको छ । यसवर्ष शैक्षिक सत्र सुरु हुनुअगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको सन्ध्या स्टेसनरीका प्रोप्राइटर सुमन खड्काले बताउनुभयो । उहाँकाअनुसार नयाँ शैक्षिक सत्रका लागि जुम्लामा चैत १७ गते पाठ्यपुस्तक पुगेको हो । 

उहाँले भन्नुभयो, ‘‘कक्षा एक–पाँचसम्मको १५ सय सेट र कक्षा ६–१० सम्मको दुई हजार सेट पाठ्यपुस्तक आइपुगेको छ । यहाँका आठवटा स्कुलले पाठ्य पुस्तक लिएका छन् । अझै माग आउँदै छ । आन्दोलनका कारण शिक्षक बाहिर भएर होला जसका कारण कमै मात्र बिक्री भइरहेको छ । स्कुल खुलेपछि बिक्री दर बढ्छ । जिल्लालाई चाहिने जत्ति पुस्तक समयमै पुराउँछौ ।’’

यहाँको सदरमुकाम खलंगामा जिपी स्टेसनरी र सन्ध्या स्टेसनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् । यस्तै कनकासुन्दरीको दर्पण स्टेसनरी सिँजाको कर्णाली र तिलाको दीपकैलाश स्टेसनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् । 

यसवर्ष सबै स्टेसनरी हरुले पाठ्यपुस्तक समयमै गाउँ गाउँका विद्यार्थीका हातहातमा पुराएका छन् । जुम्लामा १४५ वटा सामुदायिक विद्यालय रहेका छन् ।