रमेश विश्वकर्मा
गुल्मी, चैत २७ गते। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गुल्मीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। जिल्लाको सदरमुकाम तम्घासको बालमन्दिरमा सम्पन्न १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा राम मल्ल ठकुरी सर्वसम्मत निर्वाचित हुनुभयो।
जसको उपाध्यक्षमा कमला बराल र रामजी ज्ञवाली निर्वाचित हुनुभएको छ। सचिवमा बसन्त अधिकारी, उपसचिवमा सावित्रा भण्डारी, पिताम्बर पौडेल र सनबहादुर बुचा सर्वसम्मत निर्वाचित हुनुभयो। पदाधिकारीसहित सिङ्गो कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएको छ।
पदाधिकारी खुला सात, पालिका तहबाट दुई–दुई जना, महिला तीन, दलित चार, जनजाति तीन, गुल्मी–बुटवल सम्पर्क मञ्चबाट एक जना, गुल्मी–काठमाडौँ सम्पर्क मञ्चबाट एक जना गरी ४१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको बताइएको छ।
त्यस्तै, अधिवेशनबाट प्रदेश प्रतिनिधि समेत छनाेट गरिएको छ। जसमा महिला दुई, दलित दुई, जनजाति दुई र अन्य सात जना गरी १३ जना प्रदेश प्रतिनिधि सर्वसम्मत छनाेट गरिएको हो।
अधिवेशनका लागि २५० जना वडा र पालिकाबाट प्रतिनिधि चयन हुनुभएको थियो। यस जिल्लामा नेकपा एसको १४ सयभन्दा बढी संगठित सदस्य रहेको बताइएको छ। अधिवेशनको उद्घाटन नेकपा एसका केन्द्रीय उपमहासचिव एवम् पूर्वमन्त्री मेटमणि चौधरीले गर्नुभयो।
निवर्तमान अध्यक्ष श्रीराम महतको अध्यक्षता रहेको अधिवेशनमा पार्टीका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री रामकुमारी झाँक्री, केन्द्रीय सदस्य एवम् गुल्मी जिल्ला इन्चार्ज प्रमेश पोखरेल, केन्द्रीय लेखा आयोग सदस्य सुनिता भुसाल बेल्बासे लगायतको उपस्तिथि थियो।