• ५ वैशाख २०८२, शुक्रबार

जयन्दु बाल सुधारगृहलाई सुधार गर्ने पहल सुरु

blog

बालबन्दीहरूसँग सुधारगृहको सुधारका लागि छलफल गर्दै सुरक्षा प्रमुखहरू लगायत । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, चैत २७ गते ।
पटक पटक बालबन्दीहरूबिच विवाद, कुटाकुट र झडप हुँदा अस्तव्यस्त र अशान्त बन्दै आएको बाँकेको डुडुवामा रहेको जयन्दु बाल सुधारगृहको सुधारका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले पहल सुरु गरेको छ ।

सो क्रममा सबैभन्दा पहिले सो सुधारगृहको अवस्था बुझ्ने र त्यहाँ रहेका बालबन्दी, सुरक्षाकर्मी र व्यवस्थापन पक्षसँग सुधारका लागि सुझाव सल्लाह लिने कार्य सुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनुभयो ।

उहाँले बाल सुधारगृहमा पटक–पटक हुने गरेको विवाद र झडपको मूल कारण पत्ता लगाएर त्यस्ता घटना फेरि दोहोरिन नदिने गरी सुधारको पहल थालिएको बताउनुभयो ।

सो क्रममा सबैभन्दा पहिले प्रमुख जिल्ला जोशीको नेतृत्वमा जिल्लाका सुरक्षा प्रमुख र अधिकारकर्मीहरूले बाल सुधारगृहमा पुगेर सुधारगृहको पछिल्लो अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै त्यहाँ रहेका बालबन्दीहरूसँग सुझाव लिन अन्तरक्रिया गरिएको छ ।

केहीदिन अघि होलीका दिन बालबन्दीहरूबिच विवाद हुँदा भएको कुटाकुटपछि प्रहरीसँग झडप हुँदा बालबन्दीहरूले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्नुका साथै १५ घण्टाभन्दा बढी समयसम्म बाल सुधारगृहमा प्रहरीलाई छिर्न दिएका थिएनन् । सो क्रममा उनिहरुले सुधारगृहमा आगो लगाउनुका साथै व्यापक रूपमा तोडफोड गरेका थिए ।

त्यसयता सुरक्षाका विभिन्न उपायहरू अपनाएकोमा हाल त्यहाँको अवस्था कस्तो छ भनि जानकारी लिन स्थलगत रूपमा अनुगमन र निरीक्षण गर्न सुधारगृहमा पुगेको र त्यहाँ बालबन्दी लगायत सुधारगृहको व्यवस्थापन र सुरक्षामा खटिएका सुरक्षाकर्मीसँग अन्तरक्रिया समेत गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताउनुभयो ।

उहाँले अहिले सो सुधारगृहको अवस्था सामान्य रहेको र सबै बालबन्दीले मिलेर बसेको हुँदा कुनै पनि वादविवाद नगरेको पाइएको बताउनुभयो ।

अनुगमनका क्रममा सुधार गृहको स्थिति सामान्य बन्दै गएको, त्यहाँ राखिएका बालकहरू हाल एक आपसमा मिलेर बसेको बालकहरूले नै बताएको अधिकारकर्मी अधिवक्ता वसन्त गौतमले बताउनुभयो । 

उहाँले सो अवसरमा भएको छलफल र अन्तरक्रियाका क्रममा कानुनी विवादमा परेका बालकहरूले सुधार गृहमा यत्तिकै बस्दा मानसिक तनाव रहेकोले योगध्यानको आवश्यकता रहेको, पुस्तकालयमा प्रर्याप्त जीवन उपयोगी पाठ्यपुस्तकको व्यवस्था गर्नुपर्ने, औपचारिक विद्यालयको स्थापना लगायतका माग राखेको बताउनुभयो ।

सो अवसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू र समाजसेवी जग्गादता जयकेश सिंहसहितको उपस्थिति रहेको थियो । 

यन्दु बालसुधार गृहमा हाल २२५ जना बालबन्दी रहेका छन् । ती मध्ये सबैभन्दा बढी जबरजस्ती करणी अभियोगका बालकहरू रहेको जनाइएको छ । सो बालसुधार गृहमा १४ देखि १६ वर्षसम्मका २८ जना १६ वर्षदेखि १८ वर्षसम्मका १३४ जना र १८ वर्षमाथिका ६३ जना बालकहरू रहेको बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगरले जानकारी दिनुभयो ।