निशा राई
धरान, चैत २७ गते । धरान उपमहानगरमा पहिलो पटक राष्ट्रिय स्तरको आइविए प्रो एन्ड एमेचर महिला–पुरुष धरान फाइट नाइट २०२५ आगामी वैशाख १२ गते हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक धरान बक्सिङ्ग संस्थाले खेलकुदको सहर धरानमा बक्सिङ्ग खेलको प्रवर्धन तथा खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यसहित धरानमा पहिलो पटक धरान फाइट नाइट गर्न लागिएको धरान बक्सिङ्ग संस्थाको सचिव महेश आले मगरले बताउनुभयो ।
खेलकुद क्षेत्रको विकास, विस्तार, सामाजिक कार्य, प्रतियोगिताको आयोजना, प्रशिक्षण लगायत कार्यमा युवाहरूलाई सहभागिता गराई खेलाडी युवाहरुलाई क्रियाशिल बनाउँदै उनीहरूमा सामाजिक उत्तर दायित्व निर्वाह गर्ने तथा समाज प्रति खेलकुदको माध्यमबाट जिम्मेवार बनाउने उद्देश्य यस संस्थाको रहेको संस्थाको अध्यक्ष दीपक राईले बताउनुभयो।
प्रतियोगितमा खेलाडीहरूले प्रो. र एमेचर दुई विद्यामा प्रतिश्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कोशि प्रदेशबाट प्रो प्रतिश्पर्धामा धरान, धनकुटा, झापा र उदयपुर जिल्लाबाट खेलाडीहरूले सहभागिता जनाउने, गण्डकी प्रदेशबाट पोखरा र बाग्मती प्रदेशबाट काठमाडौका खेलाडीहरूले सहभागिता जनाउने छ । यसैगरी एमेचर प्रतिश्पर्धा तर्फ
धरान, धनकुटा, उदयपुर र झापावाट खेलाडीहरूले सहभागिता जनाउने भएको छ । फाइट नाइटमा महिला र पुरुष राष्टिय वक्सिङ्ग खेलाडीको प्रर्दशनी खेल समेत हुने आयोजकले जनाएको छ ।
फाइट नाइट धरान १५ स्थित किरात याक्थुङ चुम्लुङमा रहेको चुम्लुङहिम हलमा हुने संस्थाको उपाध्यक्ष प्रतिक राईले बताउनुभयो । साँझ ४ बजे देखि सुरु हुने फाइट नाइटलाई भव्य बनाउन विभिन्न साङ्गीतिक कार्यक्रमहरू समेत हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा बक्सिङ्ग खेलमा योगदान पुर्याउनु हुने धरानका राष्ट्रिय तथा अन्तराष्ट्रिय ओलिम्पियन खेलाडी तथा गुरुहरूको समेत उपस्थिति रहनेछ । प्रतियोगिताको अनुमानित बजेट १५ लाख रुपिँया रहेको संस्थाको कोषाध्यक्ष विशाल राईले बताउनुभयो ।
प्रतियोगितामा प्रो. फाइट तर्फका विजेता खेलाडीले नगद ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजेताले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गर्ने छन् । एमेचर तर्फका विजेता खेलाडीले नगद ६ हजार, मेडल र प्रमाणपत्र र उपविजेताले नगद ३ हजार र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
कार्यक्रममा कोच किशोर साम्वाहाम्फे, एसियन साफ मेडलिष्ट अनुप लामा, वरिष्ठ पत्रकार हर्ष सुब्बा, मजदुर सङ्गठनको अध्यक्ष भिमज्वाला राई लगायतको उपस्थिति रहेको थियो ।