• ४ वैशाख २०८२, बिहिबार

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

blog

महामन्त्री गगन कुमार थापा नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, चैत २७ गते ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

महामन्त्री थापाले नागरिकमा सरकारले केही गरेन भन्ने भाष्य निर्माणलाई चिर्नका लागि भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताउनुभयो । गलत काम गर्ने जो कोही भए पनि त्यसले सँजाय पाउन सकेमा मात्र नागरिकमा भरोसा सृजना हुने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री तथा मन्त्रीहरुले खुरुखुरु जनताको हितका लागि काम गर्नमा लाग्नुपर्ने भन्दै राम्रो कामको प्रचार गर्न आफुहरु तयार रहेको बताउनुभयो । नेपाली कांग्रेस सरकारमा रहेको हुँदा त्यसको जस अपजस दुवै पार्टीले बोक्नु परेको भन्दै थापाले जिम्मेवारीका नाममा नचाहिने भारी बोकेर कांग्रेस थिचियर बस्न नसक्ने बताउनुभयो ।

एउटा व्यक्तिले गलत काम गर्छ भने त्यसको जिम्मेवार उसैले लिनुपर्ने उहाँले त्यसको जिम्मेवारी कांग्रेसले नबोक्ने बताउनुभयो । कांग्रेस आत्तियो भने सिङ्गो मुलुकले त्यसको मूल्य चुकाउनु पर्ने भन्दै उहाँले पछिल्लो समयमा आम नागरिकमा देखिएको असन्तुष्टीलाई चिन्ने र चिर्ने काम पनि कांग्रेसको काँधमा आएको बताउनुभयो । देशमा ठुला दलहरुले केही गरेनन् र केही भएन भन्ने भ्रमलाई अन्त्य गर्दै नागरिकमा आशाका किरणहरु जगाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले असुन्तष्टिलाई भजाएर मात्र राजतन्त्र फर्कने सपना नदेख्न राजावादीहरुलाई आग्रह गर्नुभयो । देश अहिले सम्भावनाको नवीन मोडमा रहेको भन्दै उहाँले यस अबस्थामा थुप्रै सम्भावनाका ढोकाहरू सुरू भएको बताउनुभयो । महामन्त्री शर्माले गणतन्त्रको पक्षमा जनमत रहेको भन्दै गणतन्त्र सबैको साझा भएको बताउनुभयो ।

उहाँले राजावादी शक्तिहरुलाई गर्वमा हैन कर्ममा विश्वास गर्न समेत आग्रह गर्नुभयो ।  जिल्ला सभापति खिलध्वज पन्थीको सभापतित्वमा भएको सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु डा. चन्द्रकान्त भण्डारी, डा. मिनेन्द्र रिजाल, अजयबाबु सिवाकोटी, चन्द्र केसी, प्रदेश सभापति अमरसिंङ पुनलगायतका केन्द्रीय तथा प्रदेश तहका नेताहरुले सम्बोधन गर्नुभयो ।