• ४ वैशाख २०८२, बिहिबार

बढ्यो खरबुजाको व्यापार

blog

सर्लाही समाचारदाता

सर्लाही, चैत २७ गते । गर्मी बढेसँगै तराईका जिल्लामा खरबुजाको व्यापार बढेको छ । यहाँको पूर्वपश्चिम राजमार्ग र अन्य भित्री सडकका किनार तथा चोक, चौतारामा खरबुजा राखेर बिक्री गर्नेहरू बढेका छन् । चैत लागेदेखि गर्मी बढ्दै गइरहेको तराईका जिल्लामा अब साउन/भदौमा लगातार झरी नपरुन्जेलसम्म खरबुजाको राम्रो व्यापार हुने गरेको छ । 

चैत लागेर गर्मी चढेसँगै पूर्वका विभिन्न ठाउँबाट खरबुजा ल्याएर बिक्री गर्न सुरु गरेको लालबन्दी नगरपालिका–७ का विनोदकुमार साह कानुले बताउनुभयो । लालबन्दी चोकस्थित पूर्वपश्चिम राजमार्ग किनारमा लामो समयदेखि गर्मीयाममा खरबुजा बिक्री गर्ने साहले अब गर्मीयामभर यसैको व्यापार गरेर परिवारको गुजारा चलाउने बताउनुभएको हो । 

चिसोयाममा अन्य काम गर्ने र गर्मी लागेपछि खरबुजा बेच्न बस्ने गरेको साहको भनाइ छ । यहाँ अहिले खरबुजा प्रतिकेजी ५० रुपियाँमा बिक्री भइरहेको छ । गाउँ गाउँबाट बजार आउने सर्वसाधारणले शीतलताका लागि यो मौसममा खरबुजा किनेर लैजाने गरेका छन् । सर्लाहीमा पूर्वपश्चिम राजमार्गको लालबन्दीमा मात्रै एक दर्जनभन्दा बढी व्यापारीले खरबुजा बिक्री गर्न राखेका छन् । 

जिल्ला सदरमुकाम मलङ्गवासहित नवलपुर, हरिवन, बागमती, बरहथवा, बयलवास, हरिपुरलगायतका भित्री बजारमा खरबुजाको व्यापार बढेको छ । व्यापारीका अनुसार पूर्वको धनुषा, सुनसरी, झापालगायतका जिल्लामा उत्पादन भएको खरबुजा यहाँ ल्याएर बिक्री गर्ने गरिन्छ । सडक किनारमा ठेला राखेर तथा फलफूल पसलमा समेत खरबुजा बिक्री गर्ने गरिएको छ । लालबन्दी बजारका फलफूल व्यवसायी जीतेन्द्र साहले गर्मीयामभर खरबुजाको व्यापार राम्रो हुने बताउनुभयो । खरबुजाका चाना काटेर तथा सिङ्गै पनि बिक्री हुने गरेको व्यापारीले बताएका छन् ।