• २६ चैत २०८१, मङ्गलबार

केको विकल्प ? कस्तो विकल्प ?

blog

आमनागरिक हुनु परेकोमा कुण्ठित समूहको आह्वान र आयोजनामा भएको अराजक आन्दोलनले गणतन्त्रको विकल्पमा राजतन्त्रलाई प्रस्तुत गरेको छ । फागुन २५ गतेको नारा र असङ्गठित तथा आकस्मिक जुलुसबाट उत्साहित आयोजकले मृततन्त्र छिट्टै जीवित गराउन सकिने ठानेर नै होला चैत १५ गते तीनकुने र त्यस वरपर हत्या, आगजनी, तोडफोड र लुटपाटको विध्वंस मच्चायो । गणतन्त्र र लोकतन्त्रविरोधीलाई पनि स्पेस दिन यो सरकार उदार छ भन्ने देखाउन खोज्दा देशले ठुलो क्षति भोग्नु परेको मात्र नभई कलकलाउँदो उमेरका दुई उर्वर मानव जीवनको अन्त्य भयो । अहिले समाचारपत्रहरूमा दृष्टिकोण वा विचार पस्किने बुद्धिजीवी वा श्रव्य तथा श्रव्यदृश्यमा विश्लेषण उमाल्ने विश्लेषकको एउटै स्वर सुनिन्छ– गणतन्त्रका नेताहरूको कमजोरी र कुशासनका कारण मृत राजतन्त्रले टाउको उठाएको हो । गणतान्त्रिक नेता बदलिएनन् वा नवीन नेतृत्व विकसित हुन पाएन भने लोकतन्त्रले दुर्घटना बेहोर्न पनि सक्छ । त्यो दुर्घटनाले निम्त्याउने सम्भावनाभित्र मृततन्त्र पनि पर्छ । जस्तो नियतले यस्ता विचार वा विश्लेषण गरिएको भए पनि यस्ता विचार सबै प्रायोजित हुन भन्न मिल्दैन ।

नेपालमा वैकल्पिक राजनीतिक शब्दको टङ्कण २०७३ सालमा डा. बाबुराम भट्टराईले गर्नुभएको हो । वैकल्पिक राजनीति शब्द सुन्दा मलाई अनौठो लाग्छ किनभने राजनीति भनिने क्रिया या नीतिभित्र विकल्प सधैँ उपलब्ध हुन्छ, त्यो लोकतान्त्रिक हो भने । विकल्पहीन त पञ्चायत, कम्युनिजम वा यस्तै सर्वाधिकारवादी शासन मात्र हुन्छन् । तैपनि बाबुराम जस्तो विद्वान् व्यक्तित्वबाट यो शब्द टङ्कण भइसकेपछि नेपालमा यसको प्रयोगको लहर नै चल्यो । हुन त बाबुरामले २०७३ मा नयाँ शक्ति पार्टी गठन गर्नुभन्दा पहिले २०७१ सालमा उज्ज्वल थापाले फरक शैली र संस्कारको विवेकशील नेपाली दल गठन गर्नुभएको थियो । बहसको सुरुवात भने बाबुरामबाट २०७३ सालमा भयो । 

२०७४ सालमा बिबिसी नेपाली सेवाबाट अवकाश लिएपछि रवीन्द्र मिश्रले साझा पार्टीको गठन गर्नुभयो । उहाँ पनि वैकल्पिक पार्टी भन्दै नेपाली राजनीतिमा प्रवेश गर्नुभएको हो । उल्लेख गरिएका यी तीन वटै पार्टीका नेतालाई वैकल्पिक भनिने पार्टी गठन गर्ने उत्साह भने भारतमा सन् २०१२ मा आमआदमी पार्टीको गठन र सन् २०१३ मा त्यो पार्टीले दिल्लीको विधान सभा चुनावमा पाएको सफलताले दिलाएको हो । यी तीन पार्टीका नेता जति उत्साहित भएर पार्टी स्थापना गर्नुभयो, दिल्लीमा आमआदमी पार्टीले तत्काल पाएको सफलता जस्तै नेपालमा सफलता प्राप्त गर्न नसक्दा उहाँहरूमा तत्काल नै विचलन आयो । अहिले तिनै पार्टी अस्तित्वमा छैनन् । बाबुराम भट्टराईले समाजवादी पार्टी बनाउनुभएको छ । रवीन्द्र मिश्रले राजनीतिक विचारलाई नै त्याग्दै राजतन्त्रलाई विकल्प देख्नुभयो । उज्ज्वल थापाको देहावसान भइसकेको छ ।

विसं २०७९ को आमनिर्वाचनलाई निसानामा राखेर रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुभयो । उहाँ पनि पुराना पार्टी दोषको भारीले थिचिएका तथा आफूहरू दोषरहित र सबैभन्दा जान्ने बुझ्ने भएको घोषणा गर्दै विकल्पका रूपमा नै प्रस्तुत हुनुभएको थियो । उहाँहरूको वैकल्पिक विचार के थियो त्यो त नेपाली जनताले आजसम्म थाहा पाएका छैनन् । रविको आक्रामक तर अमर्यादित पत्रकारिताले अर्धशिक्षित र नकारात्मकताप्रिय जमातमा बनाएको लोकप्रियताको जगमा बनेको पार्टी २०७९ को निर्वाचनमा अकस्मात् संसद्को चौथो शक्ति बन्न पुग्यो । जनताले दिएको त्यो शक्ति रविले सदुपयोग गर्नुभयो कि दुरुपयोग, त्यो सबैसामु प्रस्ट भएकाले त्यसमा अहिले टिप्पणी गर्नुपर्ने आवश्यकता परेन ।

प्रजातान्त्रिक प्रणालीमा विकल्प सधैँ खुला हुन्छ । हमेसा विकल्प तयार भएर बस्नु नै प्रजातन्त्रको विशेषता हो । एकदलीय, निर्दलीय तथा अधिनायकवादी प्रणालीमा मात्र विकल्प निषेधित हुन्छ । विकल्प हरेक कुराको हुन्छ । व्यक्ति, शासनप्रणाली, नीति, संस्कार, शैली, राजनीतिक विचार, हिंसा, दुष्कर्म वा दुश्चरित्र प्रायः सबै विषयको विकल्प हुन्छ । अहिलेको विज्ञानले मानव बुद्धिको विकल्प खोजी गरेर प्रयोगमा ल्याइसक्यो यद्यपि त्यो मानवनिर्मित नै भए पनि । पृथ्वी, जल, तेज, वायु, आकाशबाहेक अरू कुराको विकल्प छैन वा हुँदैन भन्न सकिँदैन । जब राजनीतिको कुरा आउँछ, हेक्का राख्नु पर्छ कि कुन तत्वको विकल्पको आवश्यकता छ ? समयले वा राजनीतिले कस्तो विकल्पको माग गरेको छ ? त्यसलाई बुझ्नु र त्यस्तो विकल्प दिनु राजनीतिक दल र दलका नेताको ज्ञान, विवेक र समझदारीमा भर पर्छ । 

ताजा घटना छ, क्यानडामा १० वर्षसम्म लगातार प्रधानमन्त्रीको पदमा आसीन जस्टिन ट्रुडोले आफ्ना कारणले पार्टीको लोकप्रियता घटेका कारण पदावधि बाँकी छँदै प्रधानमन्त्री पद र पार्टीको नेताबाट राजीनामा गरी नयाँ नेता निर्वाचित गर्न बाटो खुला गरिदिए । फलस्वरूप मार्क कार्नी नयाँ प्रधानमन्त्री नियुक्त भए । अहिले सर्वेक्षणले देखाएका छन् लिबरल पार्टीले आफ्नो जनाधार पुनः प्राप्त गरेको छ । मेमा हुने निर्वाचनमा पुनः सत्तामा आउने बलियो सम्भावना देखिएको छ । समयले एक खालको विकल्प माग गरेको छ, त्यसको बदला अर्को वा विपरीत विकल्प प्रस्तुत भयो भने त्यो नेता र राजनीतिक दल असफल बन्छ ।

संसद्देखि सडकसम्म अहिले राजनीतिक अस्थिरताका कारण देशले प्रगति गर्न नसकेको, सुशासन कायम हुन नसकेको भाष्य बनाइएको छ । सर्वत्रको यो कोलाहलले आममानिस पनि शासनको अस्थिरताका कारण नै नेपालका सबै सम्भावना अवरुद्ध भएको भ्रममा छन् । नेपाल अत्यधिक स्थिरता, तलाउको पानी जमेको जस्तो स्थिरताले जड बनेको छ । नेपालमा छ महिनादेखि एक वर्षभित्र प्रधानमन्त्री परिवर्तन हुनैपर्ने चक्रीय स्थिरता छ । त्यसमा पनि तीन जना व्यक्तिको मात्र आलोपालोको चक्र छ । प्रधानमन्त्री र प्रतिपक्ष दलका नेता साटफेर हुने । यिनीहरूको काममा पनि स्थिरता छ । आफू हुनासाथ पूर्ववर्तीमाथि देशमा केही काम नभएको, सुशासन कायम हुन नसकेको दोष थोपर्ने । उनीहरूलाई आफ्ना वरिपरिका घुमन्ते पछुवालाई ‘आकर्षक’ भनाउँदा स्थानमा स्थापित गराउँदैमा पालो सिद्धिन्छ । अन्य काम त सोच्न पनि सक्दैनन् । सोचिहाले वा कसैले सम्झाइदियो भने कार्यान्वयन हुन नसक्ने तर लोकप्रिय लाग्ने भाषण सुनाउने र निर्देशन दिने गरिसकेपछि जिम्मेदारी सम्पन्न भएको महसुस गर्छन् । 

सुशासनको माला जप्ने कुशासनले देश थिलथिलो हुने नियमितता नै भएको छ । स्वार्थ बाझिने मन्त्रालय तथा नियामक निकायमा मन्त्री र अन्य पदाधिकारीको नियुक्ति विषयविज्ञ भनी परिभाषित हुन्छ । यति धेरै जडता र स्थिरता सर्वाधिकारवादी शासनमा बाहेक अन्यत्र पाउन दुर्लभ हुन्छ तर पनि भनिँदै छ राजनीतिक अस्थिरताले काम हुन पाएन ।

चौथो अङ्ग, अहिले सामाजिक सञ्जाल तथा अनलाइन चल्ने पीत पत्रकारिता र मिसन पत्रकारिताका कारण मूलधारको विश्वसनीय सञ्चार माध्यम नै अप्ठ्यारोमा परेको छ । भ्रामक समाचारको प्रचुरता र व्यापक प्रसारले सत्यतथ्य समाचारप्रति पनि संसय गर्ने प्रवृत्ति वृद्धि भएको छ । सामाजिक सञ्जालको प्रदूषणबाट प्रदूषित मतदाताले कहिलेकाहीँ गलत निर्णय गर्छन् भने पनि तिनको नियतमा शङ्का गरिनु हुँदैन । 

स्थिर र दुर्गन्धित पोखरीमा ढुङ्गाको प्रहारबाट तरङ्ग निकाली वायुमण्डल थप दुर्गन्धित बनाउने विकल्पको माग नेपाली जनताको हुन सक्दैन । न त फोहोरको थुप्रोमा आफ्नो दुर्गन्धित चरित्र र कृत्य लुकाउन गरिने बेइमानीलाई विकल्पको राजनीति भनेर स्वीकृति प्राप्त हुन सक्छ । निश्चित नै अहिले नेपाली जनताले विकल्प खोजेका छन् । त्यो पार्टी वा व्यक्तिको मात्र विकल्पको माग होइन न त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्पको माग हो । नेपाली जनताको उत्कट अभिलाषा कुसंस्कार र कुशासनयुक्त राजनीतिको विकल्पको माग हो । त्यस्तो राजनीति जसमा छलकपट नहोस्, भ्रष्टाचार नहोस्, सुशासन कायम होस् । सहिष्णुता होस्, प्रतिशोधको भावना नहोस् । पक्षधरता नहोस्, पारदर्शिता होस् । जनतालाई सुगा जस्ता कार्यकर्ता बनाउन चतु¥याइँ गर्ने नेतृत्व पैदा नगरोस्, असल र खराब छुट्याएर निर्णय गर्न सक्ने विवेकशील नागरिक बन्न प्रेरित गरोस् । लोकतन्त्र वाणीमा मात्र नहोस्, व्यवहार र कार्यपद्धतिमा रूपान्तरित होस् । नेपाली जनताले खोजेको विकल्पको चरित्र यो नै हो ।

राजनीति जनताबाट निर्मित र जनताबाटै सम्पादन गरिन्छ । वंश परम्परा अन्तर्गत विशिष्ट स्थान हासिल गरी जनताभन्दा भिन्न र शासकीय विशेषाधिकार, प्रश्न गर्न नमिल्ने दुई नम्बरी धन्दाको विशेषाधिकार, अनतिक्रम्य सम्पत्तिको विशेषाधिकार जस्ता विशिष्ट मानव आधुनिक, सभ्य र लोकतान्तिक प्रणालीले सिर्जना गर्दैन । सभ्य संसारमा कहीँकतै यस्तै परम्पराबाट आएको वंशलाई स्थान दिएको छ भने पनि ती जीवित सङ्ग्रहालय तथा सौन्दर्य साधन जस्ता भएर रहेका छन् । देश बचाउने र बिगार्ने अधिकार तिनले राख्दैनन् । 

शासन गर्ने तरिका र नीतिलाई राजनीति भनिन्छ । राजनीति मानिसका लागि मानिसले गर्दछन् । त्यसैले राजनीतिमा मानिसको छनोट अथवा नेता वा प्रतिनिधिको छनोट महत्वपूर्ण हुन्छ । मानिसको छनोट कठिन काम हो । कुनै मानिसको नियत वा भित्री उद्देश्य के छ त्यो तत्काल बुझ्न सामान्य मानिसले सक्दैनन् । राजनीतिको प्रयोगशालामा परीक्षित भएपछि मात्र सबैको जानकारीमा आउन सक्छ । शासन गर्न अनुपयुक्त वा असक्षम व्यक्ति पनि पाखण्डका कारण सत्ताको शिखरमा पुग्न सक्छन् । लोकतन्त्र क्रियाशील छ भने त्यस्ता व्यक्तिको शीघ्र पतन हुन्छ । कहिलेकाहीँ लोकतन्त्र पनि असहाय बन्न पुग्नुपर्ने अवस्था उत्पन्न हुँदो रहेछ । 

व्यक्तिको मात्र विकल्प खोजेर राजनीति सफा हुँदैन । कसैलाई देवत्वकरण गर्नु व्यक्तिलाई थप भ्रष्ट र अनैतिक बन्न हौसला दिनु हो । राजनीतिमा भक्तिमार्गले समाजलाई पतनतर्फ डो¥याउँछ । हाम्रो देशको अहिलेको समयको माग चारित्रिक सुधार हो । फोहोर जमेको पोखरीमा टाढै बसेर ढुङ्गा हान्ने मात्र नगरी भित्र पसेर फोहोर बाहिर फ्याँकी निर्मल जल बनाउनु हो । सहरको भिडलक्षित सामाजिक सञ्जालका सस्ता कथनले क्षणिक लोकप्रियता हासिल गर्नेतिर नलागेर रित्ता गाउँ र बाँझा खेतबारी कसरी हराभरा बनाउन सकिन्छ, आयातको निर्भरता कम गरी निर्यात वृद्धिबाट कसरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भनी योजना बनाउनु र कार्यान्वयन गर्नु हो । उत्तेजना बढाई बेवकुफ अराजक समाजको बदला विवेकशील जनता बनाउनु हो । यो परिणाम प्राप्त गर्ने गरी काम गर्न चाहने व्यक्ति तथा सङ्गठनमा धैर्य चाहिन्छ । उद्देश्यप्रति समर्पित हुनु पर्छ । हतार गर्नेको मति या त ज्ञानेन्द्र पथतर्फ जान्छ या ‘रछाने’ बन्न पुग्छन् ।