• २६ चैत २०८१, मङ्गलबार

पुनर्निर्माणलाई गति दिन निर्देशन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण र पुनस्र्थापना कार्यमा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणको कामलाई द्रुत गति प्रदान गर्न निर्देशन दिनुभएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सोमबार सम्पन्न १७ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले विपत्का समयमा उद्धार र राहतका लागि गृह मन्त्रालय र सुरक्षा निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिनुभएको हो ।

बैठकमा जाजरकोटसहितका जिल्लामा गएको भूकम्प तथा २०८१ को मनसुनजन्य विपत्पश्चात्को पुनर्निर्माण तथा पुनस्र्थापना योजना कार्यान्वयन अवस्थाको समीक्षा भएको छ । 

बैठकमा पुस २८ गतेको १६ औँ परिषद् बैठकबाट स्वीकृत नेपालका पश्चिमी क्षेत्रमा भएका भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपत्पश्चातको पुनर्निर्माण तथा पुनस्र्थापना योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराइएको थियो ।

योजना स्वीकृतिपछि गत माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनर्निर्माण कार्य थालनी भएको थियो । बैठकमा उक्त योजनामा छुट भएका संरचनाको पुनर्निर्माणका लागि प्राप्त प्रस्तावलाई सम्बन्धित मन्त्रालयबाट यथार्थ पुनरवलोकन गराई आवश्यकता र प्राथमिकताका आधारमा समावेश गर्ने निर्णय भएको छ ।

बैठकले वन डढेलो र सोसमेतका कारणले सिर्जित वायुप्रदूषणको गाम्भीर्यलाई ध्यानमा राखी वन डढेलो रोकथाम तथा नियन्त्रण गर्न गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ ।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाका लागि सडक तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत् वैकल्पिक ऊर्जा र सिँचाइ, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी सरसफाइ तथा स्वच्छता र पुरातात्त्विक संरचनालाई प्राथमिकताका क्षेत्रमा समावेश गरेको छ ।

१६ औँ बैठकले डोटी तथा जाजरकोट केन्द्रविन्दु भई भएको भूकम्पपश्चात्को क्षति आकलन, निजी आवास पुनर्निर्माण तथा प्रबलीकरण प्रक्रिया प्रारम्भ गर्ने पनि निर्णय गरेको थियो ।