हरिप्रसाद कोइराला
उर्लाबारी, असार ३ गते । लामो समयको प्रतिक्षापछि मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले प्रशासनिक भवन पाउने भएका छन् । दुबै पालिकाको प्रशासनिक भवन नयाँ स्थानमा बन्ने प्रक्रिया सुरु भएको हो ।
पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन वडा नंं १० को शिविर डाँडाका निर्माण सुरु भएको छ भने कानेपोखरी गाउँपालिका– ५ को भौंसावारीमा बनाउनका लागि सङ्घीय सरकारले स्रोत सुनिश्चित गरेको छ । हाल पथरीशनिश्चरेले वडा नंं १ को पथरी बजारबाट सेवा दिइरहेको छ भने कानेपोखरीको प्रशासनिक सेवा वडा नं.६ को रमाइलो बजारमा वडा नंं ५ को भौंसावारीस्थित साविकको वडा कार्यालयबाट सञ्चालन भइरहेको छ ।
राज्य पुनर्संरचनापछि पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन कहाँ बनाउने भन्ने विवाद भएको थियो । सुरुमा साविकका पथरी र शनिश्चरे गाविस समाहित गरेर पथरीशनिश्चरे नगरपालिका गठन भएको थियो । नयाँ संविधान बनेपछि निर्माण भएको राज्यपुर्नंसंरचना समितिले नगरमा हसन्दह गाविस पनि थपिदियो । पुनर्संरचना आयोगले शिविर डाँडामा प्रशासनिक भवन निर्माण गरी केन्द्र राख्ने निर्णय गरेको थियो । उक्त निर्णय पछि नगरपालिकाको वोर्ड कहिले मङ्गलवारे डाँडामा त कहिले शिविर डाँडामा टाँगिएको थियो । भौगोलिक रुपमा विवादित स्थानीयले बिच सहमति खोजिएपछि नगरको प्रशासनिक भवन वडा नं. १० को शिविर डाँडामा निर्माण सुरु भएको हो । हाल नगरपालिका साविकको पथरी गाविसको कार्यालय र भाडाको भवनमा संयुक्त रुपमा सञ्चालन भइरहेको छ ।
कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन साविकको वयरवन गाविस कार्यालयमा तोकिएको थियो । साँघुरो भवनबाट सञ्चालन भइरहेको पालिकाको प्रशासनिक भवन निर्माणका लागि वडा नंं ५ को भौसावारीमा १ विघा १ कट्ठा जग्गा खरिद गरिएको थियो । तर, उक्त जग्गा खरिद प्रक्रिया नै त्रुुटिपूर्ण भएको भन्दै अदालतमा मुद्दा परेपछि लामो समय भवन निर्माण प्रक्रिया नै अघि बढ्न सकेको थिएन । अदालतले सफाई दिएपछि भवन निर्माणको बाटो खुलेको पालिकाका अध्यक्ष राजमति इङ्नामले बताउनुभयो । सङ्घीय सहरी विकास मन्त्रालयले पाँच करोड ४० लाख रुपियाँ बजेट सुनिश्चित गरेपछि पालिकाको प्रशासनिक भवन निर्माण सुनिश्चित भएको अध्यक्ष इङ्नामले बताउनुभयो । सङ्घीय सरकारको अनुदान र स्थानीय स्रोत परिचालन गरेर यसै वर्ष प्रशासनिक भवन निर्माण प्रक्रिया सुरु हुने अध्यक्ष इङनामको भनाइ छ ।
उता पथरीशनिश्चरे नगरपालिकाको भवन निर्माण २०८३ को चैत मसान्तमा निर्माण सम्पन्न गर्ने गरी शिलान्यास गरिएको छ । १२ कट्ठा सरकारी जग्गाको भोगाधिकार ब्यवस्थापन गरी ११ करोड ८ लाख रुपियाँमा प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढेको हो । ५ तले भवन निर्माणका लागि नगरले २० करोड तीन लाख २३ हजार रुपियाँको डिपीआर तयार गरी टेण्डर आह्वान गरेको थियो ।
निर्माण कम्पनी अर्थो डेभलोपर्स डिजाइनर हेटौँडाले ३८ प्रतिशत कमीमा भवन बनाउने गरी टेण्डर प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताउनुभयो । राईका अनुसार चालु वर्षमा नगरले चार करोड ७० लाख रुपियाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष पनि रकम विनियोजन हुन्छ ।
हालसम्म सङ्घीय सरकारले पैसा नदिएको राईको भनाइ छ । हामीले स्थानीय पूर्वाधार विकास विभागसँग बजेट माग गरेका छौं । विभागले पैसा दिएन भने पनि नगरले ११ करोड रुपियाँ खर्च गर्न सक्छ भन्ने आसयले काम थालेको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो ।