• २६ चैत २०८१, मङ्गलबार

कोलेनिकाको नवनिर्मित भवन उद्‌घाटन

blog

नवनिर्मित भवनको उद्‌घाटन गर्दै प्रमुख अतिथि महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेय लगायत विशिष्ट अतिथिहरू । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 

फुङ्लिङ, चैत २५ गते । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ताप्लेजुङको नवनिर्मित भवनको उद्‌घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका साथ महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेयद्वारा नवनिर्मित भवनको उद्‌घाटन गरिएको हो । 

ताप्लेजुङको फुङलिङ नगरपालिका-३ मा दुई करोड २८ लाख ९१ हजार १८६ को लागतमा उक्त भवनको निर्माण सम्पन्न भएको कोलेनिका ताप्लेजुङका कोष नियन्त्रक यमनाथ गिरीले बताउनुभयो । उहाँका अनुसार कार्यालयको भवन निर्माणका लागि सुरुमा तीन करोड ६४ लाख ९७ हजार २०९ रुपियाँको लागत लाग्ने अनुमान गरिएको थियो । 

विसं २०७७ साल चैत १९ गते दुई करोड ४७ लाख ९ हजार १८६ रुपियाँमा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको झण्डै चार वर्षको अवधिमा मिति २०८१ साल असोज ३० गते भवनको निर्माण कार्य सम्पन्न भएको हो । 

महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्‌घाटन समारोहमा विशिष्ट अतिथिको रूपमा  जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावल, सशस्त्र प्रहरी बल १ नं  गुल्म हेड क्वाटर कञ्चनजङ्घाका सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जन लगायतको उपस्थिति रहेको थियो । 

यस्तै विभिन्न कार्यालयका प्रमुख सङ्घ संस्थाहरूको प्रतिनिधि साथै पत्रकारहरूको सहभागिता रहेको थियो । उद्‌घाटन कार्यक्रम कोलेनिका ताप्लेजुङका कोष नियन्त्रक यमनाथ गिरीको अध्यक्षतामा सम्पन्न भएको हो ।