कल्पना खरेल
नवलपरासी पश्चिम, चैत २५ गते । पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका वडा नम्बर १ मा नेपालमै पहिलो सुविधाविहीन बालबालिकाका लागि आवासीय भवनको निर्माणकार्य सुरु भएको छ । “कोहीँ नहुने र केहीँ पनि नहुँने” बालबालिकाको स्थानीय सरकारले अभिभावकत्व निर्वाह गर्ने लक्ष्यसहित विशेष अनुदानको योजनाअन्तर्गत सङ्घीय सरकारको करिब पाँच करोडको लागतमा उक्त भवनको निर्माणकार्य सुरु गरिएको हो ।
बहुवर्षीय योजनासहित परिवारमा कोहीँ पनि नभएका, आफन्तले जिम्मा नलिएका सुनवल नगरपालिका भित्रका अलपत्र टुहुरा बालबालिकादेखि अति विपन्न बालबालिकाहरुलाई निःशुल्क पढाउने, पालनपोषण गर्ने, हुर्काउनेदेखि जीवन उपयोगी सिप सिकाइ कक्षा १२ सम्म उतीर्ण गराई, गरेर खान्न सक्ने भएपछि समाजलाई हस्तान्तरण गरिने सुनवल नगरप्रमुख विमला अर्यालले जानकारी दिनुभयो ।
अन्य पालिका र जिल्लाको हकमा भने नगरपालिका अथवा लुम्बिनी माध्यमिक विद्यालयसगँ सम्झौता गरेर वार्षिक रुपमा लाग्ने शुल्क तिरेर भर्ना गरिने भएकाले सहकार्य गरेर अगाडि बढिने उहाँको भनाइ छ ।
घरमा जसरी एउटा बच्चा प्रेमसहित हुर्कन्छ त्यसरी नै सुविधा विहीन बालबालिकाका लागि आवासीय भवनमा लालनपालन गरिने छ । जसका लागि नेपालमै पहिलो व्यवस्थित किचन, एसिसहितको बेडरुम, मनोरन्जनका सामानहरु, बगैँचा, खेलमैदानदेखि सबै स्रोत र साधनले सम्पन्न चार कोठासहितको दुई तल्लाको भवन निर्माण गरिने छ ।
आर्थिक वर्ष २०८१/०८२ मा एक करोडको लागतमा निर्माणकार्य सुरु गरिएको यस भवनको ओमशान्ति निर्माण सेवा रामग्राम १२ ले ८३ लाखमा डेढ वर्ष भित्रै निर्माणकार्य सम्पन्न गर्ने सम्झौतासहित ठेक्का लिएको छ ।
नेपालकै पहिलो बालमैत्री नगरपालिको सुनवल नगरपालिकामा अनाथ बालबालिकाहरु कुलतमा फस्ने, चोर्ने, बाटोमा फोहोर उठाउने जस्ता गतिविधिमा संलग्न भएका नौ जना बालबालिकालाई केही वर्ष अघि रुपन्देहीको बालगृहमा बुझाएको स्मरण गर्र्दै नगरप्रमुख अर्यालले सोही दिनबाट यो अभियानको परिकल्पना गरिएको बताउनुभयो ।
लुम्बिनी माध्यामिक विद्यालयको करिब पाँच विगा जमिनमा बन्दै गरेको यस भवनको सम्पूर्ण स्वामित्व लुम्बिनी माध्यामिक विद्यालयअन्तर्गत रहेर कार्यक्रमको रुपमा सञ्चालन हुनेछ ।