• २७ चैत २०८१, बुधबार

अटो रिक्साले बनायो रोजगार

blog

दैलेख बजारमा अटोरिक्सा चलाउँदै युवा । तस्बिरः यामराज बिष्ट

यामराज बिष्ट
पञ्चकोसी (दैलेख), चैत २५ गते ।
अधिकांश वेरोजगार युवाहरुका लागि अटोरिक्सा स्वरोजगारीको प्रमुख माध्यम बन्दै गएको छ । जिल्लामा अटोरिक्सा भित्रिएपछि धेरै वेरोजगार युवाहरुले अटोरिक्सालाई रोजगारीको माध्यम बनाएका हुन् ।

अटोरिक्साबाट भने जस्तै आम्दानी भएपछि जिल्लामा युवाहरु अटोरिक्सातर्फ आकर्षित भएका छन् । वैदेशिक रोगजारीबाट फर्केका अधिकांश युवाहरु अहिले आफ्नै ठाउँमा अटो सञ्चालन गरेर स्वरोजगार बनेका हुन् ।

छ वर्ष काम गरेर यूएईबाट घर फर्केका नारायण नगरपालिका–९साडुका ३७ वर्षीय रामलाल विक अटोरिक्सा चलाएर मासिक ३० देखि ३५ हजार कमाउँदै आउनुभएको छ । उहाँले आफ्नो सबै खर्च कटाएर दैनिक एक हजारदेखि १५ सय रुपियाँ बचत हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “आफ्नै देशमा सानो भए पनि काम गरेर कमाउन अहिले अटोरिक्सामै रमाइरहेको छु ।”

यस्तै, नारायण नगरपालिका–२कुसाडाका ५२ वर्षीय चक्रबहादुर गौतम विदेशबाट घर फर्केपछि सात वर्ष यतादेखि निरन्तर अटोरिक्सा चलाउन सुरु गरेदेखि मनग्य आम्दानी भएको बताउनुभयो । अकार्को देशमा गएर दुःख गरेकोभन्दा स्वदेशमै अटोरिक्साबाट थोरै भए पनि आम्दानी गर्न सफल भएको उहाँको जनाउनुभयो ।

डुङ्गेश्वर गाउँपालिका–१चुप्राका राजेश बराल आठ वर्ष पहिले काम गर्न भारतमा जानुहुन्थ्यो । आठ वर्ष काम गरेर घर फर्किदा भने रित्तै फर्किनुपर्ने बाध्यता रहेको भन्दै उहाँले अहिले अटोरिक्सा चलाउँदै मासिक ४० देखि ४५ हजार रुपियाँसम्म आम्दानी गरेको सुनाउनुभयो । घरमै स्वरोजगार बनेपछि परिवारसँग बसेर रमाउन पाएको उहाँको भनाइ छ ।

दैलेखमा पछिल्लो समयमा धेरै जसो युवाहरु अटोरिक्सा चलाएर स्वरोजगार बनेका छन् । जिल्लामा एकिन तथ्याङ्क नभए पनि १५० भन्दा बढी युवाले पाँच लाखदेखि सात लाख रुपियाँको लागतमा अटोरिक्सा खरिद गरेर सञ्चालन गरी स्वोजरगार बनेका छन् ।