• २० असोज २०८१, आइतबार

जेठ २७ देखि विराटनगर–पोखरा उडान

blog

रङ्गेली समाचारदाता

विराटनगर, जेठ २२ गते । बुद्ध एयरले अर्काे सातादेखि विराटनगर–पोखरा उडान सुरु गर्ने भएको छ ।  पोखरा बेस बनाएर बुद्धले प्रदेश १ र गण्डकी प्रदेशमा अन्तरप्रादेशिक उडान जेठ २७ (जुन १०) गतेदेखि सुरु गर्ने भएको हो । 

बुद्ध एयर विराटनगरका स्टेसन म्यानेजर कौशल भण्डारीका अनुसार बुद्धको ७२ सिटे एटीआर जहाजले पोखरा–विराटनगर–पोखरा उडान गर्नेछ । विराटनगर–पोखराका लागि बुद्धले टिकट बिक्री खुला गरेको छ । विराटनगर–पोखराको भाडा छ हजार रुपियाँ तोकिएको छ । 

गण्डकी प्रदेश र प्रदेश १ को राजधानी विराटनगरबीच हुने यो उडानबाट पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन व्यवसायी भवेश श्रेष्ठले आन्तरिकसँगै भारतको विहार, बङ्गाल र सिक्किमका पर्यटकलाई विराटनगर ट्रान्जिट बनाएर पोखरा उडान गराउन सक्ने अवसर सिर्जना भएको बताउनुभयो ।  बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान स्वीकृति लिइसकेको छ । 

यसैगरी बुद्ध एयरले विराटनगर–भैरहवासमेत उडान गर्ने योजना बनाएको भए पनि अहिले नै तालिका बनिसकेको छैन । यात्रुको माग भए भैरहवा उडान भर्ने योजना रहेको भण्डारीले जानकारी दिनुभयो । विराटनगर विमानस्थलका निमित्त प्रमुख युवल बरालले यसअघि उडान गरिसकेको बुद्धले सेड्युलमा पुनः उडानका लागि प्रक्रियामा रहेको बताउनुभयो ।